दिव्य उपदेश नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको अन्त्यतिर राष्ट्र, जनता र भावी शासकहरूका लागि दिएका राजनीतिक, कूटनीतिक, आर्थिक र नैतिक निर्देशनहरूको संग्रह हो । यो कुनै धार्मिक ग्रन्थ होइन, राष्ट्र निर्माणको मार्गदर्शन हो ।
नेपालको इतिहासमा ७ वटा संविधान बने तर एउटाले पनि दीर्घकालीन स्थायित्व र सर्वस्वीकृत विश्वास कायम गर्न सकेन । तर राजा पृथ्वीनारायण शाहको दिव्य उपदेश भने २५० वर्ष बितिसक्दा पनि राज्यसोचको मूल आधारमै जीवित रहेको छ । किन यस्तो भयो त ? यसको उत्तर संविधान लेख्ने नियत, शक्ति संरचना र राष्ट्रिय चरित्रसँग गाँसिएको छ । दिव्य उपदेश सत्ताका लागि होइन, राष्ट्रका लागि लेखिएको थियो ।
नेपालको पहिलो संविधान २००४ सालको ‘नेपाल सरकार वैधानिक कानून’लाई मानिन्छ । तर, यदि संविधानको मर्मलाई शासनको मूल दर्शन, राज्य सञ्चालनको मार्गदर्शन र शासक-जनताको सम्बन्ध निर्धारण गर्ने दस्तावेज का रूपमा बुझ्ने हो भने, नेपालको वास्तविक पहिलो संविधान भनेकै राजा पृथ्वीनारायण शाहको दिव्य उपदेश हो भन्नु अत्युक्ति हुँदैन ।
दिव्य उपदेशले राज्य के हो, शक्ति कसरी प्रयोग गर्नुपर्छ, भू-राजनीति कसरी सम्हाल्नुपर्छ, अर्थतन्त्र कसरी जोगाउनुपर्छ, प्रजासँग शासनको सम्बन्ध कस्तो हुनुपर्छ यी सबै प्रश्नको उत्तर दिएको छ । आजका संविधानले जस्तै यसले पनि परराष्ट्र नीति, शासन पद्धति, न्याय व्यवस्था, राष्ट्र सुरक्षा, आर्थिक नीति र सामाजिक एकताका आधारभूत सिद्धान्त तय गरिदिएको छ।
आजको संविधानले मौलिक हक दिन्छ, तर दिव्य उपदेशले शासकको मौलिक कर्तव्य तोकेको थियो । आजको संविधानले अधिकारको भाषा बोल्छ, दिव्य उपदेशले नैतिकताको भाषा बोल्छ । आजको संविधान कानुनी दस्तावेज हो, दिव्य उपदेश राष्ट्र-दर्शनको दस्तावेज हो।
आज संविधानसभाले लेखेको संविधान कागजमा मात्रै सीमित हुँदा, कुनै बेला दिव्य उपदेश व्यवहारमा लागू गरिएको थियो । त्यसैले त्यो केवल उपदेश होइन, कार्यान्वयन भएको संविधान थियो । दुःखद तथ्य के हो भने आज हामीसँग संविधान छ, तर संविधानको आत्मा छैन । दिव्य उपदेशमा राष्ट्रको, शासनको र नेतृत्वको आत्मा थियो ।
दिव्य उपदेश नेपालको पहिलो लिखित संविधान होइन, तर सबैभन्दा गहिरो राष्ट्रवादी संविधान हो । यो राजतन्त्रको पक्षमा होइन, नेपालको सार्वभौम अस्तित्वको पक्षमा लेखिएको दस्तावेज हो । संविधानलाई कागजले होइन, चरित्रले जीवित बनाउँछ । दिव्य उपदेश आज पनि जीवित छ यदि हामीभित्र राष्ट्रप्रतिको इमान बाँकी छ भने ।
