नेपालको परराष्ट्र नीति: तरुल होइन, पिङको रणनीति
नेपाल र दुई महाशक्तिको हजारौं वर्षको सम्बन्ध — इतिहास, कूटनीति र सफ्ट पावरको त्रिकोण
दीपकराज जोशी
हिमालयको काखमा अवस्थित नेपाल विश्वका दुई उदीयमान शक्तिहरू, भारत र चीन, बीचको सन्धिरेखामा टिकेको एक सार्वभौम राष्ट्र हो। यस्तो भौगोलिक स्थिति कहिले चुनौतीका रूपमा देखिन्छ, कहिले अवसरका रूपमा। तर यसलाई अवसरमा रूपान्तरण गर्ने क्षमता नै नेपालको कूटनीतिक दक्षताको मूल परीक्षा हो। अन्तर्राष्ट्रिय सम्बन्धमा शक्ति केवल सैन्य बल वा आर्थिक क्षमतामा मात्र सीमित हुँदैन। अरूको व्यवहार र निर्णयलाई प्रभाव पारेर आफ्नो अनुकूल परिणाम हासिल गर्ने क्षमतालाई पनि शक्ति भनिन्छ। यस अर्थमा नेपालसँग न बुलेट पावर छ, न वालेट पावर; तर हामीसँग सफ्ट पावर अर्थात् सद्भावना, सांस्कृतिक गहिराइ र हजारौँ वर्ष पुरानो साझा सभ्यताको सम्पदा एक महत्वपूर्ण कूटनीतिक सम्पत्ति रूपमा विद्यमान छ। राजनीतिशास्त्री जोसेफ न्येले प्रस्तुत गरेको सफ्ट पावर अवधारणाले आजका साना तथा मध्यम राष्ट्रहरूलाई प्रभाव विस्तार गर्ने वैकल्पिक मार्ग दिएको छ। भाषा, संस्कृति, प्राकृतिक सम्पदा, वास्तुकला, गौतम बुद्धको शान्ति–दर्शन र सगरमाथाको प्रतीकात्मक गौरव यी सबै नेपालका प्रभावशाली सफ्ट पावर स्रोत हुन्, जसलाई योजनाबद्ध रूपमा प्रयोग गर्न सके नेपालले आफ्नो अन्तर्राष्ट्रिय उपस्थितिलाई अझ सशक्त र सम्मानजनक बनाउन सक्छ।

नेपाल, भारत र चीनको सम्बन्ध आधुनिक राजनीतिभन्दा कैयौं शताब्दी पुरानो छ। यो सम्बन्ध कूटनीतिक सन्धिहरूभन्दा पहिले व्यापार, संस्कृति, धर्म र वैवाहिक सम्बन्धबाट बाँधिएको थियो। इतिहासको पन्नाहरूमा यी तीन भूखण्डहरू कहिल्यै पूर्णतः अलग थिएनन्।

यो ऐतिहासिक परिप्रेक्ष्यले के देखाउँछ भने नेपालले शुरूदेखि नै कूटनीतिक सम्बन्धमा सद्भावना र मित्रभावलाई आधार बनाएको छ। हाम्रो परराष्ट्र नीति जन्मदेखि नै सफ्ट पावर मा आधारित रही आएको छ।
भृकुटी र सीता — इतिहासका पहिलो कूटनीतिज्ञ
आधुनिक कूटनीतिक भाषामा सांस्कृतिक राजदूत भनिने भूमिका नेपालका दुई ऐतिहासिक महिलाहरूले प्रागैतिहासिक कालमै निर्वाह गरेका थिए।

यी दुई ऐतिहासिक विवाहहरू केवल पारिवारिक सम्बन्ध मात्र थिएनन्; यिनीहरूले राजनीतिक, धार्मिक र सांस्कृतिक सम्बन्धका आधारशिला निर्माण गरेका थिए। आजका कूटनीतिज्ञहरूले यी ऐतिहासिक विरासतहरूलाई पुनर्जीवित गर्दै आफ्नो परराष्ट्र नीतिको महत्वपूर्ण आधारका रूपमा उपयोग गर्न सक्छन्।
तरुल होइन, पिङ बन्नुपर्छ
भारत र चीनबीच अवस्थित नेपाललाई प्रायः बफर स्टेट वा दुई ढुंगाबीचको तरुल भनेर चित्रण गर्ने गरिएको छ। तर यस्तो रूपकले नेपालको भू–राजनीतिक यथार्थलाई केवल संकुचित र निष्क्रिय भूमिकामा सीमित गरिदिन्छ, जसले यसको सम्भावना र कूटनीतिक क्षमतालाई पूर्ण रूपमा उजागर गर्दैन।
वास्तवमा नेपाल केवल दबिएको भौगोलिक स्थान होइन, बरु दुई ठूला अर्थतन्त्र र सभ्यताबीचको सम्भावित सेतु होजहाँ व्यापार, ऊर्जा, पर्यटन, संस्कृति र रणनीतिक संवादलाई जोड्ने महत्वपूर्ण भूमिका खेल्न सकिन्छ। उचित नीति, संस्थागत क्षमता र स्पष्ट दृष्टिकोणका साथ नेपालले बफर होइन, ब्रिज स्टेट वा कनेक्टिभिटी हब को रूपमा आफ्नो स्थान पुनर्परिभाषित गर्न सक्छ।

