दीपक राज जोशी
राजनीतिमा विचारहरू बाझिनु स्वाभाविक मात्र होइन, यो लोकतन्त्रको प्राण पनि हो। म स्वयं महामन्त्री गगन थापाका सबै दृष्टिकोणसँग सहमत छैन र भविष्यमा पनि वैचारिक मत भिन्नता रहन सक्छ। तर, आज नेपाली कांग्रेस जुन मोडमा उभिएको छ, यहाँ प्रश्न कुनै व्यक्तिको समर्थन वा विरोधको होइन। प्रश्न त ८० वर्ष लामो ऐतिहासिक विरासत बोकेको यो पार्टीको आन्तरिक लोकतन्त्र बाँच्छ कि मर्दैछ भन्ने हो।
कुनै पनि देशको लोकतन्त्र राजनीतिक दलहरूको जगमा उभिएको हुन्छ। यदि त्यो जग पार्टी भित्रै लोकतन्त्र छैन भने, त्यसले निर्माण गर्ने राज्यको संरचना कहिल्यै पनि पूर्ण लोकतान्त्रिक हुन सक्दैन। जब पार्टीभित्र चुनाव, बहस र विचारको कदर हुँदैन, तब त्यसले देश चलाउँदा पनि त्यही हुकुमी शैली र सर्वसत्तावाद बोकेर आउँछ।
नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठन मात्र होइन। यो पार्टी राणा शासनविरुद्धको संघर्ष, पंचायतकालीन दमन, राजतन्त्रविरुद्धको आन्दोलन र गणतन्त्र स्थापनासम्म आइपुग्दा लोकतन्त्रको प्रतीक बनेको संस्था हो। यस्तो पार्टीले आज आफ्नै विधान, प्रक्रिया र आन्तरिक बहसलाई कमजोर बनाउँदै जानु केवल दुर्भाग्य मात्र होइन, आत्मघाती पनि हो। आज पार्टीभित्र एउटा खतरनाक धारणा मौन रूपमा स्थापित हुँदैछ। अधिवेशन भयो भने अस्थिरता बढ्छ,समय ठीक छैन, अहिले नेतृत्व परिवर्तनको बहस आवश्यक छैन।
तर इतिहास साक्षी छ, लोकतन्त्र कहिल्यै उपयुक्त समय कुर्दैन। लोकतन्त्र अभ्यासबाट बलियो हुन्छ, स्थगनबाट होइन। भोलि पार्टीको चुनावमा को उठ्छ, को जित्छ, त्यो निर्णायक विषय होइन। नतिजा के आउँछ भन्ने पनि मुख्य कुरा होइन। हार–जीत त लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक हिस्सा हो। तर प्रक्रिया नै बन्द भयो भने, न हारको अर्थ रहन्छ, न जीतको।
विशेष अधिवेशनको माग कुनै गुटको एजेन्डा होइन। यो कसैलाई हटाउने वा कसैलाई स्थापित गर्ने षड्यन्त्र पनि होइन। यो पार्टीलाई सही दिशामा लैजाने प्रयास हो। नेपाली कांग्रेसको शक्ति व्यक्तिमा होइन, संस्थागत प्रक्रियामा निहित छ। । आज कांग्रेस कमजोर देखिएको कारण बाह्य शत्रु होइनन्। कारण हो, आन्तरिक बहसको अभाव, निर्णय प्रक्रियाको केन्द्रीकरण र कार्यकर्ताको आवाजप्रति बढ्दो उदासीनता। यदि यही क्रम चलिरह्यो भने, कांग्रेस इतिहासमा सबैभन्दा धेरै उद्धृत तर सबैभन्दा कम अभ्यास गरिएको पार्टी बन्ने खतरा छ।
विशेष अधिवेशनले सबै समस्या समाधान गर्छ भन्ने भ्रम मसँग पनि छैन। तर यसले कम्तीमा पार्टीभित्र प्रश्न सोध्ने, बहस गर्ने र असहमति व्यक्त गर्ने ढोका त खोल्छ। र लोकतन्त्रको सुरुवात त्यहीँबाट हुन्छ जहाँ प्रश्नहरु छन् आज विशेष अधिवेशन माग्नु विद्रोह होइन। यो निष्ठाको अभिव्यक्ति हो। यो पार्टी प्रतिको चिन्ता हो र सबैभन्दा महत्त्वपूर्ण कुरा यो कांग्रेसलाई फेरि कांग्रेस जस्तै बनाउने प्रयास हो।
विशेष महाधिवेशन कुनै सामान्य घटना नभई पार्टी संकटमा फसेका बेला प्रयोग गरिने एउटा निर्णायक लोकतान्त्रिक अस्त्र हो। वर्तमानमा नेपाली कांग्रेस जुन संगठनात्मक र वैचारिक शिथिलताबाट गुज्रिरहेको छ, त्यसको निकास केवल नियमित प्रक्रियाबाट सम्भव देखिँदैन। विशेषगरी जेन–जी (Gen Z) को बढ्दो राजनीतिक चेतना र स्थापित दलहरूंप्रतिको वितृष्णालाई सम्बोधन गर्न कांग्रेसको वर्तमान यथास्थितिवादी चरित्र बाधक बनेको छ। पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई अस्थिरताको नाममा बन्धक बनाउँदा कांग्रेस इतिहासकै कमजोर मोडमा पुगेको छ। त्यसैले, विशेष महाधिवेशन अब कुनै गुटको माग मात्र रहेन, बरु यो पार्टीलाई समयको गतिसँगै सान्दर्भिक बनाइराख्ने अन्तिम प्रयत्न हो।
आज विशेष अधिवेशनको माग गर्नु विद्रोह होइन, बरु पार्टीप्रतिको अगाध निष्ठा र चिन्ता हो। यो कांग्रेसलाई पुनः कांग्रेस जस्तै बनाउने एउटा पवित्र प्रयत्न हो। नेतृत्व त आउँछन्, जान्छन्, पात्रहरू बदलिन्छन्। तर यदि पद्धति नै मासियो भने पार्टी केवल नामको एउटा क्लबमा परिणत हुनेछ।
Leave A Comment