राजा पृथ्वीनारायण शाहको दिव्य उपदेश कुनै राजतन्त्रको स्मृतिशेष दस्तावेज होइन, यो नेपालको राष्ट्र निर्माणको पहिलो दर्शन हो । आज संविधान, संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रको अभ्यासमा प्रवेश गरेको झण्डै दुई दशक हुन लागि सक्यो तर पनि मुलुक किन दिशाहीन देखिन्छ भन्ने प्रश्नको उत्तर खोज्दा, हामी बारम्बार दिव्य उपदेशकै मूल चेतनामा ठोक्किन पुग्छौं ।
दिव्य उपदेशको सबैभन्दा चर्चित वाक्य
‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ – आज पनि उत्तिकै सान्दर्भिक छ । तर आजको यथार्थ हेर्दा, नेपाल सन्तुलनको होइन, झुकावको राजनीतिमा फसेको छ । परराष्ट्र नीति राष्ट्रहितले होइन, सत्ताको समीकरणले निर्देशित भएको देखिन्छ । कहिले भारततिर अत्यधिक झुकाव, कहिले चीनतिर असन्तुलित आकर्षण यो न कूटनीति हो, न राष्ट्रनीति । यो केवल सत्ताको अस्थायी सुरक्षा रणनीति हो ।
दिव्य उपदेशले नेपाललाई ‘चार जात छत्तीस वर्णको साझा फूलबारी’ भनेको थियो, अर्थात् समावेशी, सहिष्णु र एकीकृत राष्ट्र । तर आजको राजनीति पहिचानको नाममा विभाजनको व्यापार गर्दैछ । जात, भाषा, क्षेत्र र आस्थाका नाममा जनतालाई टुक्र्याएर मत जोड्ने प्रवृत्तिले राष्ट्रिय एकतालाई गहिरो चोट पुर्याएको छ । एकता राष्ट्रको शक्ति हो भन्ने चेतना कमजोर हुँदै गएको छ ।
राजाले विदेशी शक्तिलाई ‘देशभित्र जरो गाड्न नदिनु’ भनेका थिए । यी उपदेशहरू नेपालको पहिलो आत्मनिर्भर आर्थिक नीतिका मूल सूत्र हुन् । तर आज हाम्रो अर्थतन्त्र विदेशीसँग ऋण, अनुदान र निर्देशनमा चलेको देखिन्छ । नीति-निर्माणमा दातृ निकायको छायाँ, विकासमा ऋणको भारी र रोजगारीमा वैदेशिक पलायन यो अवस्था आत्मनिर्भर राष्ट्रको होइन, परनिर्भर राज्यको लक्षण हो । हामी युवाशक्ति निर्यात गरेर अर्थतन्त्र चलाउने देश बनेका छौं, उत्पादन गर्ने देश बन्न सकेनौं । आजको नेपाल वैदेशिक ऋण, अनुदान र रेमिट्यान्समा टिकेको छ । हामी उत्पादन गर्ने राष्ट्र होइन, श्रम निर्यात गर्ने राष्ट्र बनेका छौं । यो अवस्था दिव्य उपदेशको ठीक उल्टो दिशामा हो ।
आज फेरि एकपटक जोडका साथ भन्नैपर्छ- दिव्य उपदेश नेपालको पहिलो लिखित संविधान त पक्कै होइन, तर नेपालको पहिलो र सबैभन्दा गहिरो राष्ट्रवादी दस्तावेज अवश्य हो । यो केवल अतीतको सम्झना मात्र होइन, वर्तमान र भविष्यको लागि मार्गदर्शक सिद्धान्त हो ।
दिव्य उपदेशको ‘धर्म’ पूजा-पाठ मात्र होइन, न्याय, इमान र कर्तव्य हो । तर आज धर्मनिरपेक्षताको अभ्यास नैतिक शासनमा होइन, राजनीतिक शक्ति सन्तुलनमा सीमित हुँदै गएको देखिन्छ । धर्मनिरपेक्षता न्यायको ग्यारेन्टी हुनुपर्ने हो, तर अहिले त्यो धेरै हदसम्म राजनीतिक गणितको औजार बनिरहेको छ ।
