केही दिनदेखि सामाजिक सञ्जालमा म आफ्नो आस्था, विचार र विश्वास स्पष्ट रूपमा सार्वजनिक गर्दै आएको छु । मैले लेखेका कुरा सबैका लागि सहज र प्रिय बनेका छैनन् । धेरैले तिनलाई ‘अत्याधिक आदर्शवादी’ भनेका छन्, कसैले व्यवहारिक नभएको आरोप पनि लगाएका छन् । यस्तो प्रतिक्रिया अस्वाभाविक होइन, किनकि हाम्रो समाजमा अझै पनि विचारभन्दा सुविधा, प्रश्नभन्दा सहमति र सिद्धान्तभन्दा अवसरलाई प्राथमिकता दिने प्रवृत्ति बलियो छ । तर विचार प्रस्ट हुनु र आदर्शमा आधारित हुनु कमजोरी होइन, बरु त्यो व्यक्ति वा यात्राको स्पष्ट दिशा भएको संकेत हो ।
आजको समाजमा भीडसँग नबग्ने, प्रश्न गर्ने र आफ्नै विश्वासमा उभिने आवाजलाई सजिलै ‘असहज’ ठानिन्छ । बहुमतसँग सहमत नहुने व्यक्ति तुरुन्तै ‘अलग’, ‘अव्यवहारिक’ वा ‘समस्याग्रस्त’ ठहरिन्छ । सबैलाई मनपर्ने कुरा भन्नु सजिलो हुन्छ, तर आफूले सही ठानेको कुरा भन्न साहस चाहिन्छ । इतिहास हेर्दा थाहा हुन्छ- समयभन्दा अगाडि राखिएका विचारहरू सुरुमा सधैं आदर्शवादी भनेर खिसी ट्युरी गरिन्छन्, विरोध गरिन्छन्, दबाइन्छन् । तर ,समय बित्दै जाँदा तिनै विचारहरू समाजका मार्गदर्शक बन्छन् । त्यसैले असहजता नै गलत भएको प्रमाण होइन; कहिलेकाहीँ असहजता नै सत्यको पहिलो संकेत हुन्छ ।
यही सोचको बीचमा मैले हालै अंग्रेजी लेखक एच. जी. वेल्सको कथासङ्ग्रह पढ्ने अवसर पाएँ । त्यसमा समावेश The Country of the Blind नामक कथा विशेष रूपमा मनमा बस्यो । यो कथा केवल साहित्यिक रचनामात्र होइन, समाज, सत्ता, बहुमत र फरकपनमाथिको गहिरो दार्शनिक व्यंग्य पनि हो ।
यस कथामा नुनेज नामका एक पर्वतारोही दुर्घटनावश एन्डिज पर्वतको एउटा दुर्गम उपत्यकामा पुग्छ । पुर्खौंदेखिको रोगले गर्दा त्यहाँका सबै बासिन्दा दृष्टिविहीन छन्, र उनीहरूले आफ्नो अवस्था अनुसार आफ्नो समाज र इन्द्रियलाई पूरै अनुकूलित गरिसकेका छन् ।
त्यो उपत्यका पुस्तौँदेखि बाहिरी संसारबाट पूर्ण रूपमा अलग छ, जहाँ सबै मानिस दृष्टिविहीन छन् । समयसँगै उनीहरूले दृष्टिविहीनतामै आधारित समाज, भाषा र सोच विकास गरेका छन् । उनीहरूको लागि देख्नु भन्ने कुरा कुनै वास्तविकता होइन, एउटा काल्पनिक अवधारणा मात्र भएको छ ।
नुनेजले एउटा पुरानो उखान सम्झिन्छ- ‘दृष्टिविहीनहरूको देशमा एकआँखे राजा !’ उसलाई लाग्छ- आफू देख्न सक्ने भएकाले ऊ त्यहाँका मानिसहरूमाथि सजिलै प्रभाव जमाउन सक्छ । तर वास्तविकता ठीक उल्टो हुन्छ । उपत्यकाका मानिसहरू उसले देख्ने आकाश, तारा, पहाड र दूरीका कुरा बुझ्न सक्दैनन् । उनीहरूका लागि यस्ता कुरा निरर्थक कल्पना जस्तै लाग्छन् । बरु त्यहाँका मानिसहरूले सुँघ्ने, सुन्ने र छुने जस्ता इन्द्रियहरूलाई यति विकसित बनाएका हुन्छन् त्यसले गर्दा आँखाको अभाव उनीहरूका लागि कमजोरी नै हुँदैन ।
