दीपक  राज  जोशी 

जोशीको पालामा तनहुँ सँगै जोडिएको छिमेकी जिल्ला कास्की अर्थात् पोखरामा मणिपाल शिक्षण कलेज बनेको थियो। मणिपाल कलेजले  पोखरामा कलेज बनाउँदै गर्दा दमौलीमा २० बेडको अस्पताल बनाउनु पर्छ  भन्ने निर्णय जोशीद्वारा भएको थियो  तर जोशीले बनाएको अस्पतालमा उपचार गरेर फर्केकाहरू जोशीको पछि लाग्छन् भनेर त्यति बेलाका मेयर र रामचन्द्र  पौडेल मिलेर अस्पताल नै  बन्न दिएनन्। आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी क्याम्पस बनाउनु पर्छ भन्दै गर्दा  यदि  त्यो क्याम्पसलाई सरकारी बनायो भने त्यहाँ पढ्ने सबै मिलेर जोशीलाई अगाडि बढाउँछन् भनेर  सरकारी बनाउन दिएनन्। तनहुँका जनता र काँग्रेसका कार्यकर्ताहरू  दमौलीमा किन अस्पताल बनेन ?, आदिकवि भानुभक्त क्याम्पस किन सरकारी भएन ?भनेर प्रश्न उठाउँदैनन्।

जोशी बिमारी  भएर दिल्लीको मेदान्त अस्पतालको आइसियुमा बस्दा  तनहुँका सबै नेता मिलेर  जोशी अब फर्केर आउँदैन,आयो भने पनि चक्र बास्तोला जस्तो भएर आउँछ, त्यसैले अब हामी सबै मिलेर अगाडि बढ्नु पर्छ भनेर बैठक बसेको तनहुँका जनताले भुलेका छैनन्।  गत काङ्ग्रेसको केन्द्रीय चुनावमा रामचन्द्र पौडेलले  शेरबहादुर देउवालाई जोशीलाई बैठकमा  उपस्थित नगराउनु, गराएको खण्डमा म अनसन बस्छु भने पछि पार्टीकै कार्यक्रम बिगार्ने काम किन गर्ने भनेर जोशी कार्यक्रममा उपस्थित भएनन्।

आज आएर तनहुँ जिल्ला विगत १८ वर्ष पहिलेकै  विकासमा अड्किएको छ। जोशीको समय भन्दा पछि तनहुँमा खास परिवर्तन देखिने खालको विकास हुन सकेन। २०३६ सालमा बहुदलले जितेको जिल्ला र ८० प्रतिशत भन्दा बढी मतले चुनाव जितेको जिल्लामा अहिले  नेपाली काँग्रेसका ५ जना केन्द्रीय सदस्य छन्। तर त्यही जिल्लाले ६ सिट नै गुमाउनु पर्‍यो।  रामचन्द्र पौडेलले  आफ्नो भाइ वडा अध्यक्ष भएको वडामा पनि हार बेहोर्नु  पर्‍यो। पौडेल मात्रै नभएर  पौडेलको समूहले नै हार बेहोर्नु पर्‍यो। तनहुँमा मात्र नभएर गण्डकी  अञ्चलका कुनै पनि जिल्लामा रामचन्द्र पौडेलको समूहले चुनाव जितेन। अझ पनि पौडेलको काँग्रेस सकाउने दम्भ गएको छैन। यति हुँदाहुँदै पनि तनहुँका जनता र नेताको घैँटामा घाम लागेको छैन। 

पञ्चायती व्यवस्थामा पनि तनहुँका काँग्रेसले छाती खोलेर हिँड्न पाउँथे तर विगत केही वर्ष यता काङ्ग्रेसकै कार्यकर्तालाई जालझेलमा फसाउने,  दुख दिने काम तनहुँ काँग्रेसले गरेको सबै सामु छर्लङ्ग नै छ। 

राष्ट्रिय मेलमिलापको नीति लिएर बि.पी. कोइराला भारतको निर्वासनबाट स्वदेश फर्कने क्रममा आफू फर्कनु पूर्व के. वि गुरुङलाई देशको स्थिति बुझ्न पठाउनु भएको थियो।त्यस बेलाका शासकको मनस्थिति बुझेर उहाँलाई वाक स्वतन्त्रता हुन्छ या हुँदैन, फाँसी दिन्छन्  कि दिँदैन ? शासकहरूले उहाँलाई हेर्ने दृष्टिकोण के छ? बुझेर मात्रै बिपी कोइराला स्वदेश फर्कने  कार्यक्रम थियो। त्यति हुँदाहुँदै पनि उहाँलाई फर्कने क्रममा त्रिभुवन विमानस्थलमा पक्राउ गरिएको थियो।

तनहुँ काँग्रेसले त्यस्ता मूर्धन्य नेता  के बि गुरुङ  तनहुँ आउँदा उहाँको कार्यक्रमका भाग नलिनु भनेर उर्दी लगाएको थियो। त्यति मात्र नभएर ५०औँ वर्ष काँग्रेसमा बिताएकाहरूलाई आसन ग्रहण गर्न नदिने, बोल्न पनि नदिने,  कारण बिनै स्पष्टीकरण माग्ने जस्ता थुप्रै नकाम काङ्ग्रेस बाट भएका छन्। आजको दिन मा पनि जोशी को कार्यक्रममा नजानु भनी उर्दी लगाउँदै छन्। अहिलेसम्म पनि पञ्चायती व्यवस्थाको मण्डले प्रवृत्ति तनहुँ काङ्ग्रेसमा ज्यूँदै छ।

पार्टीमा मात्र नभएर स्थानीय निकायमा पनि काङ्ग्रेसकै भोटले जितेर जोशीको मान्छे भन्ने ट्याग लगाएर सानो भन्दा सानो  योजना पनि नदिएको दुखेसो व्यास नगरपालिका जनताको को छ। नेपाल भरी नै ३ वटा मेयर ले जिल्लाको चुनाव हारेको रेकर्ड छैन। आफ्नै पार्टी को चुनाव मा मेयर जस्तो पद मा बसेर पनि चुनाव हार्दा उनीहरूको आफ्ना गुट बाहेक अरू जनता प्रति विगतका  दिनमा कस्तो उत्तरदायित्व बहन गरे होलान् भन्ने प्रश्न अवश्य उठ्छ? 

भनिन्छ हरेक तानाशाही व्यवस्थाको अन्त्य ढिलो चाँडो अवश्य हुन्छ। तनहुँ काङ्ग्रेसमा पनि यो तानाशाही  प्रवृत्तिको अन्त्य भएको छ। तनहुँ बासी को नाताले म यही भन्न चाहन्छु ,  यो भन्दा अगाडी भएकोतानाशाही प्रवृत्तिको वैकुण्ठ बास होस्। आशा छ अहिलेको जनमत प्राप्त तनहुँ काङ्ग्रेसले  बाँकी गल्ती सुधार गर्दै सबैलाई एक ढिक्का बनाएर अगाडि लैजाने छ। तब मात्रै  काङ्ग्रेसको  जीत हूने छ र आउँदा दिनमा तनहुँ  काँग्रेस अनि समग्र तनहुँले प्रकाश छर्ने छ होइन भने तनहुँमा न त  नेपाली काँग्रेस नै अगाडि बढ्छ न त तनहुँ जिल्ला नै।