‘राजा प्रजाको सेवक हो’ – दिव्य उपदेशको यो भावलाई आजका शासकहरूले आत्मसात् गर्न सकेनन् । आज नेता सेवक होइन, विशेषाधिकार प्राप्त वर्ग जस्तो देखिन्छ । जनताको मत सत्ता प्राप्तिको साधन मात्र बनेको छ, सत्ता सेवा गर्ने संस्कार बन्न सकेको छैन । निर्वाचनपछि जनता फेरि सत्ता संरचनाबाट टाढा धकेलिन्छन् ।
दिव्य उपदेश विलासिताको कठोर विरोध गर्छ- ‘दरबार विलासी भयो भने देश दरिद्र हुन्छ ।’
आज दरबार मात्र होइन, सिङ्गो सत्ता संरचना विलासिता र भ्रष्टाचारमा डुबेको देखिन्छ । नीति निर्माणमै भ्रष्टाचार, ठेक्कापट्टामा कमिसन, राज्य कोषको दुरुपयोग यी सबै मुलुकलाई आन्तरिक रूपमा कमजोर बनाइरहेका छन् । आज भ्रष्टाचार अपराधभन्दा बढी सत्ता संरचनाभित्र सुरक्षित संस्कार जस्तो बनेको छ ।
संघीयता शासनलाई जनताको नजिक पुर्याउने अवधारणा थियो । तर, हाम्रो संघीय अभ्यास खर्चिलो प्रशासन, दोहोरो संरचना र कमजोर सेवा प्रवाहमा अल्झिएको छ । अब प्रश्न उठ्छ संघीयता जनताको सेवाका लागि हो कि राजनीतिक कार्यकर्ताको व्यवस्थापनका लागि ?
आज नेपालको संकट संविधानका धारा वा शब्दमा होइन, राजनीतिक नेतृत्वको चरित्र र नैतिकताको गहिरो संकटमा छ । प्रणाली फेरियो, तर सोच फेरिएन, विलासिता र सत्ता-लिप्सा गएन । शासकीय स्वरूप बदलियो, तर शासनको आत्मा र इमान बदलिन सकेन । बाहिरी ढाँचा जति नयाँ बनाए पनि, भित्री प्रवृत्ति उही पुरानै रह्यो । सत्ता मेरो निजी सम्पत्ति हो भन्ने घमण्ड, जनता केवल भोट र तालीका लागि हुन् भन्ने अहंकार, र राष्ट्रभन्दा व्यक्तिगत स्वार्थ ठूलो हो भन्ने लोभ अझ बलियो भएर आयो ।
दिव्य उपदेश आज पनि पूर्ण रूपमा जीवित छ, कागजका पानामा होइन, त्यसको अमर दर्शनमा । सन्तुलित परराष्ट्र नीति, आत्मनिर्भर अर्थतन्त्र, नैतिक शासन, इमानदार नेतृत्व र अटूट राष्ट्रिय एकता । यी कुनै पुरातन विचार मात्र होइनन्, यो आजको आधुनिक र सबल राष्ट्रका आधारस्तम्भ हुन् । तर विडम्बना ! हामी आधुनिकताको चमकधमकमा लागेर आफ्नै मौलिक राष्ट्रदृष्टिलाई बिर्संदै, हराउँदै गएका छौं ।
यदि राजनीतिमा साँचो नैतिकता कायम भएको भए, नेपाल आज दक्षिण एसियाकै एउटा आदर्श राष्ट्र बनेर उभिन सक्थ्यो । दिव्य उपदेश राष्ट्र निर्माणको उच्च दर्शन थियो, तर आजको राजनीति सत्ता टिकाउने सामान्य अंकगणितमा सीमित बनेको छ । नेपालमा धेरै संविधान बने, तर राष्ट्रको दीर्घकालीन दृष्टिकोण एउटै मात्र बन्यो त्यो हो पृथ्वीनारायण शाहको दिव्य उपदेश ।
त्यसैले आज फेरि एकपटक जोडका साथ भन्नैपर्छ- दिव्य उपदेश नेपालको पहिलो लिखित संविधान त पक्कै होइन, तर नेपालको पहिलो र सबैभन्दा गहिरो राष्ट्रवादी दस्तावेज अवश्य हो । यो केवल अतीतको सम्झना मात्र होइन, वर्तमान र भविष्यको लागि मार्गदर्शक सिद्धान्त हो । यसलाई त्यसरी नै ग्रहण गर्न सक्यौं भने मात्र नेपालले विश्वको भीडमा आफ्नो मौलिक बाटो पहिचान गर्न सक्नेछ ।