उनीहरूको दृष्टिमा नुनेज असाधारण होइन, बरु भ्रममा परेको, असामान्य र सुधार गर्नुपर्ने व्यक्ति हो जस्तो लाग्छ । यहाँ कथाले गहिरो यथार्थ देखाउँछ, जब कुनै समाजमा बहुमतले कुनै कुरा बुझ्दैन, त्यो कुरा गलत ठहरिन्छ । फरक क्षमता, फरक सोच वा फरक दृष्टिकोणलाई स्वीकार गर्नुको सट्टा अस्वीकार गरिन्छ ।
समाजले नुनेजलाई आफ्नै ढाँचामा ढाल्न खोज्छ । उसलाई सामान्य काममा लगाइन्छ, उसका कुरा बेवास्ता गरिन्छ । यसैबीच ऊ मेदिना नामकी एक अन्धी युवतीसँग प्रेममा पर्छ । तर समाजका अगुवाहरू निष्कर्ष निकाल्छन्, नुनेजको सबै समस्या उसको आँखाबाट आएको हो । यदि उसले समाजमा सम्पूर्ण रूपमा स्वीकृत हुन र विवाहको बन्धनमा आबद्ध हुन चाहन्छ भने, नुनेजले उसको टाउकोमा रहेको त्यो असामान्य आँखालाई शल्यक्रिया गरेर हटाउनुपर्ने हुन्छ । यही क्षणमा कथाले सबैभन्दा कठोर प्रश्न उठाउँछ । समाजमा स्वीकार्य हुन के आफ्नै मौलिकता, पहिचान र सत्य गुमाउनु पर्ने हो त ?
अन्ततः नुनेजले कठिन तर आत्मसम्मानयुक्त निर्णय गर्छ । आराम, प्रेम र सामाजिक स्वीकृतिको सट्टा ऊ आफ्नो दृष्टि र पहिचान जोगाउन पहाडतर्फ फर्किन्छ । अनिश्चितता, जोखिम र पीडा स्वीकार गर्छ, तर आफूलाई मेटाएर बाँच्न अस्वीकार गर्छ ।
यो कथा पढ्दा लाग्छ हाम्रो समाज पनि कतै यही दृष्टिविहीनहरुको बस्ती जस्तो त होइन ? जहाँ फरक विचारलाई पागलपन ठानिन्छ, प्रश्नलाई विद्रोह मानिन्छ र सिद्धान्तलाई अव्यवहारिक भनेर पन्छाइन्छ । यहाँ सामान्य भन्ने कुरा सधैं सत्य हुँदैन; त्यो केवल बहुमतको सुविधा हुन सक्छ।
यस कथाबाट मैले केही स्पष्ट सन्देशहरू लिएको छु । पहिलो- सामान्य भन्ने कुरा सन्दर्भअनुसार बदलिन्छ । दोस्रो- बहुमतले नबुझेको कुरा सजिलै अस्वीकार गर्छ । तेस्रो- फरक सोच र क्षमता कहिलेकाहीँ अभिशापजस्तै देखिन सक्छ । र, चौथो- समाजमा घुलमिल हुन आफ्नै मौलिकता नष्ट गर्नु कुनै पनि हालतमा उचित हुँदैन ।
भीडसँग नबग्ने विचार असहज हुन्छन्, तर परिवर्तन सधैं त्यहीँबाट सुरु हुन्छ । म त्यसै असहज यात्रामा उभिएको छु।
नोट: यहाँ प्रयोग गरिएको “अन्धो” शब्द कसैको व्यक्तिगत कमजोरी, अपाङ्गता वा मानवीय सीमालाई देखाउन प्रयोग गरिएको होइन। यो शब्द प्रतीकात्मक अर्थमा प्रयोग गरिएको हो। सोच, विवेक र आत्मालोचनाको अभाव जनाउन। यो कुनै व्यक्ति वा समूहप्रति अपमान होइन, बरु विचारहीनता र भीडमानसिकताको आलोचना हो। आलोचना व्यक्तिको होइन, प्रवृत्तिको हो।
Leave A Comment