हुन त सामाजिक सञ्जालको चरम उपयोग या भनौं दुरूपयोग भइरहेको वर्तमान समयमा कुनै पनि कुरालाई लिएर बजार तात्नु नयाँ विषय होइन । र, पनि कतिपय कुरा कुन समयमा बोल्ने र कुन विषयलाई लिएर बहस गर्ने भन्ने सम्बन्धमा सामान्य चेतना हरकोहीमा हुनुपर्छ । त्यसमा पनि राष्ट्रिय राजनीतिमा हुने हरकोही यो मामलामा चेतनशील हुनु जरुरी छ ।
अभिव्यक्ति स्वतन्त्रताको नाममा कहाँ के बोल्ने ? मानवीय संवेदनालाई त्यसले कस्तो असर पार्छ भन्नेजस्ता निकै नै सामान्य विषयसँग पनि जानकार नभएका आलाकाँचा (उमेर मात्र नभएर व्यावहारिक पाटोमा)हरूसँग जनताले कस्तो अपेक्षा राख्न सक्छन् ?
सामाजिक सञ्जालको कुनै पनि पृष्ठभूमिमा प्रवेश गर्नुहोस्, त्यहाँ राजनीतिक व्यक्तित्वहरूको बारेमा बहस, छलफल, प्रशंसा, आलोचना सजिलै भेटिन्छन् ।
द्रुत गतिमा विकास गर्न नसक्नु, जनताका भावनालाई बेवास्ता गर्नुजस्ता समस्याबाट जनतालाई जतिसुकै निराश पारे पनि जनताले पचाउँदै आएका छन् । तर, यस्तो तल्लो स्तरको विचार, अभिव्यक्ति र आचरणले जनतालाई त्रसित बनाउने काम मात्रै नगरेर उदासीन पनि बनाउने काम गर्छ । वास्तवमा भन्ने हो भने भावनात्मक बुद्धिको कमीले मानिसहरूलाई अनुपयुक्त व्यवहारमा संलग्न हुन प्रेरित गर्छ । यो ठूलो समस्या हो ।
औसत नेपाली राजनीतिज्ञ भावनात्मक रूपमा निरक्षर छन् । उनीहरू आत्मकेन्द्रित छन्, जसले अज्ञानतालाई प्रतिविम्बित गर्दछ । उनीहरूले जनभावना बुझ्न र जनताप्रति सहानुभूतिको अनुभूति दिन सकेका छैनन् । उनीहरू वास्तविकताबाट धेरै टाढा छन् । जनताको दुःख, पीडा उनीहरूका लागि पराई समान छ, जसका कारण उनीहरू राजनीतिज्ञ कम र विपक्षी दल ज्यादा भएका छन् ।
नेपाली राजनीतिमा राजनीतिक चेतना र परिपक्वताको कमी छ । चाहे त्यो राजनीति गर्नेमा होस् या जनतामा नै किन नहोस् । विशेषगरी सामाजिक सञ्जालमा उफ्रने, जनताको हितलाई सम्बोधन नगर्ने, संस्कृति र संस्कारको वास्ता नगर्नेहरूलाई नै अझै पनि जनताले पत्याइरहनु भनेको यसको गतिलो उदाहरण हो । युवा राजनीतिज्ञहरू पाको उमेरको नभएका कारणले अपरिपक्व व्यवहार गरेका हुन् जस्तो टिप्पणी आउनु भनेको सबैभन्दा लाजको विषय हो, किनभने परिपक्वता उमेर होइन । यो त व्यावहारिक पाटो हो, जुन कुरा राजनीतिक यात्रा तय गर्ने समयमा नै विचार गर्नुपर्छ ।
स्वदेश वा विदेशबाट डिग्री हासिल गरे पनि नेपाली राजनीतिज्ञ भावनात्मक रूपमा धेरै नै अशिक्षित छन् । उनीहरूको औपचारिक शिक्षाको तालमेल संस्कार, संस्कृति र भावनासँग छैन । सोही दूरीले उनीहरू अपरिपक्वताको दासी भएका छन् । कुनै नेता विश्लेषणात्मक टिप्पणी गर्न सक्ने हुन सक्छ । राजनीतिसँग जानकार हुन सक्छ, तर जनतासँग भावनात्मक रूपमा जोडिएन भने जनताले लामो समयसम्म सोही नेतालाई पत्याउँदैनन् । चुनावी अभियान राजनीतिज्ञको सामाजिक कौशलतामा केन्द्रित हुन्छ । राजनीति गर्ने नेताले जनतालाई सबैभन्दा पहिले अनुभूति गराउनुपर्ने विषय भनेको सामाजिक शान्ति हो ।
जनताले जब कुनै व्यक्तिको राजनीतिक छवि, उनीहरूका मूल्यमान्यता, सिद्धान्त र प्रतिक्रियाहरू अवलोकन गर्छन्, तब मात्र उसलाई एक प्रामाणिक नेताको जस्तो व्यवहार गर्छन् ।
