दीपक राज जोशी

नेपाली राजनीतिको सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी नेपाली कांग्रेस अहिले एक जटिल मोडमा उभिएको छ। पटक–पटकका राजनीतिक आन्दोलनको नेतृत्व गरेको यो पार्टी पछिल्लो समय वैचारिक शून्यता र संगठनात्मक शिथिलताको सिकार बनेको छ। यस्तो अवस्थामा गगन थापाजस्ता युवा नेताले पार्टीको बागडोर सम्हाल्नु भनेको केवल एउटा पदको प्राप्ति मात्र होइन, बरु एउटा जीर्ण बनेको संस्थालाई पुनर्जीवित गर्ने ऐतिहासिक जिम्मेवारी

पनि हो। कांग्रेसलाई हाँक्नु अब केवल भाषण र नाराको विषय रहेन, यो त शुद्ध संगठन, असीमित धैर्य र साहसिक निर्णयको कडी बनेको छ।

कांग्रेसभित्रको सबैभन्दा ठूलो रोग गुटबन्दी हो। सभापति पदमा निर्वाचित भइसकेपछि पहिलो चुनौती भनेकै आफ्नो समूहबाट माथि उठेर सिङ्गो पार्टीको नेता बन्नु हो। गगन थापाको हकमा, उनलाई युवा पुस्ताको समर्थन त छ, तर पार्टीभित्रको एउटा ठूलो संस्थापन पक्ष उनीप्रति सशंकित रहने देखिन्छ।

नयाँ सभापतिले विशेष महाधिवेशनमा उपस्थित नभएको पक्षलाई पनि सम्मानजनक स्थान र जिम्मेवारी दिएर उनीहरूको विश्वास जित्नुपर्छ। म बाट सुरु भएको राजनीतिलाई हामीमा बदल्न सके मात्र कार्यकर्ता तहमा हराएको ऊर्जा फर्किन सक्छ। यदि नेतृत्वले प्रतिशोधको राजनीति गर्यो भने, पार्टी झनै छिन्नभिन्न हुने र आगामी आम निर्वाचनमा यसको सिधै असर पर्ने निश्चित छ।

कांग्रेसको वर्तमान संगठनात्मक संरचना अझै पनि पञ्चायतकालीन वा २०४६ सालपछिको ह्याङओभरबाट मुक्त हुन सकेको छैन। गाउँदेखि केन्द्रसम्मका समितिहरू अक्सर निष्क्रिय छन्। नयाँ सभापतिको काँधमा यी संरचनालाई चलायमान बनाउने भार त्यत्तिकै छ।

अब कांग्रेसमा नेताको नजिक भएको आधारमा होइन, बरु जनताको नजिक भएको र काम गरेको आधारमा पदोन्नति हुने पद्धति बसाल्नुपर्छ। २१ औँ शताब्दीको राजनीति तथ्याङ्क र प्रविधिमा आधारित हुन्छ। डिजिटल सदस्यता, अनलाइन लेबी र जनताका समस्याहरूको डिजिटल रेकर्डिङ जस्ता कुराहरू कांग्रेसले अब ढिला नगरी आत्मसाथ गर्नुपर्छ। पार्टीमा वैचारिक प्रशिक्षणको खडेरी छ। कार्यकर्तालाई बीपीको समाजवाद र आजको खुला बजार बीचको सम्बन्ध बुझाउनु नयाँ नेतृत्वको प्राथमिक काम हुनुपर्छ।

आजको आम प्रश्न के हो भने, के कांग्रेस अरू भन्दा कसरी फरक छ ? कम्युनिष्टहरूसँगको निरन्तर सहकार्य र एउटै खालको कार्यशैलीले गर्दा कांग्रेसको मौलिक पहिचान धमिलिएको छ। नयाँ सभापतिले कांग्रेसलाई वैचारिक रूपमा पुनः परिभाषित गर्नुपर्नेछ।

बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादलाई सन् २०२६ को विश्व परिवेश र नेपालको आवश्यकता अनुसार व्याख्या गरिनुपर्छ। स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा राज्यको बलियो उपस्थिति तर उद्यमशीलतामा उदारता यही नै कांग्रेसको बाटो हुनुपर्छ। सरकारमा जाँदा सत्ताको स्वादमा भुलेर सिद्धान्त बिर्सने पुरानो प्रवृत्तिलाई त्याग्दै, सुशासनलाई पहिलो सर्त बनाउनु नै नयाँ नेतृत्वको अग्निपरीक्षा हुनेछ।

गगन थापाको नेतृत्व आउनुको अर्थ पुराना नेताहरूको अपमान हुनु होइन। तर, दशकौँदेखि पार्टी जकड्याएर बसेका र नयाँ विचारलाई निषेध गर्ने संस्कारलाई चुनौती दिनु अनिवार्य छ। अनुभवको कदर गर्दै उनीहरूलाई मार्गदर्शक को भूमिकामा राख्ने र कार्यकारी भूमिकामा युवाहरूलाई ल्याउने कलामा नयाँ सभापति निपुण हुनुपर्छ। पुराना नेताहरूसँगको सम्बन्ध व्यवस्थापन गगनका लागि सबैभन्दा कठिन एकेडेमिक कोर्स जस्तै हुनेछ। उनीहरूको संशयलाई सम्बोधन गर्दै सुधारका एजेन्डामा उनीहरूलाई पनि सहमत गराउन सक्नु नै उनको सफलताको मानक बन्नेछ।

