नेपालको संविधानले स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा स्थापित गरेको छ । तर व्यवहारमा हेर्ने हो भने, स्वास्थ्य सेवा नागरिकको पहुँचभन्दा टाढा र एउटा महँगो वस्तु जस्तै बन्दै गएको छ । विशेषगरी निजी अस्पतालहरूको उदयसँगै गुणस्तरीय सेवाको अपेक्षा गरिए पनि, पछिल्ला समयमा देखिएका घटनाहरूले स्वास्थ्यक्षेत्र सेवाबाट विचलित भएर क्रुर व्यापारतर्फ मोडिएको संकेत गर्छन् । काठमाडौंको धुम्बाराहीस्थित हेम्स अस्पताल (HAMS Hospital) मा हालै घटेको एउटा घटनाले हाम्रो स्वास्थ्य प्रणाली कतिसम्म खोक्रो र गैरजिम्मेवार छ भन्ने कुराको नाङ्गो तस्विर प्रस्तुत गरेको छ ।

कुनै पनि बिरामी अस्पताल भर्ना भएपछि उसको शारीरिक अवस्था, बानीव्यहोरा र मेडिकल इतिहासको सही अभिलेख राख्नु चिकित्सक र अस्पतालको प्राथमिक कर्तव्य हो । तर, हेम्स अस्पतालमा एउटा यस्तो गम्भीर लापरबाही देखियो जसले जो-कोहीलाई स्तब्ध बनाउँछ । चुरोट र रक्सीको गन्धसम्म नसहने, जीवनभर यी चिजबाट टाढा रहेका एक बिरामीको डिस्चार्ज रिपोर्टमा अस्पतालले ‘दिनमा पाँच खिली चुरोट खाने’ र ‘कहिलेकाहीँ रक्सी सेवन गर्ने’ भनी उल्लेख गरिदियो ।

यति मात्र कहाँ हो र ? एकातिर डाक्टरले त्यही औषधि खान सल्लाह दिने, अनि अर्कोतिर त्यही औषधिलाई रिपोर्टमा एलर्जी'(Allergy) भनेर लेखिदिने कुराले अस्पतालभित्रको आन्तरिक समन्वयको अभाव र गैरजिम्मेवारीलाई छर्लङ्ग पार्छ।

यो केवल एउटा टाइपिङ मिस्टेक मात्र होइन । यो बिरामीको व्यक्तिगत पहिचान र स्वास्थ्य इतिहासमाथिको गम्भीर खेलबाड हो । मेडिकल विज्ञानमा बिरामीको हिस्ट्रीका आधारमा नै उपचारको विधि तय गरिन्छ । एउटा स्वस्थ जीवनशैली भएको व्यक्तिलाई दुर्व्यसनीको रूपमा चित्रित गर्नुले अस्पतालको काम गर्ने शैली कति हचुवा र गैरजिम्मेवार छ भन्ने देखाउँछ ।

यस्तो गलत रिपोर्टले बिरामीको जीवनमा के-कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरा सायद अस्पताल प्रशासनले मनन गरेको छैन । यसका केही प्रमुख जोखिमहरू यसप्रकार छन्-

भविष्यको उपचारमा जोखिम : यदि ती बिरामी भविष्यमा अर्को कुनै अस्पतालमा भर्ना भए र त्यहाँका डाक्टरले हेम्सको रिपोर्टलाई आधार माने भने, उनलाई दिइने औषधि र उपचार पद्धति गलत हुन सक्छ । धुम्रपान गर्ने व्यक्तिको फोक्सो र मुटुको अवस्थालाई हेर्ने दृष्टिकोण र नगर्नेलाई हेर्ने दृष्टिकोण फरक हुन्छ ।

बीमा दाबीमा अवरोध : नेपालमा स्वास्थ्य बीमाको प्रचलन बढ्दो छ। बीमा कम्पनीहरूले धुम्रपान वा मध्यपान गर्ने व्यक्तिको हकमा फरक प्रिमियम वा दाबी भुक्तानीमा कडाइ गर्ने गर्छन् । अस्पतालको एउटा गलत शब्दले बिरामीले भविष्यमा पाउनुपर्ने लाखौँको बीमा रकम रोकिन सक्छ।

कानुनी र सामाजिक प्रतिष्ठा : कतिपय सरकारी वा संवेदनशील जागिरहरूमा मेडिकल रिपोर्ट अनिवार्य हुन्छ । यस्तो गलत विवरणले व्यक्तिको चरित्र र सामाजिक प्रतिष्ठामा समेत आँच पुर्‍याउँछ ।