गैरजिम्मेवार, रूपान्तरण वा सामाजिक परिवर्तनको क्षमता नभएको, अर्काको विचारधारामा आश्रित नेतालाई जनताले रुचाउँदैनन् । तर, हाम्रो विडम्बना हामी माझ यस्ता राजनीतिज्ञहरू आज पनि थुप्रै छन् ।
न्यूरोपोलिटिक्स एक विज्ञान हो जसले मष्तिष्क र राजनीतिबीचको अन्तरक्रियाको अनुसन्धान गर्दछ । न्यूरोपोलिटिक्सले हामीलाई राजनीतिक नेतृत्व विकास गर्न राजनीतिमा कसरी भावनात्मक बुद्धिमत्ता लागू गर्न सकिन्छ भन्ने सल्लाह दिन्छ । नेपाली राजनीतिमा अहंकारको दबदबा, आत्मविश्वासको कमी, अव्यवस्थित कार्यशैली, नकारात्मक विचार हावीजस्ता अवगुण भएका र आफ्नै हठको दास बनेका नेताहरू थुप्रै छन्, जसले यस्ता समस्या निम्त्याउने गर्छ ।
भावनात्मक बुद्धि भनेको आफ्नै भावनाहरू बुझ्न सक्ने र नियन्त्रण गर्ने क्षमता हो । आफ्नो अभिव्यक्तिले जनभावनाहरूलाई व्याख्या र व्यवस्थापन गर्ने क्षमता हो । उच्चस्तरको भावनात्मक बौद्धिकता भएकाहरूलाई तिनीहरूको भावना र अरूको भावनाबीचको अन्तर राम्ररी थाहा हुन्छ । आफ्नो प्रतिक्रियाले जनभावनामा कस्तो चोट पुग्छ, त्यसले कसरी असर गर्न सक्छ भन्नेबारेमा पनि सचेत हुन्छन् ।
आवेगले हामीलाई आफूप्रति कम ध्यान दिन र अर्को व्यक्तिले के भन्छ त्यो सुन्न सक्ने क्षमतालाई सीमित गर्छ । यसमा हाम्रो शिक्षा प्रणाली पनि दोषी छ । हाम्रो शिक्षा प्रणालीमा संज्ञानात्मक र ज्ञान प्राप्तिमा केन्द्रित शिक्षाबाहेक भावनात्मक क्षमता सिकाउनका लागि कुनै ठाउँको विकास गरिएको छैन । हामीले भावनात्मक सीपहरू विकास गर्न आवश्यक छ । जीवनका लागि आधारभूत सीपहरू सह–अस्तित्व र लोककल्याण निर्माणका लागि हुनुपर्छ ।
समग्र नेता मात्र नभएर सम्पूर्ण नेपाली जनतासँग पनि नै भावनात्मक र आध्यात्मिक व्यवस्थापनमा धेरै नै कमी-कमजोरी छन् । राजनीतिक संकटले सामूहिक निर्णय गर्दा परिपक्वताको अभाव देखाउँछ । यसले आत्मसम्मान र पहिचानको कमीलाई देखाउँछ, किनभने निकै नै महत्त्वपूर्ण मुद्दाहरूमा हाम्रो ध्यान पुगेको नै हुँदैन । जुन कुरामा नपुगे पनि हुन्छ, त्यसमा भने हामी टाउकोले टेकेर लागि पर्छौं ।
हामीभित्र आउने प्रत्येक भावनाले फरक प्रकारको प्रतिक्रियाको पूर्वाधार निर्माण गर्दछ । रिसले बलियो कदम चाल्न आवश्यक ऊर्जा उत्पन्न गर्दछ । डरले तत्काल खतरा पहिचान गर्ने र सबैभन्दा उपयुक्त प्रतिक्रियाको मूल्याङ्कन गर्छ । खुशी र उत्साहले शरीरलाई विचलित भावनाहरूबाट पुन: प्राप्ति गराउँछ । प्रेमले प्यारासिम्पेथेटिक स्नायु प्रणालीलाई नियन्त्रण गर्छ । तसर्थ: हाम्रा निर्णय तथा कार्यहरू हाम्रा विचार र भावनामा निर्भर हुन्छन् ।
हामी सबैसँग तर्कसंगत दिमाग र भावनात्मक दिमाग हुन्छ । जब तर्कसंगत दिमाग र भावनात्मक दिमागबीच अन्तरक्रिया हुँदैन तब सन्तुलन बिग्रन्छ । त्यो बेला भावनात्मक दिमाग तर्कसंगत दिमागभन्दा हावी हुन्छ । भावविहीन बनाइदिन्छ ।
भावविहीन जीवन भनेको जीवनको परिमाणबाट काटिएको उजाड भूमि हो । आवेग प्रेरित अभिव्यक्ति एउटा रोग हो । आत्म-नियन्त्रण भनेको विभिन्न उतारचढावहरूको सामना गर्ने क्षमता हो । र, आफूलाई जोशको दासत्वबाट मुक्त गर्ने क्षमता पनि हो, जुन राजनीतिज्ञहरूमा आवश्यक छ । एक आधारभूत जीवनकौशल भनेको आफूलाई नियन्त्रण गर्ने र आफूलाई शान्त पार्ने कला हो, जसले यो कला जान्दैन उसले सामाजिक सञ्जालमा मीठा कुरा पस्केर जनतालाई उल्लु बनाउनुको अर्थ छैन/रहँदैन ।
