नेपाली राजनीतिमा ‘झोले’ शब्द पहिल्यैदेखि चलन चल्तीमा भए पनि, प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर सार्वजनिक मञ्चबाट ‘म एमालेको झोले हुँ’ भनी उच्चारण गरेपछि यो शब्द लोकप्रिय राजनीतिक विमर्शको केन्द्रमा आयो । ओलीको भनाइले दुई फरक सन्देश दियो- एकातिर नेताप्रति समर्पणको गर्व, अर्कोतिर आलोचनात्मक चेतनालाई चिढ्याउने चातुर्य !
त्यसपछि झोले शब्द राजनीतिक सन्दर्भभन्दा बाहिर पनि ब्यङ्ग्य र आलोचनाको रूपमा व्यापक रूपमा प्रयोग हुन थाल्यो । सामाजिक सञ्जालमा ‘झोले’ शब्द ट्रेन्डिङ बन्यो; मिम्स, स्टाटस र टिप्पणीहरूको मूल विषय बन्न पुग्यो । नेपालमा राजनीति भन्नासाथ पार्टीहरूको आस्थाभन्दा धेरै, व्यक्तिको झोला कुन रंगको हो भनेर छुट्याइन्छ । खासगरी काङ्ग्रेसका बारे केही कुरा लेख्नेबित्तिकै सामाजिक सञ्जालमा एउटा विशेष वर्ग तातिन्छ, यिनीहरू हुन् झोला बोकेका तर नीति नबुझेका, चाकडीमा लिप्त तर विवेकविहीन ‘झोलेहरू’ !
नेपालको राजनीतिक वृत्तमा ‘झोले’ केवल एउटा प्रवृत्ति होइन, एक संरचनात्मक विकृतिको नाम हो । र, यो विकृति सबै पार्टीमा छ तर फरक-फरक स्वरूपमा ।
झोलेहरूलाई चार प्रकारमा वर्गीकरण गर्न सकिन्छ- सत्ताका भोकाहरू, जो जहाँसुकै आए पनि नजिक पुग्न मात्र खोज्छन् र स्वार्थमुखी हुन्छन्; भावनात्मक अन्धभक्तहरू, जो नेताको फोटो हेरेर मात्र भक्तिभावमा रमाउँछन् र विचारभन्दा प्रेममा अडिन्छन्; बौद्धिक झोलेहरू, जो लेख, बहस र टिप्पणीमार्फत चाकरी गरेर आफूलाई लाभान्वित बनाउँछन्; र दबाबका झोलेहरू, जो गालीगलौज, धम्की र संगठनगत डरको माध्यमबाट नेताको रक्षा गर्छन् । यी सबैले नेपाली राजनीतिमा झोले प्रवृत्तिलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
नेपाली काङ्ग्रेस देशको सबैभन्दा पुरानो र ऐतिहासिक दल हो, जसले लोकतन्त्रको स्थापनादेखि पुनःस्थापनासम्मका हरेक आन्दोलनको नेतृत्व गऱ्यो । तर आज त्यो काङ्ग्रेस आफ्नो वैचारिक मौलिकता गुमाउँदै झोले प्रवृत्तिको दलदलमा फसेको छ । काङ्ग्रेसलाई विचार होइन, व्यक्तिपूजा र चाकरी संस्कृतिले नियन्त्रण गर्न थालेको देखिन्छ । प्रश्न उठ्छ- यो प्रवृत्ति कहिलेदेखि सुरु भयो ? कसरी मौलाएको हो ? यसको असर के परिरहेको छ ?
नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवा मानिएको नेपाली काङ्ग्रेस आज राजनीतिक असमर्थता, संगठनात्मक जडता र वैचारिक अन्योलमा फसेको छ । यस पतनको मुख्य कारणहरूमध्ये एक हो- झोले प्रवृत्ति । विचार र मूल्यभन्दा व्यक्तिपूजालाई प्राथमिकता दिने, निष्क्रिय र चाकरीबाज कार्यशैलीलाई प्रोत्साहित गर्ने यो प्रवृत्तिले काङ्ग्रेसको जरा नै कमजोर बनाइरहेको छ ।
झोले प्रवृत्ति भनेको के हो ?
