दीपकराज जोशी

भनिन्छ- दिन सकिएको छैन भने काल पनि फर्किएर जान्छ । हो, त्यस्तै भएको हो गोविन्दराज जोशी र खुमबहादुर खड्काको हकमा ।

गिरिजाप्रसाद कोइराला सत्तामा हुँदा गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या प्रयास भएको थियो, जुन प्रयत्न सफल हुन सकेन । यो सुन्दा मात्रै पनि तपाईंको आङ जिरिङ्ग हुन सक्छ । तर, यो सत्य हो । हुन त राजनीतिमा स्थायी शत्रुता र मित्रता भन्ने कुरा हुँदैन भनिन्छ, तर कुनै समय कोइराला निकट मानिने गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या गर्ने षड्यन्त्रमा कोइराला परिवार आफैं सक्रिय हुन्छ भनेर कसले सोच्न सक्थ्यो र ? यस्तै नसोचेको र भरोसा गरेकाबाटै प्रहार हुनुले नै सही मानेमा राजनीतिलाई फोहोरी खेल बनाएको हो । र, यो भाष्य निर्माण भएको हो ।

जनताका माझ अत्यन्तै लोकप्रिय र सही मानेमा काङ्ग्रेसलाई अगाडि बढाएका बीपी कोइरालाबाट नेपाली काङ्ग्रेसको सदस्यता लिएका गोविन्दराज जोशी वि.सं. २०२१ सालमा बङ्गलादेशको जस्तै शेख मुजिबुर बहिनीको मोडेलमा बीपीले घोषणा गरेको सशस्त्र क्रान्तिमा तनहुँ जिल्ला ब्यवस्थापन गर्ने जिम्मा लिएका पार्टीका सिपाही हुन्, जो वि.सं. २०४६ मा पनि गिरिजाप्रसाद कोइरालाको सारथिका रूपमा नेतृत्वकारी भूमिकामा देखा परे । वि.सं. २०४८ को गिरिजाप्रसादको मन्त्रिमण्डलमा तनहुँबाट विजयी भएर गोविन्दराज जोशी शिक्षामन्त्री बने । जोशीका बुवा पद्मराज जोशी वि.सं. २०१८ मा गिरफ्तार भइ कास्की, तनहुँ र लम्जुङको टक्सारमा जेल परे । बुबा हिरासतमा परेपछि जोशी काठमाडौं दरबार हाईस्कुलको पढाइ छोडेर लमजुङको कुन्छामा अध्ययन गर्न पुगे । वि.सं. २०२१ मा एसएलसी पास गरेर काठमाडौं फर्किनासाथ काङ्ग्रेसनिकट छात्र संघमा आवद्ध भए । तत्पश्चात् उनको सम्बन्ध गणेशमान सिंह, बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासँग भयो ।

२०४६ सालपछि जब काङ्ग्रेस सत्तामा आयो । काङ्ग्रेसभित्रको शक्ति-संघर्ष गिरिजासँग रह्यो । त्यो समयमा खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजय गच्छेदार कोइरालाका शक्तिशाली हतियार जस्तै थिए । कोइराला परिवारले कुनै पनि कार्य उनीहरूलाई नसोधी गर्दैनथे । कुनै दिन गिरिजाले आफ्नो हत्या प्रयाससम्म गर्लान् भन्ने कुरा त कल्पनाबाहिरको कुरा भइहाल्यो । राजनीतिको शुरुवाती समयमा जोशी र खड्काको गिरिजाप्रसाद कोइरालाप्रति पूर्णरूपमा भरोसा थियो । वि.सं. २०५१ को उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईले दबाब दिएपछि तनहुँको निर्वाचन क्षेत्र परिवर्तन गरे । रामचन्द्र पौडेलको क्षेत्रमा जोशीले निर्वाचन लड्न नमानेपछि नोना कोइरालालाई साक्षी राखेर गिरिजाप्रसाद कोइरालाले मपछिको काङ्ग्रेसको उत्तराधिकारी तपाईं हुने हो भन्दै निर्वाचन लड्न उकास्ने काम गरे । सोपश्चात् जोशीले निर्वाचनमा भाग लिएका हुन्, जुन निर्वाचनमा जोशीको जित पनि भयो । त्यसपछि जोशी पार्टीको सह-महामन्त्री र मन्त्री बने । यहाँसम्म आइपुग्दा कोइरालाका लागि खुमबहादुर खड्का र गोविन्दराज जोशीको औचित्य करिब-करिब समाप्त भइसकेको थियो ।

