दीपक राज जोशी

१७ वर्ष को लामो  अमेरिका बसाई पछि आशाका गुच्छा हरू बोकेर नेपाल फर्केको म मा वितृष्णा  हरू ले दिन प्रतिदिन धकेल्दै फेरि विदेशिन बाध्य नबनाएका भने होइनन। मानिसको जीवनमा थुप्रै अवसर र अप्ठेरा हरू आउँछन्  । म जुन देशमा बस्छु यहाँ अवसर आफ्नो बलबुतामा कमै आउने गर्छ तर अप्ठेरा हरू नचाहँदै नचाहँदै तपाईं लाई खोज्दै तपाईंका सामु आई पुग्छन।  मैले देखेको र भोगेको समाज को चित्रण गर्न गई रहेको छु। मलाई लाग्छ यो मेरो मात्र नभएर धरै जसो नेपाली को भोगाइ र बुझाइ हो ।हामीकहाँ पुलिस, न्यायालय राजनीतिज्ञ, खेलाडी, पत्रकार , सामाजिक कार्यकर्ता, डाक्टर, इन्जिनियर, मित्रता, सम्बन्ध, सबै देखाउटी बन्दैगएको छ। एकले अर्कालाई लुट्ने र धोका दिने धन्दा नै बसी सकेको छ। कहिलेकाँही लाग्छ कतै यो दुनिया नै एउटा ठूलो धोकाको संजाल त होइन? सामाजिक सञ्चालमा गरिने तल्लोस्तरको टिका टिप्पणी, माया प्रेम को नाटक गरेर बिग्रिएका परिवारहरुको बढ्दो आँकडा हेर्दा लाग्छ विश्वविद्यालयमा किन्न पाइने डिग्रीले यो समाज लाई कता लैजाँदै छ ? अरूको दुख:मा हाँस्नेहरु को भीड मा बसेर नियाल्दा लाग्छ बिस्तारै मानवता समाप्त हुँदै गैरहेको छ। अदालत न्याय दिनको लागि होइन अपराधीलाई बचाउनको लागि प्रयोग गरिन्छ। पुलिस द्वारा नै अपराधिक क्रियाकलापका प्रमाणहरु नष्ट पार्ने काम गरिन्छ। अनि लाग्छ रक्षकहरु कसरी भक्षक बन्दैछन भनेर।

गरिबी हटाउनको लागि भोट दिएर पठाएका हरुले नै तपाईंलाई अझ धेरै गरीब बनाउँछन्, संसारका सबै मानिस खराब त कसरी होलान र? सायद बहुमतको यो युगमा असल मान्छेहरू अल्पमतमा परे कि? सुकिलो कपडाको होडमा आफु लाई नाङ्गो बनाउनेहरुको भीडभाड छ यहाँ। शारीरिक अश्लिलता कपडाले छोप्छ तर अश्लिल सोच विचार लाई के ले छोप्ने ? सोच्ने बेला आएको छ। मेरो लेखाइलाई लिएर भ्रममा नपर्नुहोस् यो समाज लाई नंग्याउने मेरो कुनै इच्छा छैन किनकि यो समाज पहिला देखि नै नाङ्गो छ । जसलाई नंग्याएर म आफुलाई नीच देखाउन चाहन्न र सक्दिन पनि। तर चुपचाप बस्न पनि सकिँदैन रहेछ।किनकि म पनि यही समाजको एउटा हिस्सा हुँ। समाज बर्बादीको बाटोमा जाँदै गर्दा मलाई पनि पोल्छ यसले, सामाजिक संजालका स्टाटसका आधारमा मान्छेहरूको उर्लिएको एकतर्फी बहस सहितको कमेन्ट देख्दा त लाग्छ समाजमा न्यायाधीशहरु धेरै जन्मिसकेका छन्।

मान्छेहरू यस्ता भइसकेका छन् कि आफ्नै एकल इजलासमा सम्पूर्ण कुराहरूको फैसला गरिदिन्छन् आजकल।यस्तो लाग्छ सामाजिक संजाल भनेको सम्पूर्ण मान्छेहरूको समस्याको समाधान गर्ने इजालस हो।यसो हेर्दा लाग्दैछ देशमा न्यायिक पहुँच सम्पूर्ण जनतामा स्वतन्त्र तरिकाले दिइँदैछ र लाग्दैछ समाजमा सकारात्मक विवादको जरुरत नै छैन , सबै आफै अधिवक्ता छन्,आफै आफै न्यायाधिश, आफ्नै अदालतमा आफ्नै निर्णय सुनाई दिन्छन् र त्यही हेरेर मान्छेहरु सामाजिक संजालका स्टाटसको आधारमा विश्लेषण गरिदिन्छन् को सही अनि गलत भनेर।

