मानव सभ्यताको विकासक्रममा राज्य सञ्चालनका अनेकौँ सिद्धान्त र तन्त्रहरू आए । राजतन्त्र, साम्यवाद, समाजवाददेखि आधुनिक लोकतन्त्रसम्म आइपुग्दा पनि विश्वले एउटा कुराको खोजी गरिरहेकै छ । त्यो हो पूर्ण सुशासन । आजका राज्यहरू भौतिक पूर्वाधार, सैन्य शक्ति र आर्थिक सूचकाङ्कमा त अगाडि छन्, तर मानवीय मूल्य, सामाजिक न्याय र आन्तरिक स्थिरताको कसीमा कतै न कतै चुकेका देखिन्छन् । यसको मूल कारण शासन व्यवस्थाका आधारभूत स्तम्भहरूबीचको असन्तुलन हो । प्राचीन वैदिक दर्शनले राज्यलाई जीवित राख्न चारवटा विशिष्ट सत्ताको परिकल्पना गरेको छ: राष्ट्रसत्ता, राजसत्ता, जनसत्ता र धर्मसत्ता । यी चार सत्ताको सन्तुलित संयोजन नै कुनै पनि देशको वास्तविक समृद्धिको ग्यारेन्टी हो ।

१. राष्ट्रसत्ता : सामूहिक चेतना र अपनत्वको जग

वैदिक दर्शन अनुसार राष्ट्र केवल भूगोलको सीमाभित्र कोरिएको एउटा नक्सा मात्र होइन । यो त त्यहाँ बसोबास गर्ने मानिसहरूको सामूहिक संकल्प, संस्कृति र साझा पहिचानको योग हो । राष्ट्रसत्ता भनेको देशको त्यो सर्वोच्च शक्ति हो, जसले नागरिकलाई एकताको सूत्रमा बाँध्छ । अथर्ववेदको पृथ्वी सूक्तले के भनेकाे छ भने यो भूमि हाम्रो माता हो र हामी यसका सन्तान हौं । त्यस्तै ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ जसको अर्थ ‘आमा र जन्मभूमि स्वर्गभन्दा पनि उच्च/महान् हुनुहुन्छ ।’

आधुनिक सन्दर्भमा, राष्ट्रसत्ता तब बलियो हुन्छ जब देशका प्रत्येक नागरिकले राज्यका स्रोत र साधनमा आफ्नो स्वामित्व महसुस गर्छन् । यदि राज्यले कुनै खास वर्ग वा समूहलाई मात्र काखा र अरूलाई पाखा लगाउँछ भने त्यहाँ राष्ट्रसत्ता कमजोर हुन्छ र विखण्डनको बिउ रोपिन्छ । राष्ट्रसत्ताले नागरिकलाई म यो देशको सम्मानित सदस्य हुँ भन्ने गौरव प्रदान गर्दछ । यो सत्ताले बाह्य हस्तक्षेपलाई अस्वीकार गर्दै आफ्नो निर्णय आफैँ गर्न सक्ने सार्वभौम सामर्थ्यको वकालत गर्छ ।

२. राजसत्ता : विधिको शासन र संयमित शक्ति

राजसत्ता भन्नाले राज्यको प्रशासनिक र कार्यकारिणी शक्तिलाई बुझाउँछ । प्राचीन कालमा राजालाई शासक भनिए पनि उनी शास्त्र र नीतिको अधिनमा हुन्थे । वैदिक मान्यता अनुसार राजसत्ता स्वेच्छाचारी हुन पाउँदैन । यसको मुख्य धर्म नै प्रजारञ्जन अर्थात् जनताको सुख र सुरक्षा हो ।

आजको लोकतान्त्रिक युगमा राजसत्ता भनेको सरकार, कर्मचारीतन्त्र र सुरक्षा निकाय हुन् । यदि राजसत्ता पारदर्शी, उत्तरदायी र न्यायपूर्ण भएन भने त्यो दमनको संयन्त्रमा परिणत हुन्छ । राजसत्ताले सधैँ सज्जन प्रणाली लाई प्रश्रय दिनुपर्छ । यसको अर्थ योग्यता (Meritocracy) को कदर हुनु र अपराधीलाई दण्डित गर्नु हो । जब राजनीतिले कानुनलाई आफ्नो खल्तीमा राख्न खोज्छ, तब राजसत्ताको पतन सुरु हुन्छ । त्यसैले, राजसत्ता सधैँ विधि र प्रक्रियाद्वारा नियन्त्रित हुनुपर्छ भन्ने वैदिक दर्शनको स्पष्ट मत छ ।