प्रत्येक व्यक्ति आईक्यु र भावनात्मक बुद्धिको संयोजनको परिणाम हो । मनोवैज्ञानिकहरू भावनात्मक कौशलता राजनैतिक अभ्यासको महत्त्वपूर्ण अंग हो भन्ने कुरामा विश्वास गर्छन्, जुन कुराको राजनीतिमा पनि महत्त्वपूर्ण स्थान हुन्छ । तर, सोही कुराको खडेरी नेपाली राजनीतिमा छ । लाग्छ अरू थुप्रै वर्ष रहन्छ ।
नेपाली राजनीतिज्ञहरू तीन समूहमा विभाजित छन्:
पहिलो समूह– भावनात्मक रूपमा अयोग्य र अरूको भावनाको कदर गर्न असक्षम छन्, जसमा चेतनशीलताको ‘च’ पनि हुँदैन ।
दोस्रो समूह– गैरजिम्मेवार छन् । जनभावना बुझ्न र त्यसको कदर गर्न सक्षम छन्, तर तिनीहरू यसलाई खास महत्त्व दिँदैनन् ।
तेस्रो समूह– स्वार्थी र दुष्ट छन् । आफूजस्तै समूहको भावना बुझ्छन् र कदर पनि गर्छन् । साथै ती भावनालाई पनि स्वार्थको पक्षमा प्रयोग गर्छन् ।
प्रत्येक चुनावमा जनताले दिएको मतसँग खेलबाड गर्ने काम निरन्तर चलिरहेको छ । थाहा छैन, अरू कति दिन ? कति युग ?
प्रत्येक भोटको पछाडि एउटा भावना, विश्वास, भविष्य र नेताप्रतिको स्नेह लुकेको हुन्छ । हाम्रो समाजमा धेरैजसो राजनीतिज्ञहरूले भावनात्मक (मान, भावना र संवेदना) को क्षेत्र त्यागेर नागरिक धारणाको ज्ञानलाई बेवास्ता गर्दै आइरहेका छन् । थोरैले त्यसको ख्याल राख्दै सन्देश र अभिव्यक्तिको राम्रो प्रयोग पनि गरिरहेका छन् ।
उच्च भावनात्मक बुद्धि भएका राजनीतिज्ञहरू सामाजिकरूपमा सन्तुलित, मिलनसार र खुशी हुन्छन् । उनीहरू जनताप्रति उत्तरदायी हुनुका साथै वचनप्रति प्रतिबद्ध हुन्छन् । देशको समृद्धि तब हुन्छ, जब म परिवर्तन हुन्छ, हामी परिवर्तन हुन्छौं र हाम्रो समाज परिवर्तन हुन्छ ।
तपाईंले राजनीति गर्नु भएको मूल कारण तपाईं समाज परिवर्तन भएको देख्न चाहनुहुन्छ भन्ने हो । त्यो परिवर्तनको कारक बन्न चाहनुहुन्छ भन्ने पनि हो । यदि तपाईं संसार बदल्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफैंलाई बदल्नुहोस् । म समाज बदल्न चाहन्छु भन्नु क्रान्ति होइन । क्रान्ति त म आफैं पहिला बदलिन चाहन्छु भन्नु हो ।
अन्त्यमा, तनावबाट जोगिनुहोस् । तपाईंको भन्दा फरक विचारहरूको सम्मान गर्नुहोस् । विनम्रतापूर्वक सभ्य भाषामा कुराकानी गर्नुहोस् । धेरै चर्को बोल्नेहरूबाट टाढा रहनुहोस् । केही बोल्दा, केही गर्दा आफूलाई त्यो ठाउँमा पहिला राखेर मात्र बोल्नुहोस् र काम गर्नुहोस् । राजनीतिमा ५ वर्षको एकचोटि चुनाव आउँछ । कोही न कोही विजयी हुन्छन्, कोही न कोही पराजयी हुन्छन् । तर याद गर्नुहोस्, जीवनको चुनावमा, सबैभन्दा महत्त्वपूर्ण उम्मेदवार तपाईं हुनुहुन्छ ।
यस्तो कर्म गर्नुहोस् कि सदैव विजयी तपाईं नै हुनुहुनेछ । सभ्य बन्ने प्रयास गर्नुहोस्, र सभ्यताको इतिहास रच्नुहोस् । विचारको राजनीतिमा लाग्दा यो जरुरी छैन कि विपक्षी पार्टीको आलोचना नै गर्नुपर्छ । खुट्टा तान्ने राजनीतिबाट माथि उठेर हातेमालो गर्दै देश जोगाउने बेला आएको छ । आउनुहोस्, हातेमालो गरौं । खुच्चिङ मच्चाउने बचपना त्यागेर परिपक्व बन्नुहोस्, तब मात्रै देश बन्नेछ ।
Leave A Comment