राजनीति  राज्यको विकास र समृद्धिको बारेमा सोच्ने नीति  हो। नेपालमा विकासको राजनीति गर्नुपर्छ ।तर यहाँ राजनीति भनेको नेताको कुर्सी सम्हाल्ने र जनता  शोषण गर्ने व्यवसायका रूपमा परिणत भइरहेको छ ।निष्ठा र आदर्शको लागि थुप्रै पार्टी का थुप्रै नेता  हरू ले पार्टी त्याग गरे । आज नेपालका सबै राजनीतिक पार्टीमा नैतिक मूल्य र मान्यता हराएर निष्ठाको विचलन  भएको छ। राजनीति आज एउटा व्यापार भएको छ । चुनावी प्रचारप्रसारका बेला महत्वाकांक्षी सपना बाँडेर देश लुटी रहेका  छन् । हाम्रो सरकार भ्रष्ट छैन भ्रष्टाचारको लागि सरकार बनेको र चलेको छ। गभर्नमेन्ट कन्ट्रयाक्टर हो भने अपोजिसन ठेकेदार हुन्। अहिले को राजनैतिक संस्कारमा जो कोही भए पनि बाँडी चुँडी खाने परम्परा कहिले अन्त्य हुँदैन।

सबै हेर्दा लाग्छ निष्ठा र आदर्शको राजनीति नेपाली हरु भाग्यमा नै छैन। नेपाल का सबै  पार्टीमा निष्ठाको विचलन छ ।नैतिक मूल्य र मान्यता छैन। विद्यार्थी को राजनीति गर्ने ले विद्यार्थीको हकहितको काम गर्दैन ,  युवा को राजनीति गर्ने ले देशका युवाहरु को बारेमा सोच्दैनन् महिला को लागी राजनीति गर्ने ले महिलाको हकहितको लागि आवाज उठाउदैनन्। आखिर केका लागि यि संगठनहरु ? आफ्नो गुट बलियो बनाउनलाइ मात्रै यि संगठनलाई परिचालन गरिन्छ । नेपालका का पार्टी हरु  (कम्पनी) कार्यकर्ताहरू (उपभोक्ताहरू) र भोट (मूल्य) भएको छ ।भोट त्यस्तो मुद्रा हो जसलाई प्रयोग गरेर पार्टीहरु कार्यकर्ताहरू नेताहरू उत्पादन र किनबेच गरेर आफ्ना अपेक्षाहरू पूरा गर्ने सपना देख्छन तर कहिल्यै पार्टी कार्यकर्ताहरूको सपना साकार हुदैन।यो खेल निरन्तर चलीनै रहन्छ।

नेपाल यस्तो देश भएको छ जहाँ  मान्छे होइन पद बोल्छ । कुनै विषयको बारेमा   के भन्यो भन्दा पनि कसले भन्यो भन्ने महत्त्व  मानीञ्च ।पदमा बसे पछि जे बोले पनि हुन्छ , जसो गरे पनि हुन्छ । कसले के बोल्यो र के ग-यो त्यसको जवाबदेही कसैले लीन गर्दैन ।आखिर राजनीति मा लाग्न त्याग र बलिदान चाहिँदो रहेछ। फरक यत्ति हो त्यो त्याग र बलिदान को डेफिनेसन परिवर्तन भहेको रहेछ। जब जब हामी नेतृत्व को कुरा गर्छौँ , असल नेतृत्वको कमी गम्भीर समस्याको रूपमा देखा पर्छ ।

हामी यस्तो समाजमा बस्छौँ जहाँ राजनीतिज्ञ हरू किन बेच गर्नमा नै व्यस्त छन् । पैसाले किन्न सकिने सबैभन्दा उत्तम लोकतन्त्र नेपालमा छ भन्दा अत्युक्ति नह‍ोला।हाम्रो देशको लोकतन्त्रले अब बिस्तारै जनताको प्रतिनिधित्व गर्न छोडेको छ । नेपालका राजनीतिज्ञ हरू लाई सत्ता र राजनीति अब सेवा गर्ने माध्यम होइन यो केवल धन्दा बनेको छ जसको धन्दा फस्टाउन सके ठिकै छ,फस्टाउन सकेन भने लोकतान्त्रिक मान मर्यादा बचाउने कुनै लेखाजोखा नै राख्दैनन् महा महिमहरु। लोकतान्त्रिक मान मर्यादाको लाज राख्न नसके पनि कम्तीमा आफ्नो त लाज राख नेताहरू ।जनताले कुरी कुरी भनेर तिम्रा क्रियाकलापलाई इङ्गित गरिरहँदा पनि निस्फिक्रि मनमौजि गरिरहँदा अलिकति त लज्जा बोध गर।जनताको चुलोमा ग्यास छैन, धारामा पानी छैन। बिरामीले अस्पतालमा बेड पाउँदैन। स्कुलमा गतिलो पढाइ छैन। जनता सुरक्षित छैनन्।

राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्र सम्म आई पुग्दा विगत १० वर्षमा बलात्कार २५६ प्रतिशतले बढेको छ। आज हरेक दिन ४ वटा बलात्कार केस दर्ता हुन्छ । दर्ता नभएका केस हरू त अनगिन्ती छन्। बलात्कार बाहेक यौन उत्पीडित, यौन दुर्व्यवहार को त कुनै लेखा जोखा नै छैन। विगत ७ वर्षमा झन्डै ७००० बलात्कार केस दर्ता भए। यिनै केस दर्ता  भई रहँदा नेपालका सबै राजनैतिक दल हरू एक आपसमा मिलेर पालै पालो सरकार चलाइनै रहे , मानव अधिकारवादी हरू कुर्लिने रहे , महिला हकहितको लागि जुलुस निस्कन बन्द भएन, पाँच तारे होटेलमा समस्याको समाधान खोजी भई नै रह्यो तै पनि बलात्कार र महिला हिंसा भने घट्न सकेन ।

देशभक्तिको कुरा गर्ने हरू को भिड यहाँ  ठुलै छ , राष्ट्रिय स्वाभिमानको पक्षमा लड्नेहरू खोक्रो राष्ट्रवादी  भएका छन् ।खोक्रो राष्ट्रवादले तपाईँ लाई आफूले देश लागी केही नगरेपनी  गर्व गर्न र कहिल्यै नभेटेका र नचिनेका लाई व्यक्तिहरूलाई घृणा गर्न सिकाऊ छ ।  यो देशमा हामी एउटा नेताले गरिब र दलितको घरमा गएर भात खायो भने त्यो नेताको समाचार बन्छ र त्यो नेताको गुण गान गाउँछौ। खुसी तब हुन पर्छ जब त्यो गरिब र दलितले नेताले हरेक दिन खाए जस्तो खाना खान पाओस्, नेताको छोराले पढेको जस्तो स्कुलमा पढ्न पाओस्। ५ लाखको घडी हातमा लगाएर त्यही हातले ५० रुपियाँको चाउचाउ गरिब लाई दिएर गरिबी उन्मुलन  गर्ने हरु को भिडमा सबै भन्दा ठुलो व्यापार धन्दा राजनीति भएको छ भने, सबै भन्दा ठुला व्यापारी राजनीति कर्मी भएका छन् ।

मेरो देश जहाँ भविष्य बनाउनको लागी  ३५ दिन कुरेर पहिला पासपोर्ट बनाउनु पर्छ ।  तब मात्र मेरो भविष्यको ढोका देखिन्छ । हाम्रो  सामूहिक सोच नीच छ र यसरी गिरेको छ कि तेस्सको म   अनुमान नै लगाउन सक्दिन । रोग निको पार्न औषधी परिवर्तन , मान्छे  कालगतिले कम, रोगब्याधी र दुर्घटनामा बढी मर्छन् , हैजाले मान्छे मरी रहँदा पाँच तारे होटेल गरिबी निवारणको  बैठक बस्छ , समाज परिवर्तन गर्न धर्म परिवर्तन गरिन्छ , सम्बन्ध सुधार्न आफन्त नै परिवर्तन गर्नु कुनै  नौलो कुरा छैन। सपना बेच्ने मेरो देशमा सपना बेच्ने हरुको समृद्धिको बाटो गरिब र कमजोर लाई शोषण गर्नु नै भइ रहेको छ ।

भित्ता मा पोतिएका उम्मेदवार हरूको नाम , फोटो र उनीहरू ले गरेका प्रतिज्ञाहरू ले  किनिएको भोट ले आज सम्म पनि आम जनता लाई चोट भन्दा अरू केही पुगेको छैन ।शिक्षा को गुढ़स्तर   बढाउने , स्वास्थ्य सेवा र स्वास्थ्य प्रणाली को विकास गर्ने , आधारभूत आवश्यकता र सेवाहरू जनताको सामु पुरायुने , शान्ति सुरक्षा दिने, भ्रष्टाचार निंत्रण गर्ने  , गरिबी उन्मुलन गर्ने अगाडी का प्रतिज्ञाहरू कहिल्यै पुरा हुदैनन । यिनै एजेन्डामा फोहरी खेल खुल्दै सरकार चली नै रहन्छ ।राजनीतिगर्नको लागी झुटो कला कहिल्यै परिवर्तन हुँदैन , तर यसको विरुद्ध हाम्रो सहिष्णुता बिस्तारै बिस्तारै परिवर्तन मात्र   हुँदै गएको छ ।