३. जनसत्ता : लोकतन्त्रको वास्तविक अर्थ

जनसत्ता भनेको जनताको सर्वोच्चता हो । वैदिक कालमा सभा र समिति जस्ता संस्थाहरू थिए, जहाँ समुदायका सदस्यहरूले राज्यका नीतिहरूबारे छलफल गर्थे । जनसत्ताले यो सुनिश्चित गर्छ कि शासन व्यवस्थामा जनताको आवाज मर्नु हुँदैन । विडम्बना, आधुनिक राजनीतिमा जनसत्तालाई केवल आवधिक निर्वाचन र भोट बैंकमा सीमित गरिएको छ । वास्तविक जनसत्ता त्यो हो, जहाँ नागरिक सचेत हुन्छन् र शासकलाई प्रश्न सोध्न सक्छन् । जनभावना विपरित चल्ने कुनै पनि राजसत्ता लामो समय टिक्न सक्दैन । जनसत्ताले नागरिक अधिकारको सुरक्षा र जनचाहना अनुसारको नीति निर्माणको माग गर्दछ । जब जनताले आफूलाई शासित मात्र नभएर राज्यको ‘निर्णायक’ ठान्न थाल्छन्, तब मात्र जनसत्ताले सार्थकता पाउँछ । यो सत्ताले राज्यलाई जनमुखी र समावेशी बनाउन निरन्तर दबाब दिइरहन्छ ।

४. धर्मसत्ता : न्याय र नैतिकताको लगाम

अहिलेको विश्वमा सबैभन्दा बढी बहस र विवादको विषय धर्मसत्ता बनेको छ । धेरैले यसलाई कुनै खास पूजापद्धति वा सम्प्रदायसँग जोडेर हेर्ने गर्छन्, जुन वैदिक दर्शनको मूल मर्म भन्दा फरक छ । वैदिक सन्दर्भमा धर्मसत्ता भनेको नैतिकता, कर्तव्य र न्यायको शक्ति (Ethical/Moral Power) हो ।

कुनै पनि शासन व्यवस्थालाई निरंकुश हुनबाट जोगाउने सबैभन्दा ठूलो अस्त्र धर्मसत्ता हो । राजसत्तासँग भौतिक शक्ति हुन्छ, तर धर्मसत्तासँग नैतिक बल हुन्छ । जसरी घोडालाई नियन्त्रण गर्न लगाम चाहिन्छ, त्यसरी नै राजसत्ता र जनसत्तालाई सही मार्गमा डोर्‍याउन धर्मसत्ता आवश्यक पर्छ । धर्मसत्ताले शासकलाई ‘मैले के गर्नु हुन्छ र के गर्नु हुँदैन’ भन्ने विवेक प्रदान गर्छ । यदि राजनीतिमा नैतिकता (धर्म) भएन भने त्यो केवल सत्ताको घृणित खेलमा परिणत हुन्छ । न्यायपालिका र नागरिक समाजलाई यसको आधुनिक स्वरूप मान्न सकिन्छ, जसले न्याय र अन्यायको यथार्थ निरूपण गर्दछ ।

चार सत्ताको सन्तुलन नै देशको समृद्धिको बाटो

हुन सक्छ- यी चार सत्ताहरू एक-अर्काका विरोधी होइनन्, बरु परिपूरक हुन् ।

राष्ट्रसत्ताले हामीलाई पहिचान दिन्छ । राजसत्ताले व्यवस्थापन गर्छ । जनसत्ताले ऊर्जा र वैधानिकता दिन्छ । धर्मसत्ताले नैतिकता र न्यायको बाटो देखाउँछ ।

आज नेपाल लगायत धेरै मुलुकहरूमा देखिएको अस्थिरताको जड यिनै सत्ताहरूबीचको द्वन्द्व हो । कतै राजसत्ताले जनसत्तालाई कुल्चिन खोजेको छ, त कतै धर्मसत्ता (नैतिकता) को पूर्ण अभाव देखिन्छ । जबसम्म राजनीतिमा नैतिकता फर्कँदैन, जबसम्म जनताको भावनाले राज्यको नीतिमा ठाउँ पाउँदैन र जबसम्म हरेक नागरिकले राष्ट्रप्रति अपनत्व महसुस गर्दैनन्, तबसम्म समृद्धिको सपना अधुरै रहन्छ ।

वैदिक दर्शनले दिएको यो चार सत्ता को सूत्र कुनै एउटा कालखण्डका लागि मात्र सीमित छैन, यो त सार्वकालिक र शाश्वत छ । २१औँ शताब्दीको जटिल राजनीतिलाई सही दिशा दिन यी प्राचीन आधारस्तम्भहरूलाई आधुनिक लोकतान्त्रिक मूल्यसँग जोडेर कार्यान्वयन गर्नु नै आजको आवश्यकता हो । जब यी चार खम्बाहरू बलिया र सन्तुलित हुन्छन्, तब मात्र राज्य साँच्चै कल्याणकारी बन्न सक्छ ।