विश्व राजनीतिको रङ्गमञ्चमा समय-समयमा यस्ता पात्रहरूको उदय हुन्छ, जसले स्थापित मूल्य-मान्यता र परम्परागत शक्ति संरचनालाई एकै झट्कामा हल्लाइदिन्छन् । सन् २०१९ मा युक्रेनमा भ्लोदिमिर जेलन्स्कीको उदय त्यस्तै एउटा परिघटना थियो । एउटा हास्य कलाकार, जसले टेलिभिजनको पर्दामा राष्ट्रपति बनेको अभिनय गर्थ्यो, ऊ वास्तवमै देशको सर्वोच्च पदमा पुग्यो । आज नेपालको तरल राजनीतिक वातावरणमा पनि यस्तै एक आउटसाइडर (बाहिरिया) नेतृत्वको खोजी भइरहेको आभास हुन्छ । के नेपाली राजनीति अब साँच्चै जेलन्स्की युगतर्फ प्रवेश गर्दैछ ? यो प्रश्न अहिले चियापसलदेखि प्राज्ञिक बहससम्मको केन्द्रमा छ ।

जेलन्स्कीको उदय हुनुअघि युक्रेनमा जसरी भ्रष्टाचार, ओलिगाकी (कुलीनतन्त्र) र पुराना दलहरूको असफलताले जनतामा चरम निराशा थियो, नेपालमा पनि ठ्याक्कै त्यस्तै अवस्था विद्यमान छ । वि.सं. २०४६ सालपछिको राजनीति हेर्ने हो भने सीमित नेता र केही राजनीतिक घरानाकै वरिपरि सत्ता घुमिरहेको देखिन्छ ।

पटक-पटक प्रधानमन्त्री बन्ने तर जनताको जीवनस्तरमा कुनै तात्त्विक परिवर्तन ल्याउन नसक्ने टेस्टेड नेताहरूप्रति युवा पुस्तामा गहिरो वितृष्णा छ। जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान नेपाली समाजमा निराशाको मानक बनेको छ । यही रिक्तता र अविश्वासको जगमा नयाँ अनुहारको खोजी सुरु भएको हो, जसलाई हामी जेलन्स्की युगको पदचाप भन्न सक्छौँ ।

नेपाली राजनीतिमा अहिले देखिएको परिवर्तनका संकेतहरूलाई निम्न बुँदामा विश्लेषण गर्न सकिन्छ-

१. गैर-परम्परागत पृष्ठभूमिबाट उदय :

जेलन्स्की जस्तै नेपालमा पनि अहिले स्थापित राजनीतिक करिअर नभएका, तर आफ्नो क्षेत्रमा सफल भएका व्यक्तिहरू राजनीतिमा आउने क्रम बढेको छ । सञ्चारकर्मी, इन्जिनियर, डाक्टर र अभियन्ताहरूले पुराना दलको विरासतलाई चुनौती दिइरहेका छन् । उनीहरूले राजनीतिलाई सेवा’ भन्दा पनि डेलिभरी को रूपमा परिभाषित गरिरहेका छन् ।

२. डिजिटल लोकतन्त्र र सामाजिक सञ्जाल :

जेलन्स्कीको जीतमा सामाजिक सञ्जालको भूमिका निर्णायक थियो। नेपालमा पनि अहिले फेसबुक, दिस्कर्ड , टिकटक र ट्विटर (X) ले जनमत निर्माणमा ठुलो भूमिका खेलिरहेका छन्। पुराना दलका कार्यकर्ताको केडर बेस राजनीतिलाई नयाँ शक्तिहरूले नेटवर्क बेस राजनीतिले विस्थापित गर्दैछन् । यसले गर्दा जनता र नेताबीचको दूरी घटेको छ, तर सँगै संवेग (Emotions) ले विवेकलाई उछन्ने खतरा पनि बढेको छ ।

३. पपुलिज्म (लोकप्रियतावाद) को आकर्षण :

जेलन्स्कीले जनतालाई म तिमीहरूमध्येकै एक हुँ भन्ने महसुस गराए । नेपालका नयाँ पात्रहरूले पनि यही आम मानिस (Common Man) को भावनालाई समातेका छन् । उनीहरूले ठुला राजनीतिक दर्शन वा वाद (Ism) भन्दा पनि भ्रष्टाचार नियन्त्रण, शिक्षा, स्वास्थ्य र सुशासन जस्ता प्रत्यक्ष सरोकारका विषयलाई मुख्य एजेन्डा बनाएका छन् ।

संस्थागत अवरोध र संसदीय जटिलता

तर, युक्रेन र नेपालको संवैधानिक संरचनामा एउटा ठुलो भिन्नता छ । युक्रेनमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली छ । जेलन्स्कीले चुनाव जितेपछि उनले मन्त्रीमण्डल बनाउन र निर्णय लिन धेरै हदसम्म स्वतन्त्रता पाए । नेपालमा भने संसदीय व्यवस्था छ । यहाँ कुनै एक व्यक्ति जेलन्स्की जस्तै लोकप्रिय भएर आए पनि उसले बहुमतको संसद र गठबन्धनको खेलबिना काम गर्न सक्दैन । वर्तमान निर्वाचन प्रणाली (मिश्रित प्रणाली) ले गर्दा कुनै पनि एउटा दलको स्पष्ट बहुमत आउन कठिन छ । यस्तो अवस्थामा नयाँ आउने पात्र पनि अन्ततः उही भागबण्डा र गठबन्धन को दलदलमा फस्ने जोखिम रहन्छ । यसले गर्दा व्यक्तिको परिवर्तनले मात्रै प्रणाली सुध्रिनेमा शङ्का उत्पन्न हुन्छ ।