यो समाजमा सही र गलत  होइन कमजोर र बलिया मात्र छन्। बलियाले जे गरे पनि सही हुन्छ  कमजोरलाई गरे गलत हुने परम्परा नै बसी सकेको छ ।अन्न उब्जाउने किसान आज भोको छ। घर बनाउने सिकर्मी र डकर्मीको आफू बस्ने घर छैन। कपडा सिलाउने हरू सँग आङ ढाक्न एकसरो कपडा छैन। तै पनि गाँस, बास, कपास तथा रोजगारी को नारा गुन्जिनै रहेको छ । हरेक दिन गरिबी उन्मुलनको नाउँमा गरिबकै उन्मुलन गरिँदै छ। जब तिनीहरूले  चुनाव जित्चन र सिंह दरबार मा पुग्छन्, तिनीहरूमा अहङ्कार हुन्छन् र तिनीहरूले गरेका प्रतिबद्धताहरू बिर्संचन तै पनि हाम्रो समाजले हरेक पटक राजनीतिज्ञहरूको झुटा प्रतिज्ञाहरूमा विश्वास गर्छन् । राजनीतिमा झुट: शक्तिको चालहरूको आधारभूत उपकरण हुन पुगेको छ ।नैतिकता, स्थिरता, विकासको बारेमा गफ भन्दा पनी सरकार परिवर्तन, प्रजातन्त्र , गणतन्त्र , अब प्रधानमन्त्री/ राष्ट्रपति को होला आदी इत्यादि बारे गफ सुन्दा सुन्दा  यो देश का जनताको कान पाकी सकेको छ ।

हामीले खाने खाना विषादी युक्त छ। दूध पेस्टराइज्ड, सास फेर्न हावा प्रदूषित छ, पिउने पानी प्रदूषित छ । बाटो हरू  घाम लागे धुलो, पानी परे हिलो छ ।आमाको कोख रित्तिइरहेको छ, छोरी/बुहारीको सिन्दूर पुछिएकै छ, जेठो छोरा मुग्लान पसेकै छ। छोराको बिहेमा आँगनमा धूलो उडाउँदै रतौली खेलुँला भन्ने आमा छोराको लास हेरेर कुनामा भक्कानो छोडी रोइनै रहेकी छन्। कान्छो छोराको बिहे गर्ने रहर पुरा नहुँदै बुढा बा छोराको मलामी गएकै छन् । तै पनि विभिन्न बहानामा जनयुद्धका सहिदहरुकाे सपना पूरा गर्नेछाैं भन्ने हरूले जिउन चाहने हरू लाई हरेक दिन शहीद बनाईनैरहेका छन्।

झुटो भाषण गरेर ‘खराब शासन गर्दै राशन कुमल्याउने भ्रमजीवीहरूको माझमा आफ्नै देशमा भए पनि  धेरै थोरै काम गरेर आर्जन गरेको पैसाले माम खाने श्रमजीवीको अस्तित्व बिस्तारै हराउँदै गएको छ ।सपनाका लागि सम्झौता  गर्नु पर्ने मा आफ्नै सपनासँग सम्झौता गरेर हार खाएका हरू घडी बेचेर समय सोध्दै छन् । किताब बेचेर शिक्षा लिने कोसिस गर्दै छन् । गरूँन  पनि के , सुन्दर सपना देखाएर सपना नै बेच्नेहरूको जमातमा यहाँ का मानिसले जीवन नै बदलुँन की जीवनलाई हेर्ने दृष्टिकोणलाई बदलूँन ? अब हामी संग दुइ वटा विकल्प छ , जो भइ रहेको छ त्यो हुन दिनु होस् र चुप चाप हेरेर /सहेर बस्नुहोस वा चित्त बुघ्दैन भने त्यस लाई बदलन्नको लागि आफ्नो ठाउँ बाट जिम्मेबारी लिनुहोस् र फेरि एकजुट भएर राजनीतिक, आर्थिक, सामाजिक , सांस्कृतिक एउटा नौलो  क्रान्ति को लागी जुट्नुहोस्। (लेखक आईटी विज्ञ हुन्) 

साभार : kathmandupress.comF