■ दीपकराज जोशी

सामान्य स्थितिमा ‘प्रजातान्त्रिक गणतन्त्र’को राज्यको रूप त्यागेर राजसंस्थालाई पुनःस्थापित गर्ने नेपाल विश्वको पहिलो देश छिट्टै बन्दैछ भन्यो भने तपाईंलाई अचम्म लाग्न सक्छ । संवैधानिक राजतन्त्र नेपालका लागि गणतन्त्रभन्दा उत्तम राजनीतिक समाधान हुन सक्छ भन्ने कुरामा नेपाली जनताहरू विस्तारै विश्वस्त हुन थालेका छन् । राजसंस्थाको पुनःस्थापना नेपालमा नजिक आइरहेको आभास चौतर्फी भइरहेको छ । हामी सामान्य गणतान्त्रिक सुस्तताबाट उठ्नुपर्ने बेला आएको छ जुन विगत २२ वर्षदेखि फरक राजनीतिक प्रयोगबाट आएको थियो जसले हाम्रो देशलाई विकसित र समृद्ध नबनाएर बेरोजगार, भष्ट्राचार कमिसनखोर, महँगी, अन्याय, अत्याचारभन्दा अरू बढी केही दिएन ।

एक आक्रोशित महँगो प्रणालीले हाम्रो जस्तो चिचिलो समाजका लागि सही दिशा दिन किमार्थ सक्दैन । सफल राष्ट्र निर्माण भनेको राष्ट्रका नागरिकहरूबीच राष्ट्रिय भावना जागृत भई एकताको सूत्रमा आवद्ध गराउँदै समाजलाई अगाडि बढाउनु हो । जब देशमा भएको व्यवस्थाले देशको इज्जत, मान, प्रतिष्ठा, जनताको इज्जत मान प्रतिष्ठा र संवेदनशीलता महसुस नगरी फगत पार्टीका लागि मात्र काम गर्छ भने त्यस्तो प्रणाली देशका लागि राम्रो हुनै सक्दैन ।

आज देशमा साझेदारी, प्रक्रिया, उद्देश्य, समस्या समाधान केवल पार्टीको र कार्यकर्ताको भलाइको लागि गरिएको छ । साधारण जनताको कुनै अस्तित्व छैन । शक्तिको दुरुपयोग र पैसाको लोभले समाजलाई अगाडि लैजान सक्दैन, तथापि भइरहेको छ त्यही । जुन तरिकाले समाज अगाडि बढिरहेको छ त्यसलाई हेर्ने हो भने हामी प्रजातान्त्रिक अभ्यास नभई सामाजिक डार्विनवादको अभ्यास गरिरहेका छौँ । अब हाम्रो देशको लागि राष्ट्रिय एकताको ग्यारेन्टरका रूपमा कसैको आवश्यकता छ र त्यो आवश्यकता भनेको संवैधानिक राजतन्त्र नै हो ।

संसदीय शासन प्रणालीमा आधारित संवैधानिक प्रणालीको हिस्सामा आधारित आधुनिक संवैधानिक राजतन्त्रमा कुनै खराबी छ जस्तो लाग्दैन । जसमा राजाको केवल औपचारिक भूमिका हुन्छ । स्वतन्त्रता र प्रजातन्त्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष पहिचान र मर्यादा हो । जब हामीले राजतन्त्रको अन्त्य गर्‍यौँ, हामीले हाम्रो पहिचान र मर्यादा गुमायौँ र त्यसबेलादेखि हामीले स्वतन्त्रताका साथै साँचो प्रजातन्त्रिक अभ्यास गर्न सकेनौँ । हामीसँग अहिले जुन व्यवस्था छ त्यो गणतन्त्र होइन । यो हामीलाई चिट्ठामा आइपरेको अभिसाप हो । अरू कसैले थमाइदिएको व्यवस्था हो । यतिबेला जुन व्यवस्थामा हामी बाँच्न कोसिस गरिरहेका छौँ त्यस व्यवस्थाले हामीलाई नागरिकको रूपमा व्यवहार गर्दैन ।