नेपाललाई यही पिङको भूमिकामा उभ्याउन सकिन्छ जहाँ भारत र चीन दुवैसँगको सम्बन्ध सन्तुलित, सक्रिय र दीर्घदृष्टियुक्त हुन्छ। यी दुवै शक्ति नेपालका लागि अपरिहार्य खम्बा हुन्; कुनै एकतर्फ अत्यधिक ढल्किनु वा अर्कोलाई उपेक्षा गर्नु राष्ट्रिय हितका दृष्टिले जोखिमपूर्ण हुन्छ।
इतिहासमा नेपालको परराष्ट्र व्यवहार कहिले भारत–केन्द्रित, कहिले चीन–केन्द्रित झुकावतर्फ दोलन गरेको देखिन्छ, जसले स्थिर र संस्थागत रणनीतिक दिशा निर्माणमा कमजोरी देखाएको संकेत गर्छ। यस्तो दोलनलाई पार गर्दै अब नेपालले स्पष्ट र परिपक्व वैदेशिक नीति अवलम्बन गर्नु आवश्यक छ।
रणनीतिक स्वायत्तता (Strategic Autonomy) नै दीर्घकालीन समाधान होजहाँ नेपालले आफ्ना निर्णयहरू बाह्य दबाबभन्दा आफ्नै राष्ट्रिय हित, भौगोलिक यथार्थ र विकास आवश्यकताका आधारमा तय गर्छ। दुवै छिमेकीसँग मैत्रीपूर्ण, सहकार्यपूर्ण र सम्मानजनक सम्बन्ध राख्दै, कुनैसँग पनि शत्रुतापूर्ण वा एकपक्षीय निर्भरता नबढाउने नीति नै आजको समयको व्यावहारिक र दूरदर्शी मार्ग हो।
भारत-चीन प्रतिस्पर्धाको नेपालमा प्रभाव

देवभूमि नेपाल — विश्वको ज्ञानभण्डार

महर्षि वाल्मीकि, पाणिनी, वेदव्यास, कपिल र जैमिनी जस्ता ऋषि परम्पराले दक्षिण एशियाली सभ्यताको दार्शनिक र सांस्कृतिक आधार निर्माण गरेको मानिन्छ। यी ज्ञान–परम्पराहरू आज पनि क्षेत्रीय दर्शन, भाषा, व्याकरण, नीति र आध्यात्मिक चिन्तनमा गहिरो प्रभाव राख्छन्।
यही साझा सांस्कृतिक र बौद्धिक विरासतलाई आधार बनाएर नेपालले सांस्कृतिक कूटनीति लाई आफ्नो परराष्ट्र नीतिको केन्द्रमा स्थापित गर्न सक्छ। लुम्बिनी, जनकपुर, तिलौराकोट जस्ता ऐतिहासिक–आध्यात्मिक स्थलहरूलाई अन्तर्राष्ट्रिय संवाद, शान्ति र सभ्यता आदान–प्रदानको माध्यम बनाउँदै नेपालले शक्ति–राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर सभ्यताको पुल को रूपमा आफ्नो विशिष्ट पहिचान निर्माण गर्न सक्छ।
नेपालको रणनीतिक दृष्टिकोण
नेपालको परराष्ट्र नीतिले तीन अन्तरसम्बन्धित आयामलाई सन्तुलित रूपमा एकसाथ सम्हाल्नुपर्ने हुन्छ।पहिलो, भारतसँगको ऐतिहासिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ गहिरो र संस्थागत बनाउने आवश्यकता छ, जहाँ जनस्तरको आवागमन, व्यापार, ऊर्जा, र कनेक्टिभिटीलाई दीर्घकालीन स्थायित्वतर्फ उन्मुख गरिन्छ। दोस्रो, चीनसँगको सम्बन्धलाई पूर्वाधार विकास, लगानी, प्रविधि र व्यापार विस्तारको अवसरका रूपमा रणनीतिक रूपमा उपयोग गर्दै नेपालको विकास प्राथमिकतासँग प्रत्यक्ष जोड्न सकिन्छ। तेस्रो, यी दुवै सम्बन्धको बीचमा नेपालले आफ्नो सार्वभौमिकता, स्वाभिमान र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै बराबरीको मर्यादा र सम्मानमा आधारित कूटनीतिक सन्तुलन कायम गर्नुपर्छ।
यसरी त्रिकोणीय सन्तुलन कायम गर्न सके नेपाल केवल दुई छिमेकीबीचको संवेदनशील भौगोलिक राष्ट्र मात्र होइन, क्षेत्रीय सहयोग र स्थिरताको एक विश्वसनीय पुलका रूपमा स्थापित हुन सक्छ।