राजनीतिक भाषामा ‘झोले’ भन्ने शब्दले नेताको झोला बोकेर हिँड्ने, अन्ध समर्थन गर्ने, काम नगरी भाग खोज्ने कार्यकर्तालाई जनाउँछ । यी पात्रहरू विचार, बहस वा संगठनभन्दा व्यक्तिगत पहुँच र चाकरीलाई प्राथमिकता दिन्छन् । उनीहरू नेताको छायाँ बनेर हिँड्छन्, तर संगठनको बोझ बोक्दैनन् ।
काङ्ग्रेसभित्र झोले संस्कृतिको लक्षणहरू
१. नेतामुखी संगठन : काङ्ग्रेसमा संगठनभन्दा व्यक्ति बलियो बनेको छ । नेता जसले जे भने पनि ‘हुन्छ दाइ, हुन्छ भाउजु’ भन्नु झोलाहरूको धर्म बनेको छ ।
२. अवसरवाद र भाग खोज्ने मानसिकता : पार्टीले सकस खेप्दा कोही देखिँदैन, तर चुनावको टिकट, पद वा मन्त्रालय बाँड्दा झोलेहरूको लर्को लाग्छ । काम नगरेर फल खाने संस्कृति गहिरिएको छ ।
३. युवा पुस्ता उपेक्षित : स्वतन्त्र सोच, आलोचनात्मक चेत र सक्रिय युवा कार्यकर्तालाई स्थान नदिने परिपाटी झोलाहरूले बनाएका छन् । जसले गर्दा नयाँ पुस्ता राजनीतिप्रति निराश छन् ।
४. चापलुसी र भ्रमको खेती : नेता जस्तोसुकै गल्तीमा फसे पनि झोलाहरूले त्यो निर्णयलाई ‘साहसी’, ‘रणनीतिक’ जस्ता विशेषण लगाएर जोगाउने प्रयास गर्छन् । यसरी सत्य र यथार्थसँग पार्टी टाढिँदै जान्छ ।
नेपाली काङ्ग्रेसमा ‘झोले प्रवृत्ति’ कहिलेदेखि सुरु भयो ? भन्ने प्रश्नको उत्तर समयको प्रवाहसँग गाँसिएको छ । सैद्धान्तिक रूपमा भन्ने हो भने, काङ्ग्रेसमा झोले प्रवृत्तिको सुरुवात पार्टीको संगठन विचारधारा भन्दा सत्तानजिक हुन थालेको बेलाबाट भयो । यहाँ चरणबद्ध रूपमा यसको विकासक्रम बुझौँ-
२००७ सालको क्रान्तिपछि – आदर्श प्रधान युग :
२००७ सालको क्रान्तिपछि नेपाली काङ्ग्रेस विचार, आन्दोलन र सिद्धान्तमा आधारित पार्टी थियो । बी.पी. कोइरालाजस्ता नेताहरूले संगठनलाई विचार, मूल्य र सिद्धान्तमा अड्याएका थिए । यो चरणमा झोले प्रवृत्ति प्रायः नगण्य थियो । त्यति बेला राजनीतिमा आउनु भनेको संघर्ष र त्यागको मार्ग रोज्नु हो ।
पञ्चायतकाल (२०१७-२०४६) – भूमिगत संघर्ष, सिद्धान्तमा निष्ठा :
पञ्चायतकालमा काङ्ग्रेस भूमिगत आन्दोलनमा थियो । यो संघर्षशील चरणमा झोले बन्ने भन्दा पनि न्याय र परिवर्तनका लागि लड्न सक्ने मानिसहरू मात्र पार्टीमा आउँथे । झोले प्रवृत्तिको खास सम्भावना थिएन, किनभने त्यहाँ अवसर थिएन, न पद न त लाभ । यो समयमा पद र लाभ लिन काङ्ग्रेस छोडेर पञ्चायतमा प्रवेश गरेको इतिहास हामीसँग छ ।
२०४६ को आन्दोलनपश्चात – सत्ता प्रवेश र झोले प्रवृत्तिको सुरुआत :
२०४६ को जनआन्दोलनपछि जब काङ्ग्रेस सत्तामा फर्कियो, त्यहीँबाट झोले प्रवृत्तिको बीउ उम्रन थाल्यो । संगठनमा विचारभन्दा सत्ता र पहुँच बलियो हुन थाल्यो । पद, टिकट, मन्त्रालयको बाँडफाँटमा व्यक्तिगत चापलुसी र पहुँच प्राथमिक हुन लाग्यो । विचार र संघर्षबाट आएका नेताहरूलाई पनि आवरण झोलेहरूले घेर्न थाले ।
२०५०-२०६० को दशक – झोले प्रवृत्तिको संस्थागत रूप :
यो दशकमा काङ्ग्रेस भित्र गुटबन्दी (factionalism) हुन थाल्यो । कोइराला गुट, देउवा गुट, सिटौला गुट, शेखर गुट, गगन गुट, प्रकाशमान गुट, बालकृष्ण गुट जस्ता गुटहरू सशक्त भए । कार्यकर्ताहरू विचार होइन, गुटअनुसार परिचालित भए । झोले प्रवृत्ति यही गुटबन्दीबाट संस्थागत रूप पाउन थाल्यो ।