२०३३ साल पौष १६ गते राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी नेपाल फर्किने क्रममा बीपीसँग साथै आएका पात्र थिए खुमबहादुर खड्का । उनी संगठनमा पकड भएका हुनाले पार्टी अध्यक्ष नै बन्न सक्ने हैसियत राख्दथे । प्रजातन्त्रको नक्कली मुकुन्डो ओढेर पारिवारिक शासन चलाउने कोइरालाहरूको परम्पराअनुसार नोना कोइरालाले छोरा शेखर कोइरालालाई र गिरिजाप्रसाद कोइरालाले छोरी सुजाता कोइरालालाई अगाडि सार्ने ग्रान्ड डिजाइनमा गिरिजाप्रसादले आफ्नै भाञ्जी शैलजा आचार्यलाई समाप्त नगर्दासम्म सुजाता कोइराला स्थापित नहुने ठहरपछि गिरिजाप्रसाद कोइरालाको टिमले स्लो प्वाइजन दिएर शैलजा आचार्यको हत्या गराएको हो भनेर अहिले पनि चर्चा चलिरहन्छ । सत्य-तथ्य के थियो त्यो पाटो पनि आउला ।

तत्पश्चात् शुरु भएको हो राजनीतिमार्फत हुने फोहोरी खेलको शुरुवात । गोविन्दराज जोशी र खुमबहादुर खड्काको हत्या गर्न गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायत कोइराला परिवारका केही सदस्य नै लागि परे । हुन त विगतमा पनि आफूलाई मननपरेकालाई सक्काउने परम्परा काङ्ग्रेसमा नभएको होइन । टङ्कप्रसाद आचार्य, सूर्यप्रसाद उपाध्यायहरू पनि आफ्नै पार्टीको नेताको शिकार भएको इतिहासमा पढ्न पाइन्छ । विगतका यस्ता राजनीतिक षड्यन्त्रहरू गिरिजाप्रसाद कोइरालाले नजिकबाट देखेका थिए । गिरिजाप्रसाद कोइरालाकै सरकार रहेको अवस्थामा माओवादीले पहिलो सदरमुकाम हमलाको रूपमा डोल्पाको दुनैमा आक्रमण गऱ्यो । यो वि.सं. २०५७ को घटना हो । त्यतिबेला गोविन्दराज जोशी गृहमन्त्री थिए । दुनै हमलामा सेनाको संलग्नताको जोशीले पर्दाफास गरिदिए । यसबाट माओवादी हिंसा चलाउने सहयोग गर्ने दरबार र सेनाभित्रको इसाई गिरोह जोशीसँग रिसाएको थियो । गिरिजाप्रसाद कोइरालाले आफ्नो गृहमन्त्रीको रक्षा गर्नुपर्नेमा उल्टै राजिनामा मागे ।