सफ्ट पावरको प्रभावकारी प्रयोगमार्फत नेपालले आफ्नो अन्तर्राष्ट्रिय हैसियतलाई थप सुदृढ बनाउन सक्छ। लुम्बिनीलाई विश्व बौद्ध समुदायको प्रमुख आध्यात्मिक केन्द्रका रूपमा विकास गर्ने, जनकपुरलाई हिन्दू सभ्यता र संस्कृतिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने, तथा नेपालको अनुपम प्राकृतिक सौन्दर्य, हिमाल, संस्कृति र आतिथ्यलाई भारत र चीनसहित विश्वभरका पर्यटकका लागि आकर्षणको केन्द्र बनाउने दिशामा ठोस पहल आवश्यक छ।
नेपाल भूगोलका हिसाबले सानो हुन सक्छ, तर यसको ऐतिहासिक, सांस्कृतिक र आध्यात्मिक योगदान अत्यन्त विशाल छ। इतिहासका पाना पल्टाउँदा यही भूमिले संसारलाई शान्ति, करुणा र मानवतावादको सन्देश दिने गौतम बुद्ध जस्ता महामानव दिएको छ। यही भूमि दर्शन, योग, सहिष्णुता र सहअस्तित्वका मूल्यहरूको वाहक बनेको छ। यी अमूल्य सम्पदाहरू केवल नेपालको गौरव मात्र होइनन्, मानव सभ्यतालाई नेपालले दिएको अनुपम उपहार पनि हुन्। यिनै विशेषताहरूलाई राष्ट्रिय शक्ति र कूटनीतिक सम्पत्तिका रूपमा रूपान्तरण गर्न सके नेपालले आफ्नो सानो आकारभन्दा धेरै ठूलो प्रभाव विश्वमञ्चमा स्थापित गर्न सक्छ।
भारत र चीन दुवैसँग हाम्रो सम्बन्ध तरुलझैँ जमिनमुनि दबिएको, निष्क्रिय र कमजोर हुनुहुँदैन। हाम्रो सम्बन्ध पिङजस्तै हुनुपर्छ — जहाँ सन्तुलन, लचकता र आत्मविश्वासको समन्वय होस्। हामी आफ्नो इच्छाशक्ति, आत्मसम्मान र राष्ट्रिय हितलाई अक्षुण्ण राख्दै दुवै छिमेकी शक्तिसँग सम्मानपूर्ण, पारस्परिक लाभदायी र दूरगामी सम्बन्ध कायम गर्न सक्षम बनौं। नेपाल कसैको प्रभावक्षेत्रमा सीमित राष्ट्र होइन; आफ्नै पहिचान, स्वाभिमान र कूटनीतिक कौशलका आधारमा दुवैतर्फ समान आत्मीयता र सहयोग विस्तार गर्न सक्ने स्वतन्त्र राष्ट्र हो।

यही पिङको दर्शनलाई आत्मसात् गर्दै नेपालले आफ्नो परराष्ट्र नीतिलाई नयाँ उचाइमा लैजान सक्छ। दुई महाशक्तिबीचको प्रतिस्पर्धामा अल्झिएको निरीह खेलाडीका रूपमा होइन, बरु आफ्ना राष्ट्रिय हित, स्वाभिमान र दीर्घकालीन दृष्टिलाई केन्द्रमा राखेर अघि बढ्ने एक सुनियोजित, आत्मविश्वासी र सम्भावनाशाली राष्ट्रका रूपमा। यस्तो सन्तुलित र दूरदर्शी कूटनीतिले नेपाललाई शक्ति–संघर्षको सिकार होइन, क्षेत्रीय तथा विश्व मञ्चमा सम्मानित र प्रभावशाली साझेदार बन्ने अवसर प्रदान गर्न सक्छ।
Leave A Comment