लेखको सुरुमा उल्लेख गरिएझैं, हिजोका नेताहरू दाता र विदेशी शक्तिबाट परिचालित भएको आरोप लाग्ने गर्थ्यो, आज त्यो प्रभाव संस्थागत भएको देखिन्छ । जेलन्स्कीको सन्दर्भमा पनि उनी पश्चिमा राष्ट्रहरूको प्रोक्सी भएको आरोप रुसले लगाउने गर्छ । नेपाल जस्तो दुई विशाल शक्ति राष्ट्रहरूको बीचमा रहेको मुलुकमा कुनै नयाँ र अपारम्परागत शक्तिको उदय हुँदा, उसलाई वैदेशिक शक्तिले कसरी प्रयोग गर्छन् भन्ने कुरा अत्यन्तै संवेदनशील हुन्छ । कतै नयाँ को नाममा विदेशी एजेन्डा अझै बलियोसँग त आउँदैन ? यो प्रश्नमा सचेत हुन जरुरी छ । साँचो जेलन्स्की युग तब मात्र सफल हुन्छ, जब नेतृत्व दाताको निर्देशनमा होइन, राष्ट्रिय स्वार्थको जगमा उभिन्छ।

नायकत्वको नाममा अधिनायकवाद

लोकप्रियताको एउटा नराम्रो पक्ष भनेको पर्सानालिटी कल्ट (व्यक्ति पूजा) हो । जब जनताले कुनै एक व्यक्तिलाई मुक्तिदाता वा मसिहा मान्न थाल्छन्, तब लोकतान्त्रिक संस्थाहरू कमजोर हुन सक्छन् । इतिहासले देखाएको छ कि नयाँ भनिएका धेरै नेताहरू पछि गएर उस्तै वा झन् बढी निरंकुश भएका छन् ।

नेपालले खोजेको परिवर्तन केवल अनुहारको फेरबदल होइन । यदि नयाँ आउनेहरूले पनि विधि र पद्धतिभन्दा माथि आफूलाई राख्न खोजे भने, त्यो अर्को ठुलो धोका हुनेछ। नेपाललाई नायक (Hero) मात्र होइन, प्रणाली (System) सुधार्ने एउटा राजनीतिक संस्कार चाहिएको हो ।

नेपाली राजनीतिमा जेलन्स्की युग को चर्चा हुनु भनेको जनताले परिवर्तन खोजेको स्पष्ट संकेत हो । यसले पुराना दलहरूलाई सुध्रिने वा सकिने चेतावनी दिएको छ । तर, परिवर्तनको यो लहर भावनामा मात्र बग्नु हुँदैन ।

साँचो अर्थमा नयाँ युगको सुरुवात हुन केवल अनुहार फेरिनु पर्याप्त हुँदैन; त्यसका लागि केही आधारभूत सर्तहरू अनिवार्य रूपमा पूरा हुनुपर्छ । पहिलो, नीतिगत स्पष्टता आवश्यक छ। खाली पुरानाको विरोध गरेर होइन, देश कसरी बनाउने भन्ने ठोस दृष्टि, योजना र कार्यदिशा प्रस्तुत गर्न सक्नुपर्छ । दोस्रो, संस्थागत लोकतन्त्र बलियो हुनुपर्छ । राजनीतिक दलहरू कुनै एक व्यक्तिको निजी कम्पनीजस्तै होइन, आन्तरिक लोकतन्त्र, बहस र जवाफदेहिताका आधारमा सञ्चालन हुनुपर्छ । तेस्रो, आर्थिक पारदर्शिता अपरिहार्य छ । दलहरूको आम्दानी र खर्च खुला, जवाफदेही र पारदर्शी नहुँदासम्म दाता र बाह्य प्रभावबाट मुक्त राजनीति सम्भव हुँदैन । यी सर्तहरू पूरा भए मात्र परिवर्तन नारामा सीमित नभई प्रणालीगत र दिगो बन्न सक्छ ।

अन्ततः, जेलन्स्की एक व्यक्ति मात्र होइनन्, उनी एउटा प्रवृति हुन् । नेपालमा यो प्रवृत्तिको उदयले जनतामा आशा जगाएको त छ, तर यो आशालाई निराशामा बदल्न नदिने चुनौती पनि उत्तिकै छ । यदि नयाँ नेतृत्वले इमानदारी र कार्यक्षमता देखाउन सक्यो भने मात्र नेपाली राजनीतिको यो ‘नयाँ अध्याय’ सफल मानिनेछ । अन्यथा, नाम जे दिए पनि परिणाम उही पुरानै सत्ताको खेल मा सीमित रहनेछ ।

नेपाललाई अब चमत्कारी नायक होइन, उत्तरदायी र जवाफदेही प्रणाली चाहिएको छ । यही नै साँचो अर्थमा नयाँ युगको प्रस्थानविन्दु हुनेछ ।