दुनै घटनाको सन्दर्भमा तत्कालीन राजदरबारमा सैनिकसचिव विवेक शाहले यसरी लेखेका छन्- ‘दुनै घटनाको सन्दर्भमा सञ्चारमाध्यमले व्यापक समाचार दिएका छन् । सरकारी पक्षबाट आफ्नो कमी-कमजोरी ढाकछोप गरिएको छ । दुनै घटनाको छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । त्यसमा सेनाको प्रतिनिधित्व छैन । दुनै घटनाको जाहेरीका क्रममा सरकारबाट मलाई हुकुम भयो, मन्त्रीहरूले सेनाका विरुद्ध जथाभावी र आक्रमक रूपमा बोलिरहेको अवस्था छ । प्रधानमन्त्री स्वयम् रक्षामन्त्री भएकाले सेनाको बचाउमा लाग्ने कि नलाग्ने भन्ने कुरा विचारणीय विषय हो । यदि रक्षामन्त्रीले कुनै कदम नचाल्ने हो भने सेनाले पनि आफ्नै प्रयासमा वक्तव्य निकाले के हुन्छ ? यसबारे समेत विचार गर्नु पर्दछ । दुनै घटनाको जिम्मेवारी कसले लिने ? सो घटना हुँदाका बखत सरकार नागार्जुन दरबारमा राज हुनुहुन्थ्यो, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सो घटनाबारे विस्तृत कुराकानी गर्न नागार्जुन जानुभयो । सरकारसँग बृहत छलफल भइसकेपछि प्रधानमन्त्रीले गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकलाई कारवाही गर्ने विचार गर्नुभएको छ । खासगरी सुरक्षा अवस्थालाई मजबुत बनाउन समयमै घटनाबारे सूचना प्राप्त गर्न तथा कर्वाही गर्न नसकेको भन्दै उहाँ गृहमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षकको राजिनामा माग्ने मनस्थितिमा पुग्नुभएको देखिन्छ । मुलुकमा त्यत्रो घटना हुँदा नि कोही त त्यसको जिम्मेवार हुनैपर्छ । त्यसैले त्यसको नैतिक जिम्मेवारी उनीहरूको हो भन्ने प्रधानमन्त्रीले सरकारमा जाहेर गर्नुभएको रहेछ । त्यसैबेला संयोगवश उहाँहरू तीनै जनाले सेना र दरबारको पनि आलोचना गर्नुभएको छ । स्वाभाविक रूपमा यो कुरा दरबार र सेनालाई पनि मनपर्ने विषय थिएन । उहाँहरू तीनै जनालाई कारबाही गर्नुपर्छ भन्ने सेनाको दबाब आएपछि पत्रकार सम्मेलन गरेर गोविन्दराज जोशीले गृहमन्त्री पदबाट राजीनामा दिनुभयो ।’ (पत्रकार सम्मेलनको पूर्ण पाठ)

गोविन्दराज जोशी र खुमबहादुर खड्काको मुद्दा गिरिजाले आफैं पुनरावेदन गर्न लगाए ।

२०६२/०६३ को आन्दोलनपछि सबै राजनीतिक मुद्दा फिर्ता गर्ने निर्णय भयो । ‘माओवादी आतङ्ककारी’हरूका मुद्दा फिर्ता भए । गिरिजाको आफ्नै मुद्दा पनि फिर्ता गराए । त्यो अवस्थामा खुमबहादुर खड्का र गोविन्दराज जोशीको मुद्दा फिर्ता नगरी कायम नै राखियो । गिरिजाप्रसाद कोइरालाले तत्कालीन अख्तियार प्रमुख इन्द्रमानलाई बोलाएर जोशी र खड्काको मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता गर्ने निर्देशनन दिए । विशेष अदालतबाट सफाइ पाएको मुद्दा गिरिजाप्रसाद कोइरालाको पहल र निर्देशनमा पुनरावेदन गरियो । खुमबहादुर खड्का र गोविन्दराज जोशी कोइरालाहरूको वंशवादी राजनीतिमा बाधक बन्ने देखिएपछि काङ्ग्रेसको एघारौं र तेह्रौँ महाधिवेशनमा कोइरालाहरूको प्यानलबाटै बाहिरिए ।

