नेपाली राजनीतिमा विकल्प भन्ने अवधारणा कुनै नयाँ वा आकस्मिक घटना होइन । इतिहास हेर्ने हो भने, राणाशासनको विकल्पका रूपमा कांग्रेस उदायो, पञ्चायत कांग्रेसको विकल्प बन्यो, र फेरि बहुदलीय व्यवस्था पञ्चायतको विकल्पका रूपमा स्थापित भयो जहाँ कांग्रेस र एमालेले सत्ता सम्हाले । त्यसपछि कांग्रेस-एमालेको असन्तुष्टि र विफलताबीच माओवादी शक्ति विकल्पका रूपमा उदायो । यस प्रक्रियामा थुप्रै साना-ठूला राजनीतिक विकल्पहरू पनि देखापरे। आज आएर ‘विकल्प’ भन्नाले राजनीतिक दलभन्दा बाहिरका स्वतन्त्र शक्ति वा स्वतन्त्र उम्मेदवारलाई बुझ्न थालिएको छ । यसले के स्पष्ट गर्छ भने विकल्पको राजनीति नेपालका लागि नयाँ होइन; नयाँ भनेको विकल्पप्रति बढ्दै गएको जनआकांक्षा र पुराना शक्तिप्रतिको गहिरिँदो अविश्वास हो । वास्तविक प्रश्न विकल्पको जन्म होइन, विकल्प सत्तामा पुगेपछि उसले राजनीतिक संस्कार परिवर्तन गर्न सक्छ कि सक्दैन भन्ने हो ।

नेपालको राजनीति आज एउटा यस्तो गम्भीर मोडमा उभिएको छ, जहाँ एकातिर दशकौँदेखिको उही अनुहार, उही भाषा र उही असफलताको पुनरावृत्ति छ भने अर्कोतिर परिवर्तनको हुटहुटी बोकेको नयाँ पुस्ता । राज्यव्यवस्थाप्रतिको जनविश्वास इतिहासकै कमजोर बिन्दुमा पुगेका बेला Gen Z (सन् १९९७ देखि २०१२ को बीचमा जन्मेका युवाहरू) को उदयले राजनीतिलाई फेरि एकपटक ऐना देखाइदिएको छ । यो आन्दोलन केवल सडकको आक्रोश होइन, यो एक पुस्तागत चेतनाको उद्घोष पनि हो । अब देश यसरी चल्दैन भन्ने पृष्ठभूमिमा आजको नेपालको राजनीतिमा मूल प्रश्न उब्जिएको छ, के वैकल्पिक भनिएका शक्तिहरूले वास्तवमै नेपाललाई नयाँ दिशा दिन सक्छन् ?

Gen Z को असन्तोष : आवेग कि चेतना ?

Gen Z लाई धेरैले आवेगी, अधैर्य र अव्यवहारिक भनेर आलोचना गर्ने गर्छन् । तर उनीहरूको आवाजलाई गहिराइबाट सुन्ने हो भने स्पष्ट हुन्छ- यो पुस्ता केवल सत्ता परिवर्तन चाहँदैन, उनीहरू उत्तरदायित्व खोजिरहेका छन् ।

उनीहरू नाराभन्दा नीति खोज्छन्, व्यक्तिभन्दा प्रणाली सोध्छन् र भाषणभन्दा परिणाम माग्छन् । यो असन्तोष अचानक पैदा भएको होइन । रोजगारीको अभाव, शिक्षा र श्रमबीचको विच्छेद, विदेश पलायनको बाध्यता र अवसरभन्दा पहुँचलाई प्राथमिकता दिने राजनीतिक संस्कृतिले यो पुस्तालाई विद्रोही बनाएको हो ।

वैकल्पिक शक्ति किन आकर्षक ?

पुराना दलहरूले सुधारको मन्त्र जपिरहँदा व्यवहारमा सिन्डिकेट चलाएपछि, वैकल्पिक शक्तिहरू Gen Z का लागि आशाको केन्द्र बनेका हुन् । यी शक्तिले कम्तीमा एउटा आश्वासन दिएका छन्- हामी फरक छौँ । तर, प्रश्न यतिमै टुङ्गिँदैन । नेपालको इतिहास साक्षी छ धेरै आन्दोलनहरू विकल्प को नाममा आए, तर सत्ताको कुर्सीमा पुगेपछि तिनीहरू पुरानै प्रवृत्तिका नयाँ संस्करण मात्र साबित भए । त्यसैले Gen Z को प्रश्न आज व्यक्तिको अनुहारमा होइन, उसको कार्यशैलीमा केन्द्रित छ ।

विकल्प हुनु र वैकल्पिक राजनीति गर्नुमा फरक

वास्तविक चुनौती यहीँ छ । वैकल्पिक शक्ति हुनु भनेको केवल पुरानाको विरोध गर्नु मात्र होइन, बरु पुरानाभन्दा फरक राजनीतिक संस्कार प्रस्तुत गर्नु हो । वास्तविक वैकल्पिक राजनीति त्यहीँ सुरु हुन्छ, जहाँ पदभन्दा विचार ठूलो हुन्छ र नैतिक अनुशासन व्यवहारमा देखिन्छ; जहाँ व्यक्ति होइन संस्था बलियो बनाउने संस्थागत सोच प्रधान हुन्छ; र जहाँ असहज प्रश्नहरूलाई शत्रुताका रूपमा होइन, सुधारको आधारका रूपमा स्वीकार गर्ने साहस हुन्छ । यदि वैकल्पिक शक्तिले पनि आलोचना सहन सक्दैनन्, लोकप्रियता (Populism) लाई नै नीति ठान्छन् र नैतिकतालाई स्वार्थको वेदीमा चढाउँछन् भने, उनीहरू पनि अन्ततः ‘पुरानै बोतलको नयाँ रक्सी’ भन्दा फरक हुने छैनन् ।

