दीपकराज जोशी लामो समय अमेरिका बसेर नेपाल फर्केका प्राज्ञ हुनुहुन्छ । काठमाडौँको सुकेधारास्थिति न्यू मिलेनियम कलेजका म्यानेजिङ डाईरेक्टर जोशी बेला बेलामा शिक्षा तथा राजनीति लगायतका विषयमाथि कलम पनि चलाउने गर्नुहुन्छ ।

यसबाहेक उहाँ वातावरण संरक्षण, वन्यजन्तु संरक्षण, भेगन लगायतका अभियानमा पनि आबध्द हुनुहुन्छ। नेपाली समाजको समग्र विषयमा उहाँको आफ्नै खाले विश्लेषण र चिन्तन रहने गरेको पाईन्छ ।

नेपाली भाषा र पहिचानको सम्बन्ध, समस्या र समाधानको सम्बन्धमा हामीले उहाँसँग कुराकानी गरेका थियौँ । प्रस्तुत छ, उहाँसँग गरेको कुराकानीको सम्पादित अंश :

भाषा र पहिचानको अन्तरसम्बन्ध कस्तो छ ?

भाषा सञ्चारको माध्यम हो । यो जसरी पनि गर्न सकिन्छ। ई–मेल पनि भाषा हो । सी प्लस प्लस, जाभा, पाईथन पनि भाषा हो ।

अहिले केही मानिसहरू अंग्रेजी भाषालाई घृणा गर्छन् तर यो राम्रो होईन । भाषा जति धेरै जान्यो, त्यति राम्रो हो ।

तर, पहिचानले चाहिँ तपाईँको आस्था, महत्व र त्यसको संस्कृति मुल्यमान्यतालाई बोकेको हुनुपर्छ ।

तपाईँले सी प्लस प्लस प्रयोग गर्दा त्यसमा आस्था छैन, संस्कृति र मुल्यमान्यता छैनन् ।

अंग्रेजी भाषामा पनि त्यो हुनसक्छ ।

अंग्रेजीमा यु शब्द प्रयोग गरिन्छ ।

बुवालाई पनि यु भनेर सम्बोधन गरिन्छ, आमालाई पनि । साथीलाई पनि यु भनेर सम्बोधन गरिन्छ र भाइलाई पनि । हाम्रो जस्तो उमेर अनुसारको आदरका लागि तँ, तिमी, तपाईँ र हजुर जस्ता सम्मानार्थक शब्द त्यस भाषामा छैनन् ।

यस हिसाबले हेर्दा हाम्रो आफ्नो भाषाको महत्व, संस्कृति र मुल्यमान्यता अंग्रेजी भाषाले बोक्न सक्दैन । यो पहिचान हो ।

तर, मेरो आफ्नै नेपाली भाषा कमजोर छ । यो मेरो गलती होईन किनभने १७/१८ वर्ष म अमेरिका बसेँ । मलाई अंग्रेजी भाषा सजिलो लाग्छ ।

सजिलो लागेको कारण म अंग्रेजीमा लेख्छु । अंग्रेजी सबैभन्दा सजिलो भाषा हो । संस्कृतको कुरा सोध्नुभयो भने मलाई एकदेखि दशसम्म गन्न आउँदैन ।

किन यस्तो भयो ?

मलाई कसैले पनि पढाएन । खास कुरा यो हो ।

अहिले बाहिरका विश्वविद्यालयले संस्कृत पढाईरहेका छन् । अमेरिकामा युनिभर्सिटी अफ क्यालिफोर्नियामा संस्कृत भाषा पढाईरहेका छन् । जर्मनी त संस्कृत भाषाको केन्द्र नै बन्ने हिसाबले अगाडि बढेको छ ।

संस्कृत भाषा एकदमै जटिल छ, उच्चारणको सन्दर्भमा पनि । यो भाषाका शब्द उच्चारण गर्दा तपाईँको फेसियल एक्सप्रेसनमा आउने परिवर्तनले तपाईँको स्वास्थ्यमा पनि राम्रो प्रभाव पारिरहेको हुन्छ । यो प्रमाणित भईसकेको छ ।

नेपाली भाषाको स्थिति कस्तो छ, अहिले ?

०६८ को जनगणना अनुसार नेपालमा ४४.६४ प्रतिशतले शुध्द नेपाली भाषा बोल्दा रहेछन् भने अर्काे ३३ प्रतिशतले नेपालीलाई दोस्रो भाषाको रूपमा प्रयोग गर्दा रहेछन् ।

भनेपछि, लगभग ७७ प्रतिशतले नेपाली भाषा बोल्दा रहेछन् ।

नेपाली मात्रै नभएर अरू १२३ भाषालाई पनि प्राथमिकतामा राख्नुपर्छ । यिनीहरू पनि नेपाली भाषी नै हुन् । यी पनि हाम्रै भाषा हुन् ।

