दीपकराज जोशीदीपकराज जोशी

दल र दलबाट राजनीति गर्नेलाई सल्लाह र सुझाव दिनुपर्ने व्यक्ति र दबाब समूह नै दलाल छन्, हाम्रो समाजमा । राजनीतिक दलहरू स्वाभाविकरूपमा राष्ट्रिय हुन्छन् र यसका सदस्यहरू समाज, राष्ट्र र राज्यको राजनीतिक हितको पक्षमा लड्ने र रक्षा गर्ने साझा इच्छा तथा आदर्शको आधारमा स्वैच्छाले देश नागरिकहरूको समूहले गठन गर्दछन्।

जहिले पनि सरकार सीमित अविभाज्य (एलिट) को हातबाट जनतामा पुर्‍याउनु पर्छ भनिन्छ, तर जब प्रत्येक व्यवस्था परिवर्तन हुन्छन्, तब नागरिक सरकारमा पुग्छन् र उनीहरू सम्भ्रान्त समूहमा परिवर्तित हुन्छन्। अनि फेरि सरकार जनताको हातमा जानुपर्छ, अर्को छलफल शुरू हुन्छ । यसरी देश दुष्चक्रमा फसी नै रहन्छ।
हामीकहाँ राजनीतिक विसंगति यतिसम्म बढिसक्यो कि डाक्टरले हड्ताल गरेर बिरामी नहेर्ने, वकिलले मुद्दा नलड्ने, न्यायाधीश बेञ्चमा नबस्ने, शिक्षकले विद्यार्थी नपढाउने, ट्याक्सी र बसले यात्रु नबोक्ने ! आज यो अवस्थामा देश पुग्नु भनेको राजनीतिको चरम दुरुपयोग नै हो। यति मात्र कहाँ हो र, धर्मलाई अफिम भन्नेले नै धर्मप्रचार गर्ने धार्मिक च्यानलको उद्घाटन गर्न पछि पर्दैनन्।

अस्ति भर्खर मात्र ‘हुम्ला उड्नै लागेको सीता एयरको जहाज तीनवटा बँदेलसँग ठोक्कियो, उडान रद्द’ भनेर बजार तात्यो । बाँच्नु मात्र पर्छ, धेरै कुरा देख्न र सुन्न पाइन्छ भन्थे बुढापाकाले, हो रहेछ। नेपालगञ्च एयरपोर्टमा झाडी बढेर जंगल भएकाले बँदेल बास बस्न थालेछ। यता निजगढमा भने बँदेल बस्ने जङ्गल मासेर एयरपोर्ट बनाइँदैछ। नेपालगञ्ज एयरपोर्टलाई राष्ट्रिय निकुञ्ज बनाउने हो कि ? राष्ट्रिय निकुञ्ज बनाउने ठाउँ मासेर एयरपोर्ट बनाउने हो? यो विषय अन्योलमा छ।

हुन त हाम्रोमा काटेर फाइदा हुने काम मात्र गरिन्छ। जनयुद्धको नाममा सर्वसाधारणका टाउको काट्दा सत्तामा जान पाइने, खोलानाला काट्दा गिट्टी बालुवा निकाल्न पाइने, डाँडाकाँडा काट्दा प्लटिङ गर्न पाइने, पार्टीको आफ्ने मान्छेको बेस्सरी कुरा काट्दा मन्त्री बन्न पाइने। अनि त्यो नेपालगञ्ज एयरपोर्टको झाडी काटेर कसलाई के फाइदा ? होइन त ?

त्यति मात्र नभएर अस्ति रामदेव बाबा आउँदा कुनै ठूलै देशको राष्ट्र प्रमुखलाई दिनेभन्दा बढी सम्मान दिइयो । हुन त सम्मान गर्नु हाम्रो संस्कृति हो, तर चाहिनेभन्दा बढी सम्मान सम्मान नभएर गुलामी हो ।

राजा प्रताप मल्लको पालामा अर्थात् (वि.सं. १६९८–१७३१)मा शुरु भएको दक्षिण एसियाकै ठूलो आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानालाई टाट पल्टाएर रामदेवको पतञ्जलीलाई विना लगानी जग्गा दिन लाग्दा पनि नसुने झैँ गरी वडा र प्रदेशको चुनावमा मस्त छौं हामी नेपाली। वि.सं. २०४७ सालदेखि अहिलेसम्म ४९ वटा कलकारखाना कौडीको भाउमा बेचिए। भएका कलकारखाना बन्द गरी देशलाई परनिर्भरतातर्फ धकेल्ने षड्यन्त्र भएको वर्षौँ भएको छ।