नैतिकताको खडेरी र सर्पभन्दा खतरनाक मान्छे

जब राजनीति नैतिकताविहीन हुन्छ तब त्यहाँ सर्प भन्दा खतरनाक मान्छेहरूको उदय हुन्छ । एउटा सर्पले आफ्नो अस्तित्व खतरामा पर्दा मात्र डस्छ, तर नैतिकता हराएको राजनीतिज्ञले सत्ता, स्वार्थ र अवसरका लागि आफ्नै जनताको भरोसामाथि योजनाबद्ध रूपमा पल-पल प्रहार गरिरहन्छ । Gen Z ले यही योजनाबद्ध डसाइलाई अस्वीकार गरेको हो । उनीहरूले बुझेका छन्- सत्ता परिवर्तनले मात्र पुग्दैन, संस्कार परिवर्तन अनिवार्य छ ।

भारतबाट सिक्नु पर्ने पाठ 

आम आदमी पार्टी (AAP) भारतमा वैकल्पिक शक्तिको रूपमा जनआक्रोश र भ्रष्टाचारविरुद्धको आन्दोलनबाट उदाएको उदाहरण हो । यसले देखायो कि स्पष्ट मुद्दा, सेवा-केन्द्रित शासन (शिक्षा, स्वास्थ्य, आधारभूत सेवा) र परिणाममुखी प्रशासनले छोटो समयमा जनविश्वास जित्न सक्छ । तर AAP को अनुभवले चेतावनी पनि दिन्छ । आन्दोलनबाट सत्ता पुगेपछि संस्थागत लोकतन्त्र कमजोर पारियो भने विकल्प आफैं विवादको केन्द्र बन्छ । व्यक्तिकेन्द्रित नेतृत्व, आन्तरिक असहमतिमाथि नियन्त्रण, लोकप्रियता (populism) लाई दीर्घकालीन नीतिभन्दा माथि राख्ने प्रवृत्ति र संघीय संरचनासँगको टकरावले पार्टीको नैतिक दाबीलाई क्षीण बनायो । नेपालको सन्दर्भमा AAP बाट सिकिने मुख्य पाठ यही हो । वैकल्पिक राजनीति सफल हुन केवल फरक हुनु पर्याप्त हुँदैन; संस्थागत अनुशासन, असहमति सहने संस्कार, पारदर्शिता र दीर्घकालीन नीति बिना विकल्प पनि अन्ततः पुरानै सत्ता-संस्कृतिको नयाँ रूप बन्न सक्छ ।

नेपालमा वैकल्पिक शक्तिको सार्थकता केवल नयाँ अनुहारमा मात्र सीमित छैन; यसको वास्तविक परीक्षण Gen Z ले अघिसारेका आधारभूत सर्तहरूको पालनामा निहित छ । सर्वप्रथम, राजनीतिमा नैतिक स्पष्टता ल्याउँदै इमानदारीलाई नै नेतृत्वको पहिलो कसी बनाइनुपर्छ । दोस्रो, कुनै एक व्यक्तिको सनक वा आदेशमा चल्ने प्रणालीको अन्त्य गरी विधिको शासन र संस्थागत पद्धतिलाई स्थापित गर्नु अनिवार्य छ । त्यसैगरी, सार्वजनिक पदमा बस्नेहरूको हरेक निर्णयमा पारदर्शिता र जनताप्रतिको पूर्ण जवाफदेहिता हुनुपर्छ, ताकि भ्रष्टाचार र गुटबन्दीको अन्त्य होस् । अन्ततः, राजनीतिलाई शक्ति आर्जन गर्ने थलोको रूपमा नभई विशुद्ध सेवाभावको माध्यमका रूपमा आत्मसात् गरिनुपर्छ । यदि वैकल्पिक शक्तिहरूले यी मूल्यहरूलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाउन सके भने मात्र नेपालले अपेक्षा गरेको नयाँ दिशा र परिवर्तन सम्भव हुनेछ ।

नेपालमा वैकल्पिक राजनीतिको सार्थकता अनुहारको फेरबदलमा होइन, संस्कारको रूपान्तरणमा निर्भर छ । सत्ता-प्राप्तिलाई मात्र साध्य ठान्ने पुरानो प्रवृत्तिलाई त्यागेर जबसम्म नयाँ शक्तिले नैतिक र संस्थागत पद्धतिलाई अंगाल्दैनन् तबसम्म दिशाहीनताको अन्त्य सम्भव छैन । यसैबीच, Gen Z को उदयले राजनीतिलाई सत्ताको दाउपेचबाट बाहिर ल्याएर जवाफदेहिता र नीतिको कठघरामा उभ्याइदिएको छ । यो पुस्ताको खबरदारी कुनै क्षणिक आक्रोश नभएर लोकतन्त्रलाई संस्कारी बनाउने एउटा ऐतिहासिक अवसर हो । वास्तवमा, नेपालको पुनर्जागरण कुनै एउटा दलको पेवा होइन; यो त नैतिकता, नागरिक सचेतना र युवाहरूको निडर प्रश्न गर्ने सामर्थ्यको त्रिवेणीबाट मात्र सम्भव छ ।