नेपालको राजनीतिमा कांग्रेस सधैँ एउटा स्थिर शक्तिको रूपमा चिनिन्छ। नयाँ सभापतिको रूपमा गगन थापाले छिमेकी राष्ट्रहरू र अन्तर्राष्ट्रिय समुदायसँग सन्तुलित र राष्ट्रिय स्वार्थमा आधारित सम्बन्ध कायम राख्नुपर्नेछ। उग्र राष्ट्रवाद र आत्मसमर्पणवाद दुवैबाट जोगिएर परिपक्व कुटनीति प्रदर्शन गर्नु उनको जिम्मेवारी हुनेछ। साथै, संसदमा कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउनु र सरकारका जनविरोधी निर्णयहरूमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु नयाँ नेतृत्वको तत्कालीन कार्यभार हो। जनताले सडकमा र संसदमा आफ्नो आवाज खोजिरहेका छन्, र त्यो आवाज कांग्रेस बन्न सक्नुपर्छ।

नेपाली कांग्रेसको इतिहास गौरवपूर्ण भए तापनि आफ्ना शिखर पुरुषहरू गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता त्यागी व्यक्तित्वहरूलाई अपमानित गरी बाहिरिन बाध्य पारिएका घटनाहरू पार्टीका लागि सधैँ आत्मग्लानिका विषय बनेका छन्। इतिहास ठ्याक्कै नदोहोरिए पनि त्यसको प्रवृत्ति फेरि देखिन सक्ने जोखिमलाई आत्मसात गर्दै नयाँ नेतृत्वले विगतका यी कलङ्कित अध्यायहरूबाट गम्भीर पाठ सिक्नु अपरिहार्य छ।

गगन थापा जस्ता नयाँ सभापतिले पार्टीलाई पुनर्जीवित गर्दा व्यक्तिगत वा गुटगत पूर्वाग्रहभन्दा माथि उठेर काखा र पाखा गर्ने पुरानो संस्कारलाई पूर्णतः अन्त्य गर्दै सबैलाई समेट्ने निष्पक्ष अभिभावकत्व प्रदान गर्नुपर्छ। नयाँ पुस्ताको गति र ऊर्जालाई अगाडि बढाउँदै गर्दा पुराना र निष्ठावान् नेताहरूको अनुभवलाई अपमानित हुन नदिई एउटा सन्तुलित फ्युजन तयार गर्नु नै उनको असली परीक्षा हुनेछ। पार्टीभित्र अवसरको वितरण न्यायोचित हुनुपर्ने र केवल गुटको झण्डा बोक्नेले मात्र नभई निष्ठाको राजनीति गर्नेले पनि उचित स्थान पाउने वातावरण बनेमा मात्र कांग्रेसले आफ्नो गुमेको नैतिक धरातल पुनः प्राप्त गर्नेछ। अन्ततः, यदि नयाँ नेतृत्वले विगतका ऐतिहासिक घाउहरूलाई मलम लगाउँदै न्यायपूर्ण र समावेशी पद्धति बसाल्न सक्यो भने मात्र कांग्रेस फेरि देशको वास्तविक भरोसाको केन्द्र बन्नेछ, अन्यथा इतिहासको त्यो दुखद पुरानो भाकाले पार्टीलाई फेरि अस्थिरता र कमजोरीको भुमरीमा धकेल्ने निश्चित छ।

गगन थापाका लागि कांग्रेसको सभापति बन्नु भनेको एउटा ठूलो अवसर हो, तर यो उत्तिकै ठूलो जोखिम पनि हो। मानिसहरूको अपेक्षा यति धेरै छ कि थोरै मात्र चुक्दा पनि उनी माथिको ठूलो जनविश्वास बालुवाको घर जस्तै भत्कन सक्छ। लोकप्रियता क्षणिक हुन्छ, तर पद्धति निर्माणले मात्र इतिहास रच्छ।

यदि उनले भावनालाई संगठनमा, नारालाई ठोस नीतिमा र आशालाई परिणाममा बदल्न सके भने, नेपाली कांग्रेस फेरि एकपटक देशको निर्विकल्प भरोसाको केन्द्र बन्नेछ। इतिहासले उनलाई यो सुनौलो मौका दिएको छ। अब प्रश्न केवल यति हो, के उनी आफूलाई केवल एउटा लोकप्रिय नेताबाट राजनेतामा रूपान्तरण गर्न तयार छन् ? नेपाली जनता र कांग्रेसका लाखौँ कार्यकर्ताहरू यही उत्तरको प्रतीक्षामा छन्।