अब खर्चका बारेमा कुरा गरौँ । पछिल्ला १० वर्षको तथ्याङ्क हेर्ने हो भने गणतन्त्रले राष्ट्रपति र उपराष्ट्रपतिका लागि १० अर्ब भन्दा बढी खर्च गर्‍यो तर २५० वर्ष चलेको राजतन्त्रले ९ करोड मात्र खर्च गर्‍यो । प्रत्येक चार वर्षमा राष्ट्रपति चुनिन्छ । एउटा राजाले कम्तिमा ३० वर्ष राजा हुँदा हामीलाई ७ राष्ट्रपति, ७ वटा उपराष्ट्रपति पाल्नुपर्ने हुन्छ । त्यति मात्र होइन ७ वटा राष्ट्रपति र उपराष्ट्रपतिका परिवारले गर्ने दुरुपयोग पनि झेल्नुपर्ने हुन्छ । २०१८–१९ मा नेपालको संघीय बजेट ८४५ बिलियन रुपैयाँ आवर्ती खर्च र ३१४.२८ रुपैया पूँजीगत खर्च विनियोजन भएको थियो । दोस्रो संघीय बजेट २०१९–२० मा ९५७ बिलियन रुपैयाँ आवर्ती खर्च र ४०८ बिलियन रुपैयाँ पूँजीगत खर्च थियो । जुन तरिकाको संघीय बजेट छ त्यसले आर्थिक जोखिम दर्शाउँछ । सात वटा प्रदेश र त्यसको खर्च नेपालले धान्न सक्ने स्थतिमा छैन । देश बचाउन र बनाउनको लागि अब नेपालमा तीन वटा मात्र प्रदेश बनाएर संघीय संवैधानिक राजतन्त्रमा प्रवेश गर्नु भन्दा अरु कुनै उपाय छैन जस्तो लाग्छ ।

जब क्षमताहीनहरूले राजनीति गर्छन् तब त्यस समाजमा थुप्रै समस्याहरू देखा पर्छन् । अदालतले न्याय दिँदैन, पुलिसले संरक्षण गर्दैन । राजनीतिसँग जोडिएका सामाजिक र सांस्कृतिक विभेदहरू दिन-प्रतिदिन गहिरिँदै जान्छन् । समृद्धि र सुशासन नारामा मात्र सीमित हुन्छन् । नेपालको दुर्दशा यस्तै छ यतिबेला ।

प्रजातन्त्र हुँदै गणतन्त्रमा आइपुग्दा नेपालमा जनता बिस्तारै हराउँदै गए र ‘कार्यकर्ता’ बढ्दै गए । जनताले समाज र देशका लागि सोच्दछन् भने कार्यकर्ताले केवल आफ्नो पार्टीका लागि मात्र सोच्छ । आजकलका राष्ट्रपतिज्यूको तामझाम गाडीका लामालस्कर हेर्दा, पहिले देशमा एक राजा थिए, अहिले हजारौँ राजा भएको भान हुन्छ ! ती हजारौँ राजाले देश र जनताका लागि सोच्ने नभएर केवल पार्टी र कार्यकर्ताको भलोको लागि मात्र सोच्ने परमपरा बसिसकेको छ ।

अब राष्ट्र बचाउने हो भने सबै नेपालीको एकता अपरिहार्य छ । एकता पार्टीले होइन राजतन्त्रले मात्र दिन्छ । त्यसकारण, नेपाली जनताहरू राजाले राष्ट्रपतिभन्दा बढी देशको छवि दिन्छन् भन्ने कुरामा विश्वस्त छन् । रोगी देशका लागि राजतन्त्र औषधी हुन्छ जस्तो लाग्छ । राजतन्त्रले पहिचानको बहुलता र निरन्तरताभित्र निरन्तर नवीकरणको प्रतिनिधित्व गर्दछ । राजतन्त्र एक उत्तम प्रणाली नहुन सक्छ, तर यो नेपालजस्तो देशका लागि सबैभन्दा राम्रो हो । जुन तरिकाले गतिशील छ, यो प्रमाणित भएको छ कि नेपालमा राजतन्त्र गणतन्त्र भन्दा बढी प्रजातान्त्रिक थियो !

हाम्रो जस्तो चिन्तित समाजलाई गणतन्त्रजस्तो उत्तेजित प्रणालीले निकास दिन सक्दैन । नेपालको गणतन्त्र महँगो, गाह्रो, ढिलो, अस्थिर, विरोधाभाषपूर्ण र निराशाजनक भएको छ । हामी डेमोक्रेटबिनाको डेमोक्रेसी अभ्यास गरिरहेका छौँ । समाजमा बिस्तारै लोकतान्त्रिक जराहरू कमजोर पारिँदै छ । आफ्नै जनतालाई नियन्त्रण गर्न निर्धारित कार्यहरू गरिँदै छ । आन्तरिक रूपमा आफ्ना गुटलाई एकजुट र बलियो बनाउन आफूभन्दा बाहिरकालाई दुश्मन सम्झनुस आफ्नो फाइदाका लागि नियम कानुन हेरफेर गर्नुस् सरकारले मिडिया र आफ्नै नागरिकलाई नियन्त्रण गर्न खोज्नुस आफ्ना मुख्य विरोधीहरूलाई अलग्याउने प्रयास गर्नु जस्ता कार्यहरूलाई गणतन्त्रको उपज मान्न सकिँदैन ।