गल्ती हुनु मानवीय स्वभाव हुन सक्छ, तर गल्ती थाहा पाएपछि त्यसलाई सच्याउनु र क्षमायाचना गर्नु नैतिकता हो । यस घटनामा जब बिरामीका आफन्तले प्रश्न उठाए, अस्पताल प्रशासनले देखाएको मौनता र उदासीनता झन् बढी आपत्तिजनक छ । अस्पतालले तुरुन्तै गल्ती स्वीकार गरी संशोधित रिपोर्ट दिनुपर्नेमा चुपचाप बस्नुले यो संकेत गर्छ कि उनीहरूका लागि बिरामीको भावना र सत्यताको कुनै मूल्य छैन । यो मौनताले के प्रमाणित गर्छ भने, अस्पतालहरू केवल कागज मिलाउन र बिल काट्न मात्र व्यस्त छन्, बिरामीको वास्तविक स्वास्थ्य अवस्थासँग उनीहरूलाई कुनै सरोकार छैन ।

हेम्स अस्पताल मात्र होइन, नेपालका धेरै निजी अस्पतालहरूमा यस्ता समस्याहरू व्याप्त छन् । अनावश्यक प्रयोगशाला परीक्षण (Lab Tests), कमिसनका आधारमा औषधि सिफारिस र बिरामीलाई अनावश्यक रूपमा आइसियु (ICU) मा राख्ने जस्ता गुनासाहरू बारम्बार आउने गर्छन् । स्वास्थ्य क्षेत्रमा एउटा यस्तो अदृश्य माफिया तन्त्र हाबी भएको छ, जसले बिरामीलाई उपभोक्ता र उसको रोगलाई नाफाको अवसरको रूपमा मात्र हेर्ने गर्छ ।

नियमनकारी निकाय, जस्तै- स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलको फितलो अनुगमनले गर्दा यस्ता अस्पतालहरूको मनोबल बढेको हो । गल्ती गर्ने अस्पताललाई कडा कारबाही नहुनु र राजनीतिक संरक्षण पाउनुले गर्दा सर्वसाधारण नागरिक मारमा परिरहेका छन् ।

यस्ता घटनामा बिरामी र तिनका आफन्तले चुप लागेर बस्नु हुँदैन । उपभोक्ता संरक्षण ऐन र मेडिकल नेग्लिजेन्स सम्बन्धी कानुनअनुसार यस्ता लापरबाही विरुद्ध कानुनी उपचार खोज्न सकिन्छ । अस्पतालले गरेको गल्तीको क्षतिपूर्ति र सम्बन्धित कर्मचारीलाई कारबाहीको माग गर्दै उजुरी गर्ने परिपाटी बसाल्नुपर्छ । बिरामीले डिस्चार्ज हुँदा आफ्नो रिपोर्टका प्रत्येक बुँदा ध्यानपूर्वक पढ्नुपर्ने अवस्था सिर्जना भएको छ । यो विडम्बना हो कि, हामी उपचारका लागि डाक्टरकोमा जान्छौँ तर उसैले लेखेको कुरामा विश्वास गर्न नसक्ने वातावरण बनेको छ ।

स्वास्थ्य सेवा विश्वासको जगमा उभिएको हुन्छ । जब एउटा प्रतिष्ठित भनिएको अस्पतालले बिरामीको सामान्य विवरण पनि सही लेख्न सक्दैन भने, उसले गर्ने जटिल शल्यक्रिया वा उपचारमा कसरी विश्वास गर्ने ? हेम्स अस्पतालको यो प्रतिनिधि उदाहरणले सम्पूर्ण स्वास्थ्य प्रणालीको शुद्धीकरणको माग गरेको छ ।

अस्पतालहरूले नाफा कमाउनु अपराध होइन, तर नाफाका लागि नैतिकता र बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्नु अक्षम्य अपराध हो । सरकारले निजी अस्पतालहरूको गुणस्तर र सेवा शुल्कमा कडा मापदण्ड लागू गर्नुपर्छ । साथै, लापरवाही गर्ने अस्पतालहरूको इजाजतपत्र खारेज गर्ने सम्मको साहस देखाउनुपर्छ । यदि आज हामीले यो बेथितिको विरुद्ध आवाज उठाएनौँ भने, भोलि हामीमध्ये जो कोही पनि यस्तै लापरबाहीको सिकार हुन सक्छौँ । स्वास्थ्य सेवा लुटको माध्यम होइन, जीवन बचाउने पवित्र थलो बन्नुपर्छ ।