२०६४ सालको संविधासभा निर्वाचनमा गोविन्दराज जोशी तनहुँ र खुमबहादुर दाङमा चुनाव लडे । निर्वाचनका क्रममा तत्कालीन गृहमन्त्री कष्णप्रसाद सिटौला तनहुँको निरीक्षणमा गए । निरीक्षणका क्रममा उनी जोशीको निवासमा समेत पुगे । गृहमन्त्री सिटौलालाई गिरिजाप्रसाद कोइरालाले खटाएका थिए । स्मरण रहोस्, १२बुँदे सहमतिको पक्ष लिन नसकेपछि बिस्तारै गिरिजाप्रसाद कोइरालाबाट टाढिएका गोविन्दराज जोशीले नै गिरिजाप्रसाद कोइरालालाई सहयोग गर्न कृष्ण सिटौलालाई सिफारिस गरेका थिए । जब गृहमन्त्री सिटौला तनहुँबाट फर्के, स्थानीय प्रशासनको कार्यशैलीमा परिवर्तन देखिन थाल्यो । गिरिजाप्रसाद कोइरालाको सल्लाहमा सिटौलाले माओवादीमार्फत भिडन्त गराएर जोशीको हत्या गराउने योजना बनाएर फर्किएका थिए । त्यसपछि माओवादीमा उत्साह थपियो । माओवादीका सुरेश आलेमगर जोशीका प्रतिस्पर्धी थिए । दरबार हत्याकाण्डको २०५८ जेठ १९ को समयका प्रधानसेनापति प्रज्वलशमशेर जबराका बहिनीज्वाइँ सन्दिपबहादुर शाहको घरमा माओवादी नेता सुरेश आलेमगरसहितका अन्य नेताहरू आउने-जाने गर्दथे । आलेलाई जिताउन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई गिरिजाले पठाउनु र जोशीको हत्या गर्ने षड्यन्त्रभित्र गिरिजाप्रसादको सेनासँग पहिलेदेखि नै तालमेल थियो भन्ने कुरा सहजै अन्दाज गर्न सकिन्छ ।

यता रामचन्द्र पौडेलको निर्वाचन क्षेत्रमा भने पूर्णरूपमा सरकार र माओवादीको पनि सहयोग थियो । तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले रामचन्द्र पौडेल विपक्षी भए पनि राम्रो उम्मेदवार भनेर प्रशंसा गर्दै भाषण गरे । यसरी पौडेलले चुनाव जिते, जोशीलाई हराइयो ।

स्मरण रहोस्, २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा हत्याको ५ मिनेटपछि उक्त हत्या दीपेन्द्रले गराएको भनेर विदेशी मिडियालाई प्रतिक्रिया दिने रामचन्द्र पौडेल नै थिए भने नयाँ कोतपर्वलाई मान्यता दिनुहुँदैन भनेर अर्को दिन कान्तिपुरमा गणेश चितौरेमार्फत लेख पठाउने बाबुराम भट्टराई थिए । यी दुवै दरबार हत्याकाण्डमा सामेल भएका बाहिरी पात्र थिए भनेर अहिले पनि चर्चा हुन्छ ।

चुनाव प्रचारप्रसारका क्रममा तनहुँको धुर्मसेमा गोविन्दराज जोशीविरुद्ध कालो झण्डा माओवादीले प्रदर्शन गर्ने जानकारी जोशीलाई प्रशासकले दियो । तर माओवादीहरू जोशीको हत्या गर्ने उद्देश्यका साथ हतियारसहित उत्रिएका थिए । जोशीको घर र गाउँमा माओवादीले हमला गरे, जोशीका नजिकका मान्छेलाई घाइते बनाए ।

निर्वाचनको अघिल्लो दिन तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवालले गोविन्दराज जोशीलाई फोन गरेर भने– ‘मैले खुमबहादुर मन्त्रीजीलाई सम्पर्क गर्न प्रयत्न गरेँ, उहाँसँग सम्पर्क हुन सकेन ।’ कटवालले राति ८ः०० बजे फोन गरेका थिए । उनले जोशीलाई भने- ‘तपाईंले खुमबहादुर मन्त्रीजीलाई भनिदिनुहोला, तपाईं र खुमबहादुरज्यूको हत्या गर्न काठमाडौंबाट सुटरहरू हिँडिसकेका छन् । म तपाईंहरूको रक्षा गर्न नसक्ने अवस्थामा छु । मैले तपाईंहरूलाई बचाउन सक्दिनँ । तपाईंहरूले आफ्नो सुरक्षा आफै गर्नुहोला । यो सूचना खुमबहादुर मन्त्रीजीलाई पनि दिनुहोला । म तपाईंहरूको पक्षमा केही गर्न नसक्ने अवस्थामा छु’ भन्दै कटवालले टेलिफोन राखे ।