एक छाक खाना, छत, रोजगारी र सामाजिक परिप्रेक्ष्यबिनाको गणतन्त्र जनताका लागि छलकपट गर्ने औजार मात्रै हो । मबिना तपाईंले मेरो लागि गर्नुभएको सबै कुरा मेरोविरुद्ध हुनेछ भन्ने आभास भएसम्म यो देशमा कुनै पनि तन्त्र सफल हुने छैन । जनताहरू यस्तो निष्कर्षमा पुगेका छन् कि राजतन्त्र लोकतन्त्रभन्दा राम्रो थियो । कमसेकम एउटा राजाले राज्य गरेको थियो । आज जस्तो सयौँ राजाको लावालस्कर त थिएन । संसारमा नेपालले जति लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका देशहरू कमै होलान् । तीस वर्षमा पच्चिस ओटा सरकारहरू, पटक-पटक लोकतन्त्रका लागि लडाइँ, जनयुद्ध सबै नेपालले ब्यहोरिसक्यो । अझै पनि नेपालमा लोकतन्त्र संस्थागत हुन सकेको छैन ।

जब क्षमताहीनहरूले राजनीति गर्छन् तब त्यस समाजमा थुप्रै समस्याहरू देखा पर्छन् । अदालतले न्याय दिँदैन, पुलिसले संरक्षण गर्दैन । राजनीतिसँग जोडिएका सामाजिक र सांस्कृतिक विभेदहरू दिन–प्रतिदिन गहिरिँदै जान्छन् । समृद्धि र सुशासन नारामा मात्र सीमित हुन्छन् । नेपालको दुर्दशा यस्तै छ यतिबेला । राजनीतिकर्मीहरू समाजका विचारकर्ता, प्रारम्भकर्ता, परेको बेला आलोचक, समाजका सेवक र समाधानप्रदायक हुनुपर्ने हो तर यहाँ राजनीतिकर्मीहरू केवल निजी स्वार्थका कैदीबाहेक अरू केही हुन सकेका छैनन् । एक वर्षअगाडि पङ्क्तिकारले ‘राजतन्त्र या गणतन्त्र ?’ भन्ने आलेख प्रकाशित गरेको थियो । त्यसबेला मेरा दुई-चार जना साथीले ‘यस्तो होला र ?’ भनेका थिए । नेपालमा हुन नसक्ने कुरा केही रहेन विकास र समृद्धि बाहेक । नेपालीको जीवनस्तर उठाउनको लागि नेपालीलाई नै ढाल्न बन्दुक उठाउनु पर्छ भन्ने मान्यता राख्नेहरूको भीडमा जे पनि सम्भव छ । इतिहास पल्टाएर हेर्ने हो भने विभिन्न देशमा राजतन्त्र जनताले फालेका छन् र प्रजातन्त्र बन्दुकले फालिएको छ । तर हाम्रो देशमा अब प्रजातन्त्र बन्दुकले होइन जनताले नै फाल्दै छन् जस्तो आभास हुन्छ ।

हिजो हाम्रो समाजको प्रत्येक घरमा राजाविरोधि व्यक्ति थिए ! आज त्यही घर–घरबाट राजसंस्था फालिएको गल्ती महसुस गर्ने जनताहरू दिन-प्रतिदिन बढ्दै छन् ! यसको एउटै कारण छ– गणतन्त्रबाट पिल्सिएका जनता देशको अखण्डता, एकता एवं सार्वभौम स्वतन्त्रतामाथि आँच नपुगोस् भन्ने चाहन्छन् । नेपालको राष्ट्रियता, राजतन्त्र र प्रजातन्त्रको बीचमा समन्वय र सन्तुलन गरेर अगाडि बढ्न राजसंस्था आउनुपर्छ भनेर जनमत बढ्नु भनेको कथित गणतन्त्रप्रतिको वितृष्णा हो । राजतन्त्र नेपालको मेरुदण्ड हो र विदेशी लगानीमा विदेशी स्वार्थपूर्ति गर्न संवैधानिक राजतन्त्र फाली गणतन्त्र भित्र्याइएको कुरा सम्पूर्ण जनताले बुझ्न थालेका छन् ।