भारत र चीन मात्र नभएर विश्वका धेरै देशसँग निर्भर हुन बाध्य बनाउँदै नेपालीहरूलाई वैदेशिक रोजगारीका नाममा होस् या अध्ययनका निम्ति होस्, परनिर्भर बन्न बाध्य बनाइएको वर्षौं बितेको छ। देशमा प्रजातन्त्र आएपछि प्रजाहरू राजाको हैसियत बाँच्न पाउँछन् भन्ने भ्रम पनि बेच्नु बेचियो। तर कस्तो दुर्भाग्य! बीपी र महेन्द्रले बनाएको उद्योग प्रजातन्त्र आएपछि निजीकरणको नाममा किनिए, बेचिए र पनि, यसबारे कोही बोल्दैनन्। बोलिहाले पनि निजी स्वार्थ पूरा गरुञ्जेलसम्मका लागि मात्रै हो। जसरी हाम्रा नेताहरूले देशलाई सिंगापुर र स्विट्जरल्यान्ड बनाउने नारा बेचिरहेका छन्।

राज्यव्यवस्था र सरकारको तौरतरिका हेर्दा त यसो भन्न मन लाग्छ– ‘सरकार म पनि बेचिन तयार छु, मलाई पनि बेचिदेऊ !’ किनकी आफ्नै बेचिने पालो नआइञ्जेलसम्म हाम्रो पुस्ता टिकटकमा नै मस्त रहन्छ। अब एकदिन हामी आफैँ र आफ्नै सन्ततिलाई पनि हाम्रै भोटले सत्तामा पुगेका नकावधारीहरूले खुल्ला बिक्री वितरण गर्नेछन्। तब मात्रै तपाईँ हाम्रो घैंटोमा घाम लाग्नेछ।

विना जागिर, विना व्यापार ५ आना जग्गा नभएकाहरूले ५ रोपनी जग्गा जोड्न सफल भए। हिजो स्कूटर चढ्ने हैसियत नराख्नेहरू करोडौँको गाडीमा हुइँकने भएका छन्।

देशमा प्रजातन्त्र आएपछि झन्डै ७७७८ नेपाली विदेशिन बाध्य भए भने ती विदेशिएका नेपालीहरूको झन्डै ८ सय शव बाकसमा फर्क्यो। यता देश विकास र समृद्धिको नाममा राजनीति गर्नेहरूले पटक-पटक देश र जनतालाई लुटी नै रहे। हाम्रो लोकतन्त्रमा ३१ वर्षको राजनैतिक प्रयोगले कुनै बेला चप्पल पड्काएर काठमाडौं छिर्नेहरूलाई सम्पन्न बनायो भने देशका लागि केही गर्नुपर्छ, भन्नेलाई बिदेसिन बाध्य बनायो ।

देश र जनताको पक्षमा काम गर्छौं भन्ने आश्वासन दिने कुनै पनि पार्टी आफ्नो विचार र सिद्धान्तमा हिँडेको देखिँदैन । जनतालाई विस्तारै कार्यकर्ता, झोले हुँदै दलाल बनाइँदैछ । यहाँ त यतिसम्म छ कि समाजमा सामाजिक हैसियत बनाउन पनि दलाल बन्नुपर्छ। शासकको पूजा र शासितको शोषण वर्षौंदेखि हुँदै आएको छ र पनि हामी रमिता हेर्न बाध्य छौं। यस्तो कहिले सम्म ? र, केका लागि ?