तत्पश्चात् गोविन्दराज जोशीले खुमबहादुर खड्कासँग सम्पर्क गरे र प्रधानसेनापति कटवालले दिएको सूचना सुनाए । गिरिजाप्रसाद कोइरालाको निर्देशन र कृष्णप्रसाद सिटौला अनि माओवादीको मिलेमतोमा दाङको सतवरियामा खुमबहादुर खड्कामाथि सांघातिक हमला गरियो । खड्काले ठुलो प्रतिरोध गरे । प्रतिरोधको क्रममा १२ जना माओवादीहरू मारिए । खड्का निर्वाचन हापेर दिल्ली गए । वातावरण सहज भएपछि नेपाल फर्किए । यता, तनहुँको दमौलीमा अपरचित मानिसहरूको जमघट हुन लागेपछि गोविन्दराज जोशीले प्रशासनसँग सहयोग मागे । चुनावको दिन जब जोशी घाँसीकुवा गए, उनीसँग प्रहरी स्कर्टिङले योभन्दा अगाडि जान नदिने आदेश छ भनी रोक्यो । निर्वाचन बुथहरू कब्जा गरेर माओवादी उम्मेदवार सुरेश आलेमगरलाई जिताइयो । गिरिजाप्रसाद कोइराला कृष्ण सिटौला, रामचन्द्र पौडेल र माओवादीको मिलीमतोमा जोशीले चुनाव हारे । गोविन्दराज जोशीले तत्कालीन प्रधानमन्त्री कोइरालासँग टेलिफोन सम्पर्क गर्न खोज्दा कोइराला सम्पर्कमा आएनन् । गोविन्दराज जोशीको परिवारमाथि आक्रमण प्रयत्न भएपछि परिवारलाई जोशीले काठमाडौं पठाए । जोशीले प्रशासनलाई ४ बजे काठमाडौं फर्कने जानकारी दिए । त्यसपछि उनी पोखरा गएर २ बजेको प्लेन चढेर काठमाडौं फर्किए । यसरी नछलेको भए उनको बाटोमै हत्या हुने रहेछ । प्रशासनले ४ बजे फर्कने खबर गृहमन्त्री सिटौलालाई दियो । सिटौलाले गिरिजालाई दिए । बाटोमा जोशी फर्कने ४ बजेको समय पर्खेर सुटर र माओवादीहरू जोशीको हत्या गर्न बाटो ढुकेर बसेका थिए । तर, उनी २ बजे पोखरा पुगेर अर्कै मार्ग (प्लेन) मार्फत फर्केकाले गिरिजाप्रसाद कोइरालाको जोशीलाई हत्या गर्ने योजना असफल भयो । अन्ततः बीपी कोइरालाबाट प्रभावित भएर बीपीको हातबाट नेपाली काङ्ग्रेसको सदस्यता लिएका गोविन्दराज जोशीको गिरिजाले भौतिक हत्या गर्न नसकेपछि बीपीकै छोरा डा. शशाङ्क कोइराला महामन्त्री रहेको अवस्थामा काङ्ग्रेसको साधारण सदस्यताबाट निष्कासन गरिए । यसरी नेपाली काङ्ग्रेसले नै गोविन्दराज जोशीको लामो काङ्ग्रेससँगको यात्रा काङ्ग्रेसले अन्त्य गरिदियो ।

राजदरबारका तत्कालीन सैनिक सचिव विवेक शाह जोशीका बारेमा यसरी लख्छन्- ‘शेरबहादुरजी बेलायतबाट फर्केलगत्तै राजिनामा मागिएको रहेछ । त्योबेला थाहा पाएको भए केही गर्न सकिन्थ्यो । म जुनसुकै हालतमा चुनाव गराउने पक्षमा थिएँ । तर अब जेल पर्ने भइयो । सायद दशैभर थुन्छ होला । यो बेला काङ्ग्रेस नेता गोविन्दराज जोशीलाई गुप्तचरबाट रिपोर्ट आएको थियो । त्यतिबेला गोविन्दराज जोशीलाई पनि पत्र काटिँदैछ भन्ने अनुमानसम्म पनि थिएन ।’