इतिहास पल्टाएर हेर्ने हो भने विभिन्न देशमा राजतन्त्र जनताले फालेका छन् र प्रजातन्त्र बन्दुकले फालिएको छ । तर हाम्रो देशमा अब प्रजातन्त्र बन्दुकले होइन जनताले नै फाल्दै छन् जस्तो आभास हुन्छ ।

राजा जहिले पनि राजनीतिभन्दा माथि हुन्छन् । राजाले पार्टीको नभएर सबै जनताको प्रतिनिधित्व गर्छन् । राजाले गृहयुद्ध हुनबाट देशलाई बचाउन सक्छन् । राजाले राष्ट्रिय सङ्कटमा पार्टीको फाइदाभन्दा माथि उठेर देशका निम्ति महत्त्वपूर्ण निर्णय लिन सक्छन् । यस्तो निर्णयले राजनीतिमा अतिवादको उदय हुनबाट रोक्न सक्छन् । राजाले देशको पहिचान, मूल्य-मान्यता र ऐतिहासिक पृष्ठभूमिको प्रतिनिधित्व गर्छन् । राजतन्त्रले गुट र पार्टी राजनीतिमा लिप्त भएको हाम्रो समाज र देशको पहिचान, मूल्यमान्यता र ऐतिहासिक पृष्ठभूमिको प्रतिनिधित्व गर्छन् ।

नेपाली जनताले राजा फालेको होइन फेरेका रहेछन् । यो देशमा तन्त्र गयो तर तुजुक गएन । सामन्तीपन पदमा हो कि पद्धतिमा हो त्यसको लेखाजोखा गर्नुपर्ने बेला आएको छ । जो भइरहेको छ त्यसले राजतन्त्रको समाप्ति भएसँगै राजा-महाराजाको ठाउँमा धेरै राजा महाराजा जन्मिएको प्रस्ट देखाउँछ । शासन फेरियो तर नियति फेरिएन । पात्र फेरियो तर प्रवृत्ति फेरिएन । एक्काइसौँ शताब्दीको गणतन्त्रमा सेरेमोनियल राष्ट्रपतिको रवाफ कतै कुनै राजा वा राणा शासकको जस्तो देखिएन र जनताहरू यस्तो निष्कर्षमा पुगेका छन् कि राजतन्त्र लोकतन्त्रभन्दा राम्रो थियो । कमसेकम एउटा राजाले राज्य गरेको थियो । आज जस्तो सैयौँ राजाको लावालस्कर त थिएन ।

संसारमा नेपालले जति लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका देशहरू कमै होलान् । तिस वर्षमा पच्चिस ओटा सरकारहरू, पटक-पटक लोकतन्त्रका लागि लडाइँ, जनयुद्ध सबै नेपालले ब्यहोरिसक्यो । अझै पनि नेपालमा लोकतन्त्र संस्थागत हुन सकेको छैन । देखाउनका लागि हात्ती पाल्ने कि दुध खानका लागि गाई पाल्ने ? सोच्नुपर्ने बेला आएको छ । मियो बिनाको दाइँ हुँदैन । देश रहे त जनता रहन्छ, नेपाल रहे त नेपालीपन रहन्छ त्यसैले नेपाललाई मियो चाहिएको छ त्यो मियो भनेको राजसंस्था हो भन्ने कुरामा कार्यकर्ता होइन नेपालका जनता विश्वस्त छन् ।

पङ्क्तिकार प्रजातन्त्रमा विश्वास राख्ने व्यक्ति हो । हिजो जुन राजतन्त्रलाई हामीले खराब भन्थ्यौँ अहिले आएर गणतन्त्र त्यसभन्दा हजार गुणा खराब देखिएको छ । म र मजस्ता थुप्रै जनता संवैधानिक राजसंस्था स्वीकार गर्न आतुर छौँ । तसर्थ, जनताले अब एकचोटि फेरि निर्णय लिनुपर्ने बेला आएको छ । पञ्चायती व्यवस्थाजस्तो निरङ्कुश व्यवस्थाले पनि जनमत सङ्ग्रह गर्ने व्यवस्था मिलाएको थियो । के हामी संवैधानिक राजसंस्था नेपालका लागि उपयुक्त प्रणाली हो कि होइन भनेर जनमत सङ्ग्रह गर्न सक्दैनौँ ? हामी जहिले पनि सही निर्णय लिन सक्दैनौँ, तर हामीले लिएका निर्णयहरूलाई समयसापेक्ष सच्याउन भने आवश्यक भइसकेको छ ।