हुन त वैकल्पिक राजनीति गरेर देशलाई अगाडि लानुपर्छ भन्दै ठूला कुरा गर्नेको जमात पनि ठूलै छ। प्रत्येक पार्टी र सरकार त्यो भन्दा अगाडिको सरकार र पार्टीको वैकल्पिक पार्टी नभएको होइन । कांग्रेस राणाको, पञ्चायत कांग्रेसको, कम्युनिस्ट कांग्रेसको, त्यसपछि माओवादी अहिले आएर विवेकशील साझा पार्टी लगायतका थुप्रै पार्टीहरू ।

आज देशमा दलालका पनि पदक्रम छन्। स्वदेशी, विदेशी, स्थानीय, फरक-फरक रकमको कारोबारका लागि फरक-फरक दलाल छन् । विकासको काम विकासका लागि नभएर आफ्नो मान्छेलाई ठेक्का दिलाउनका लागि मात्र हुन्छ।

राम्रो काम गरेर राम्रो बन्ने कि राम्रो भएर राम्रो काम गर्ने ? फरक काम गरेर फरक बन्ने कि फरक हुँ भनेर फरक काम गर्न शुरू गर्ने ? १ लाखको फोन लिएर जूम, क्लब हाउस, फेसबूकमा कुर्लेर फोन नै किन्न नसक्नेको आधारभूत आवश्यकता पूर्ति हुँदैन। चिन्तन समाजवादको होइन दालभातको हुनुपर्छ ।

अहिलेको समयमा दर्शनले होइन प्रदर्शन (काम) मात्र विकास सम्भव छ ।बेलाबेलामा हक र अधिकारका लागि आन्दोलन नभएको होइन, तर जनताले एउटा कुरा बुझ्न सकेनन्। अधिकार माग्नेहरू कहिल्यै स्वतन्त्र हुँदैनन् । जोसँग अधिकार मागिन्छ, त्योसँग परतन्त्र बनी नै रहने छ ।

नेपाली कांग्रेस राष्ट्रियता, प्रजातन्त्र, समाजवादबाट एकता, सहकार्य र सहमति हुँदै अहिले सत्ता, सम्पत्ति र सम्भोगमा लिप्त छ। धर्मको नाममा राजनीति गर्नेहरूको पनि कमी छैन । शास्त्रलाई शस्त्र बनाएर लड्ने पनि धेरै नै छन् । शास्त्र जीवनको विकास गर्छ भने शस्त्र जीवनको विनाश । अब तपाईं नै भन्नु शस्त्रको आधारमा चालेको हाम्रो राजनीतिले विनाश गरेको छ कि विकास ?

विना लगानी सबैभन्दा छिटो पैसा कमाउने व्यापार राजनीति भएको छ । फरक यत्ति हो, यो राजनीति भन्ने व्यापारमा मेरो देश ग्राहक बनेको छ। एउटा डाँकुलाई बन्दुक दिनुहोस्, उसले बैंक लुट्नु छ, तर एउटा नेतालाई सत्ता दिनुहोस्, उसले देश नै लुटिदिन्छ ।

देशलाई समृद्ध बनाउँछु भन्दै नेपालका सबै राजनैतिक दलहरू एक आपसमा मिलेर पालैपालो सरकार चलाइरहे । मानव अधिकारवादीहरू कुर्ली नै रहे । अभियन्ताहरू ले जुलुस निकाल्दै रहे, तर समृद्धि कहीँ कतै देखिएन।

हरेक वर्ष नेपाली टाउकोमा ऋण थपिँदै गयो। अब त यस्तो लाग्छ कि म यो देशको नागरिक होइन, ऋणमा डुबेको दास हुँ। दासत्वबाट उम्कने बाटोदेखि नै रहेको छैन । मर्नुभन्दा अगाडि देव ऋण, ऋषि ऋण र पितृ ऋण त तिरेर जाउँला, तर सरकारले लगाएको ऋण तिर्न भने सक्ने स्थिति छैन ।

समस्या राजनीतिमा होइन राजनीति गर्नेहरूमा छ । हाम्रो समाजमा राजनीतिज्ञ भन्नेहरूले राजनीतिलाई शक्ति, सम्पत्ति प्राप्त गर्न र अरूको विरुद्ध प्रयोग गर्दै आएका छन् ।

४o हजारको जागिरेले ३ करोडको घर १ करोडको गाडी, छोराछोरीलाई महिनाको ८० हजार फी तिर्नुपर्ने महंगा स्कूल र उनीहरूको जीवनशैली रह्यो भने यो देशमा प्रत्येक नेपालीको भागमा ५१ हजार ऋण कसरी भयो होला भनेर तपाईं आफैं अचम्म पर्नुहुन्छ ।