र, विद्यार्थी पढेको कुरा बुझेर जुनसुकै भाषामा पनि उल्था गर्नसक्ने हुनुपर्छ ।

मैले पढाइ राखेको विद्यार्थी अंग्रेजीमा पढ्छन् । तर, एक अनुच्छेद लेख्नुप¥यो भने न नेपालीमा लेख्न सक्छन् न अंग्रेजीमा लेख्न सक्छन् ।
उनीहरूको ज्ञानलाई नेपाली वा अंग्रेजी भाषाले बढाउन सकिराखेको छैन ।

तर, कुनै पनि विषयको म नेपालीमा जति राम्रोसँग उदाहरण दिएर पढाउन सक्छु, अंग्रेजीमा त्यति राम्रोसँग उदाहरण दिन सकिँदैन ।

नेपालमा किण्डरगार्डेनहरू ट्विंकल ट्विंकल लिटिल स्टार मै दौडीरहेका छन् । किन हो, थाहा छैन । हाम्रै भाषामा पनि बालगीत, कविता, लोकगीत, लोकलय छन् । यी कुरा किन नसिकाउने ?

म उदाहरण दिन्छु–हाम्रो यहाँका किण्डरगार्डेनहरूमा गएर सोध्नुस्–गणेशको शरीरमा हात्तीको टाउको किन जोडियो ? म ग्यारेण्टी दिएर भन्छु–१ प्रतिशतले पनि जवाफ दिन सक्दैनन् तर अमेरिकामा यो कुरा पढाईन्छ, कार्टुन–बुक बनाएर ।

यसको समाधान के हुनसक्छ ?

चेतनामुलक र माटो सुहाउँदो शिक्षा । आफ्नो पहिचानसँगको परिचय ।

हामी जैविक र भौगोलिक विविधतामा गर्व गर्नुपर्छ भन्छौँ तर यो नष्ट हुन्छ किनभने हाम्रो नियन्त्रणमा छैन ।

मानिलिउँ, भोली फेवाताल सुक्यो भने के गर्ने ? गैँडा लोप भयो भने के गर्ने ? भईञ्जेल गर्व गर्ने हो तर त्यसलाई नै हाम्रो पहिचानको दिगो औजार बनाउन सकिँदैन ।

तर, हाम्रो संस्कृति जुन छ, त्यो चाहिँ तुरून्तै नष्ट हुँदैन । यसलाई पछ्याउने हो भने यो पुस्तौँसम्म जान्छ ।

संस्कृति ईन्टरनल फोर्स हो । यो हाम्रो नियन्त्रणमा छ त्यसकारण पहिचानको सवालमा यसमा फोकस गर्नु आवश्यक छ ।

भाषा संरक्षणका लागि के गर्नुपर्छ ?

हाम्रो समाजमा अहिलेसम्म कसैले पनि भाषा हाम्रो पहिचान हो भनेर मुद्दा नै उठाएन । हामीले अरू अरू चिजमा पहिचान खोज्यौँ ।

जातिमा पहिचान खोज्यौँ । नेपाली हुँ भन्ने पहिचान तर नेपाली बन्नको लागि नेपाली भाषा नै रहेन भने कसरी पहिचान ?

नेपाली भाषालाई बरू भुटानी शरणार्थीले संरक्षण गरेका छन् । अहिले पनि उनीहरू झर्राे नेपाली भाषा बोल्छन् । त्यसैगरी, भारतको असम, दार्जिलिङ र सिक्किम लगायतका ठाउँमा पनि नेपाली भाषा सुरक्षित छ ।

अहिले यदि भाषा संरक्षणमा नजाग्ने हो भने नेपाली भाषा रोमनमा सुरू हुन्छ । नेपाली फन्ट र युनिकोडको कारण मात्रै अहिले अलि अलि जीवित छ नेपाली भाषा तर यसमा पनि व्याकरणको शुध्दता त हराईसक्यो ।

हुन त म आरक्षणको समर्थक होईन तर भाषाको संरक्षणका लागि सरकारले आरक्षण दिनुपर्छ । जस्तो, कुनै परिवारको तीन पुस्ताले आफ्नो मातृभाषा बोल्छ भने सरकारले त्यसलाई केही सुविधाहरू दिनुपर्छ ।

अहिले एउटै परिवारको तीन पुस्ताले आफ्नै भाषा बोलेको भेट्नै गाह्रो छ ।

नेपाली भाषा जोगाउन पनि मातृभाषाहरूको संरक्षण आवश्यक छ । सरकारले मातृभाषा जोगाउन कुनै योजना ल्याएको वा काम गरेको देखिँदैन ।

मातृभाषाहरूको संरक्षण नगर्ने तर नेपालीकरण गर्ने अवधारणा जुन छ, यो गलत छ ।

संसारमा नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँका मान्छेले चारवटासम्म भाषा बोल्न सक्छन् ।

एउटा आफ्नै मातृभाषा । सार्वजनिक ठाउँमा नेपाली भाषा । हिन्दी फिलिम र टेलिसिरियल हेर्ने भएको कारण हिन्दी भाषा र अंग्रेजी भाषामा पढाई गर्ने भएकोले अंग्रेजी भाषा ।