जोशीलाई कारवाही हुँदैछ भने जानकारी पहिला नै विवेक शाहलाई कसरी जानकारी भयो ? यसरी गिरिजाप्रसाद कोइराला, माओवादी र सेनासँग पूर्वनियोजित षड्यन्त्रमार्फत खुमबहादुर खड्का र गोविन्दराज जोशीको हत्या गर्नसम्म उत्रिए । कोइरालाहरू कति उपयोगितावादी छन् र प्रयोग गरेपनि बाधक देख्नासाथ कतिसम्म क्रुर अपराध गर्न उद्यत रहन्छन् भन्ने कुरा गिरिजाले जोशी र खड्काको हत्या गर्न रचेको घिनलाग्दो षड्यन्त्रबाट पनि पुष्टि हुन्छ । बीपी कोइरालाबाटै गिरिजाप्रसाद कोइरालाले यस्ता षड्यन्त्रहरू सिकेका थिए । टङ्कप्रसादलाई समाप्त गर्न वि.सं. २००७ सालअघि र पछि खेलेको भूमिका, सूर्यप्रसाद उपाध्यायलाई वि.सं. २०१५ सालको चुनाव हराउन खेलेको भूमिका, डिल्लीरमण रेग्मीलाई किनारा लगाउन गरेका बीपीका षड्यन्त्रहरू गिरिजाप्रसाद कोइरालाले नजिकबाट अनुभव गरेका थिए । बीपी कोइरालाको त्यही नीति उनले गणेशमान, कृष्णप्रसाद भट्टराई, खुमबहादुर खड्कादेखि गोविन्दराज जोशीसम्मलाई प्रयोग गरे । गिरिजाले आफ्ना दाजु बीपीबाट लिएको शिक्षा पनि यही हो ।

‘रअ’को योजनामा गिरिजासँगै वि.सं. २०३० जेष्ठ २८ गते नेपाल एयरलाइन्सको जहाज अपहरण गर्नेमध्येका अर्का पात्र दुर्गा सुवेदी हुन् । बङ्गलादेशमा मुजिव बाहिनी जस्तै नेपालमा ‘रअ’को योजनामा काङ्ग्रेसद्वारा घटाइएको तत्कालीन ओखलढुङ्गा काण्डमा क्षति भयो । यो घटनामा सरकार सफल नभएको भए पूर्वी पाकिस्तानको अवस्थामा लैजाने बीपीको योजना थियो । दुगा सुवेदी लेख्छन्- ‘ओखलढुङ्गा घटनामा क्षति भयो । राम, लक्ष्मण मारिए । मैले सैन्य तालिम नलिएका उनीहरूलाई नपठाऊँ भनेको थिएँ । बीपीले आफ्नै जिद्दीले गएका हुन् भने । मैले भनेँ- सुजाता, शशाङ्क, शेखर यहाँ पढ्दैछन् । राम, लक्ष्मण मारिए । बीपीले ‘क्रान्तिमा यस्तो हुन्छ’ भने । मैले भनेँ- त्यसोभए गिरिजा, सुशील र तपाईंहरूका सन्तान नजाने, हामी मर्नुपर्ने ?’ उनी अगाडि भन्छन्- ‘एकदिन बीपीले मलाई थप्पड हाने । त्यो दिन गिरिजा, वसन्त र विनोदको बैठक बसिरहको रहेछ । उनीहरूको मलाई मार्ने योजना रहेछ । ओखलढुङ्गा काण्डमा खटिएका कार्यकर्ता ढकबहादुरलाई षड्यन्त्रपूर्वक मारिदिएका थिए । उनलाई मार्नुभन्दा पहिला अनुशासनको कारबाही गरियो । पछि उनको लास नेपाल-भारत सिमानामा भेटियो । मेरो त्यस्तै अवस्था थियो ।’ यसरी हेर्दा गिरिजाले खुमबहादुर र गोविन्दराजको हत्या गर्न खोज्नु नयाँ कुरा होइन रहेछ । ‘रअ’को प्लेन अपहरण गरेर लुटेको पैसाको हिसाबकिताब खोज्न थालेपछि लुटेरामध्येका दुर्गा सुवेदीको हत्या त्यतिबेला गिरिजाप्रसाद कोइरालाले गर्न खोजेका रहेछन् ।