भन्सारमा काम गर्ने कर्मचारी, करमा काम गर्ने कर्मचारी, मालपोतमा काम गर्ने कर्मचारी, वनमा काम गर्ने कर्मचारीहरूको हैसियत र जीवनस्तर स्कूल कलेज पढाउने शिक्षकको जीवनस्तर हेर्नुहोस्। समाजको आर्थिक पाटो आफै छर्लङ्ग हुन्छ। राजनीति गर्नेबाहेक कर्मचारी (पुलिस, आर्मी)हरूको जीवनशैली हेर्नु भयो भने बुझ्न नसक्ने छ ।

वर्षौंवर्षसम्म नेपाली नागरिकले नेताको आँखामा आकाशगंगा देख्दा तिनीहरूले नागरिकको आँखामा तारा देख्न नसक्दा पनि हामी निन्द्राबाट बिउँझिन सकेनौं । एक दिन यस्तो आउनेछ कि तिनै खराब पात्रहरूले राजनीति गर्ने पार्टी नरहला तर हामी चुप लागेर बसिरह्यो भने यो नेपाल भन्ने देश नै रहने छैन। भाषण गरेर शासन गर्दै रासन कुम्ल्याउने भ्रमजीवीहरूको माझमा काम गरेर थोरै भएपनि पैसा कमाएर माम खाने श्रमजीवीहरूलाई बस्नलायक समाज बनाउन आजैबाट जुट्नुहोस्।

भनिन्छ, बौद्धिक गल्तीले असफलता निम्त्याउँछ; नैतिक गल्तीले चिन्ता ल्याउँछ र आध्यात्मिक गल्तीले डर निम्त्याउँछ। हाम्रो समाजमा आज जता हेरे पनि यी तीनै गल्ती दोहारिरहेको पाइन्छ ।

अब ढिला हुन लागिसक्यो। आजै जुट्नु भएन भने हाम्रा भावी सन्ततिले हामीलाई धिक्कार्ने छन् । तपाईं अहिले जहाँ उभिनुभएको छ, त्यहाँ राजनैतिक विचार, आदर्श, मूल्य मान्यता र अनुशासनको अन्त्य भएको छ। यस्तो लाग्छ, राजनीति र वेश्यावृत्ति यी दुई यस्ता पेशा हुन्, जसलाई अघिल्लो अनुभवको आवश्यकता पर्दैन । यौन वेश्यावृत्ति, यौन बेचबिखनको कार्य हो भने राजनीतिक वेश्यावृत्तिले जनताको आशा, इच्छा र आकाङ्क्षा बेच्दछ ।

हाम्रो देशमा जनताले उज्ज्वल भविष्यका लागि हरेकपटक मतदान गर्छन्, तर त्यो मतपत्रले हामीलाई अन्धकारमा बाँच्न बाध्य बनाई नै रहन्छ । ​​जब भ्रष्ट, बेइमान र अपराधी किसिमका मनुष्यहरूको हातमा जनशक्ति र धनशक्ति बढ्छ, तब देश र संसारमा हिंसा, अपराध, भय, आतंकवाद, अन्याय, शोषण चरमसीमामा पुग्दछ र अन्त्यमा विनाश हुन्छ। जब श्रेष्ठ मानिसहरूको हातमा जनशक्ति र धनशक्ति पुग्नेछ तब सेवा, सद्भावना, भाइचारा र प्रेम बढ्नेछ ।

राष्ट्रवाद, अध्यात्मवाद र मानवतावादलाई बल मिल्नेछ। राष्ट्रमा विकास र समृद्धि आउँनेछ । त्यसैले अब transactional leaders होइन transformational leaders लाई छान्ने कोशिश गरौं ।

आज देशमा दलालका पनि पदक्रम छन्। स्वदेशी, विदेशी, स्थानीय, फरक-फरक रकमको कारोबारका लागि फरक-फरक दलाल छन् । विकासको काम विकासका लागि नभएर आफ्नो मान्छेलाई ठेक्का दिलाउनका लागि मात्र हुन्छ। त्यसले गर्दा आज देशमा थुप्रै बन्न नसकेका बाटा, पुल र थुप्रै संरचनाहरू छन्। बनाइसकेका संरचनाको पनि क्वालिटी छैन ।

आज विना दलाल दल नचल्ने स्थितिमा पुगेको छ। जब दलमा दलाल हावी हुन्छ, तब समाज दलदलमा नफस्ने कुरै आउँदैन ।

 

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…