काठमाडौं । नेपालभित्र र बाहिर बसोबास गर्ने नेपाली नव-सम्भ्रान्तहरूको बानी र व्यवहार विचित्रको छ । उनीहरू सार्वजनिक यातायातलाई घृणा गर्छन् । र, सदैव ठूलो गाडी किन्ने सपना देख्छन् । हाम्रो सार्वजनिक यातायात खराब छ भनेर सामाजिक सञ्जालमार्फत् गुनासो गर्न पनि पछि पर्दैनन् । तिनै व्यक्तिहरु अरु सर्वसाधारण मानिसहरूले सार्वजनिक यातायात प्रयोग गरून् भन्ने चाहना राख्छन् । ताकि तिनीहरूले खुला सडकहरूमा आनन्दले ड्राइभिङ गर्न सकून् । जो तीन हजार डलरको डीएसएलआर लिएर सडक बालबालिका, वृद्ध महिला, साधु, स्थानीय चिया पसल, अव्यवस्थित ट्राफिकको तस्बिर खिचेर समाजिक सञ्जालमा पोस्ट गर्न रुचाउँछ न्।

यतिसम्म पनि गर्छन् कि ४ लाख मूल्य बराबरको घडी लगाएर त्यही हातले २० रुपैयाँको चाउचाउ बाँडेर आफूलाई समाजसेवी देखाउने होड मच्चाउँछन् । आईओएसको र एन्ड्रोइड दुवै प्लेटफर्मको महँगो र नवीनतम २ वटा स्मार्टफोन बोकेर फोन हरायो, फोन नम्बर पठाउनु भनेर क्लाउड प्रणालीको धज्जी उडाउनेहरुको भिडले भरिएको यस सामाजिक वर्गले अन्डरवेयर र सफ्टवेयरमा खासै भिन्नता देख्दैन ।

कहिले उनीहरू आफूलाई जनावरप्रेमी हौँ भन्दै रोइलो गर्न भ्याउँछन् । जबकि घरमा पालेको कुकुरलाई बजारबाट मासु किनेर खुवाउँछन् । हरेक दिन उनीहरुको डाइनिङ टेबलमा कुखुरा, माछा र खसीको मासु भएन भने उनीहरुलाई खाना रुच्दैन । मलाई शंका यो मानेमा लाग्छ कि यी जनावर प्रेमी हुन् या मासु प्रेमी ?
तामसिक सोचबाट ग्रसित भएर सात्विक समाजको मजाक बनाउन पछि नपर्ने यो वर्ग, तीन छाक मासु खाएर, महँगो रक्सी पिएर योग, प्राणायाम र आध्यात्मिकताबारे गफ चुट्न पनि भ्याएकै हुन्छन् ।

फेरि उनीहरुमा बेलाबेला चरम देशभक्तिको भावना आउँछ । गर्वले दौरा सुरुवाल र भादगाउँले टोपी,निधारमा टीका, रुद्राक्षको माला ढल्काएर आफूलाई फरक ढंगले प्रस्तुत गर्छन् । अझ अच्चम त तब हुन्छ जब उनीहरु नै समाज रुपान्तरण गर्नुपर्छ भनेर सबै राजनीतिक पार्टीको नजिक पुग्न सफल भई फाइदा लिइरहेका हुन्छ्न् ।जर्जियो अर्मानीको कोट, रोलेक्स वा बल्गेरीको घडी अनि इटालियन भ्यालेन्टिनो वा ए तेस्तोनीको जुत्ता, बर्बेरीको चस्मा, लुइस भिटनको ब्याग, सुमुखको अत्तर, बलमेन र ब्रुनेलो कुच्नेलीका कपडामा अभ्यस्त भएका उनीहरूलाई दौरा सुरावल र ढाका टोपी कुनै समय सबैभन्दा मन नपर्ने पोसाक हुन्थ्यो । तर जब देखावा गर्ने बेला आउँछ, उनीहरुमा एक्कासि उर्लेर आउँछ देशभक्ति । मानौँ यो वर्षायामको खहरे हो ।

उनीहरुलाई यो थाहा हुँदैन कि तिनले एक गिलास महँगो रक्सी पिउँदै गर्दा कति गाउँमा एक गिलास जीवन जल पिउन नपाएर मान्छे मरिरहन्छन् ? महँगा रक्सी, आइफोन, ठूला कर्व टीबी, गरगहना, महँगा गाडी, महँगा लत्ताकपडाको परिपूर्तिलाई विकसित भएको ठहर लगाउने समाजमा उनीहरुलाई पनि ज्वरो आउँदा खाने सिटामोल, झाडा पखाला लाग्दा पिउने जीवन जल नपाउनेको बारेमा सोच्ने फुर्सद पनि कहाँ बाट होस् ?आज आएर हाम्रो समाजको वास्तविक समस्या भनेको राजनीतिक र अति शिक्षित अभिजात वर्गको अक्षमता र पागलपन हो । बुद्धिजीवीहरू सामान्यतः अहंकारी हुन्छन् । उनीहरू आफूलाई धेरै नै महत्त्व दिन्छन् । उनीहरूलाई लाग्छ उनीहरूभन्दा विद्वान अरु कोही र केही छैन । शिक्षित हुनु भनेको अहंकारी हुनु होइन भन्ने कुरा यिनले कहिले बुझ्ने ?

महँगो विद्यालय र विश्वविद्यालयले मान्छेको व्यावहारिक पाटो सल्टाउन सक्छ या सक्दैन भन्ने कुराको बहस गर्नै नपर्ने गरी यिनको व्यवहारमा छर्लङ्ग देखिन्छ। त्रिकोण, चारकोण, पाँचकोण भएभरका सबै कोण पढे पनि जिन्दगीमा आफ्नो समाज र देशलाई काम लाग्ने दृष्टिकोण यिनको पढाइमा नअटेको कुराको प्रमाण स्वयं यिनीहरुको व्यवहार हो। यस्ता नवसम्भ्रान्तहरू आजकाल बजारमा धेरै नै भेटिन्छन् । कतै तपाईं पनि नवसम्भ्रान्त त होइन ?यो पढ्दै गर्दा थोरै भए पनि रिस उठ्यो वा चित्त दुख्यो भने सम्झनू, तपाईं पनि केही हदसम्म नवसम्भ्रान्त बन्ने बाटोमा हुनुहुन्छ ।

(दीपकराज जोशीको प्रकाशोन्मुख पुस्तक ‘नेपालमा नवसम्भ्रान्तको उदय’बाट ।)