सुवेदी लेख्छन्- ‘बीपी २०३३ पौष १६ मा नेपाल फर्किएपछि मैले फारवेसगन्जबाट ‘नयाँ नेपाल पुकार’ पाक्षिक बुलेटिन प्रकाशित गर्न लागेँ । यो पत्रिका सुरु गरेपछि गिरिजाको निर्देशनमा वि.सं. २०३६ साल फागुन १० गते बिहान १० बजे जोगवनी रेल्वे स्टेशनको पत्रिका पसलमा वसन्त भट्टराई, उमेश गिरीले म (दुर्गा सुवेदी) माथि साङ्घातिक आक्रमण गरे । यसरी ‘रअ’का निर्देशक रामेश्वरनाथ काओको सल्लाहमा जहाज अपहरण गरेर तत्कालीन ३० लाख भारु लुट्नेमा दुर्गा सुवेदी पनि थिए । जब सुवेदीले हिसाबकिताब खोज्न थाले उनी गिरिजाप्रसाद कोइरालाको निशानामा परे ।

त्यस्तै, संगठनमा राम्रो पकड भएका खुमबहादुर खड्का र गोविन्दराज जोशीको प्रयोग सकिएपछि गिरिजाले हत्या गर्न खोजेको विभिन्न घटनाक्रमले प्रस्ट देखाउँछ । यतिमात्रै कहाँ हो र ? गत स्थानीय चुनावमा रामचन्द्र पौडेलको गाउँ व्यास नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएको यो पंक्तिकारकै हत्या गर्ने षड्यन्त्र गरियो । म भाग्यवश बाँचेँ । रामचन्द्र पौडेल अहिले यो देशको राष्ट्रपति छन् र उनले राष्ट्रिय टेलिभिजनमा ‘दीपकराज जोशीलाई मार्ने आदेश थियो, प्रहरीले लठ्ठी मात्रै हान्यो’ भनेर अभिव्यक्ति दिएका थिए ।

स्मरण रहोस्, मैले समाजमा भएका राजनैतिक विसंगति, कुरुतिको विरुद्ध निष्पक्ष ढङ्गले आवाज उठाउँदै आइरहेको छु । मैले उठाएको सत्य तथ्यमा आधारित आवाज नेपाली काङ्ग्रेसको एउटा समूहलाई मन परेको छैन ।

आफ्नै पार्टीलाई ज्यान दिने पार्टीका सिपाहीहरूलाई छानी-छानी कसरी सिध्याइन्छ भन्ने कुरा माथि लेखेका कुराले स्पष्ट हुन्छ । यस्ता विभिन्न घटनाक्रममा शक्ति हातमा हुने व्यक्तिहरूले मिडियालाई आफूले चाहेको मात्रै समाचारहरू सम्प्रेषण गर्छन् । त्यही झुटो समाचारको आधारमा राम्रा मान्छेलाई समाजले नराम्रो र नराम्रो मान्छेलाई राम्रो प्रमाणित गराउँछ । अब सत्य-तथ्य उजागर गर्ने बेला आएको छ । र, ती सत्य-तथ्यहरूले अब भविष्यको राजनीति पनि तय गर्नेछ ।

(माथि प्रस्तुत घटनाहरू चिनियाँबहादुर बस्न्यातको ‘सिपाहीको जिन्दगी’, विवेक शाहको ‘मैले देखेको दरबार’, गोविन्दराज जोशीको अन्तरवार्ता र लेखहरू, अर्जुन ज्ञवालीको ‘बीपी, बाइबल र काङ्ग्रेस’, अर्जुन ज्ञवाली/पेशलकुमार निरौलाको ‘बाइबल र माओवाद’बाट लिइएको हो । – लेखक)