चुनावमा टिकट वितरण, सिफारिस, राजदूत नियुक्तिलगायत अरू कामहरू खुबीको आधार नभएर गुटको आधारमा हुन थाल्यो । संगठनभन्दा व्यक्तिगत निष्ठा ठूलो मानिन थाल्यो । यसले गर्दा धेरै कुशल कार्यकर्ता निराश भएर पछि हटे, र सत्ताको वरिपरि झुम्मिने झोलेहरूको संख्या बढ्यो । यो १० वर्ष निष्ठा होइन, कताबाट फाइदा पाउँछु? भन्ने सोचको हाबी भयो ।
२०६२/६३ पछि – लोकतन्त्र त आयो, विचार हरायो :
जनआन्दोलन-२ पछि मुलुक गणतन्त्रतिर जाँदा काङ्ग्रेसभित्र विचार र आन्दोलनको संस्कृति थप क्षीण हुँदै गयो । आन्दोलन त काङ्ग्रेसले ग¥यो, तर विचार र एजेण्डा माओवादीले कब्जा गरे । काङ्ग्रेसभित्र विचारहीन शक्ति सन्तुलन मात्र चल्न थाल्यो ।
२०६३ पछि मुलुक गणतन्त्रतिर उन्मुख भयो । त्यसपछि काङ्ग्रेस बिस्तारै दर्शनविहीन सत्ता लिप्त दल बन्दै गयो । युवा, बौद्धिक र निष्ठावान कार्यकर्ताहरू पन्छिँदै गए । खाली चाकरी गर्ने, कार्य नगर्ने, झोला बोकेर अवसर खोज्नेहरू अगाडि बढे । पार्टी कार्यालयभन्दा नेताको घर वरिपरि भिड देखिन थाल्यो । बिस्तारै कार्यकर्ता हरू झोलेमा रूपान्तरित हुन थाले ।
पार्टीको संगठनात्मक पुनर्निर्माण भएन, तर झोलेहरूको भीड अझ गहिरियो । राजनीतिक अवसरहरू झन् धेरै भए (संघीय, प्रदेश, स्थानीय तह), जसले झोले प्रवृत्तिलाई अझै प्रोत्साहन दियो । नेपाली काङ्ग्रेस अहिले नीतिगत रुपमा स्पष्ट छैन । युवाहरू काङ्ग्रेसप्रति आकर्षित छैनन् । काङ्ग्रेस सत्तामा पुगे पनि नीतिगत प्रभाव देखाउन सक्दैन ।
कसरी पर्छ असर ?
झोले प्रवृत्तिले संगठन भित्रबाटै गल्न थाल्छ । जनता र कार्यकर्ताबीच दूरी बढ्छ । विचार गुम्छ, मूल्य हराउँछ र बाँकी रहन्छ केवल चुनावी गठबन्धनको लोभ । यसकै कारण काङ्ग्रेस आज सत्ता समीकरणको गोटी बनेको देखिन्छ, नेता मात्रै छैन, कार्यकर्ता पनि यान्त्रिक बनेका छन् ।
उपचार के हो त ?
झोले प्रवृत्तिबाट छुटकारा पाउन काङ्ग्रेसले संगठनभित्रको आन्तरिक लोकतन्त्र पुनर्स्थापित गर्न आवश्यक छ । निर्णय प्रक्रियामा पारदर्शिता ल्याएर सबै तहका सदस्यहरूको विचारलाई सम्मान गरिनुपर्छ । युवाहरूलाइ नेतृत्वमा स्थान दिई तिनको क्षमताका आधारमा मूल्याङ्कन गरिनुपर्छ ताकि संगठनमा नवीन सोच र ऊर्जाको समावेशीकरण होस् । पार्टी संरचना नेतामुखी होइन, विचारमुखी हुनुपर्छ जसले नीति, दर्शन र मूल्यमा आधारित बहसलाई प्राथमिकता देओस् । यस्ता कदमहरूले मात्र काङ्ग्रेसलाई झोले प्रवृत्तिबाट उकास्न सकिन्छ । काङ्ग्रेसलाई पुरानो गौरव फर्काउन चाहिने पहिलो उपचार भनेको झोले प्रवृत्तिबाट मुक्त हुने हो । संगठनमा बहस, आलोचना र युवा नेतृत्वको प्रवेश सुनिश्चित गर्नुपर्छ । विचारको पुनरुत्थान, मूल्यको संरक्षण र लोकतान्त्रिक अभ्यासमा सुधार नभए काङ्ग्रेस केवल नामको पार्टी बनेर रहन्छ ।
आजकल बजारमा काङ्ग्रेसको विरुद्ध लेख्न नपाउँदै झोलामा च्यातिएका प्वाल परेका पुराना कागजका कपी बोकेर बसेका अनुयायीहरू झस्किन्छन् । जसरी पुराना अन्डरवेयरको रबर फुस्किँदा अन्डरवेयर टाइट राख्न सकिन्न, त्यस्तै काङ्ग्रेसको झोला पनि अब पुरानो हुँदै गइरहेको छ । तर प्वाल टाल्नु भन्दा आलोचकलाई गाली गर्नु सजिलो ठान्ने झोले मानसिकता अझै ज्यूँकात्यूँ छ ।
वास्तवमा, आलोचना भनेको कुनैपनि संस्थालाई अझ सुधार गर्ने औषधि हो । तर हाम्रा झोलेहरू आलोचनालाई विष ठान्छन् । उनीहरूलाई लाग्छ पार्टीको आलोचना भनेको आफ्नै धर्मको अपमान हो । अनि सुरू हुन्छ व्यक्तिगत आक्रमण, पुराना पोस्ट खोजेर ह्यान्गओभर ब्यङ्ग्य, अनि अन्त्यमा ‘तँ एमाले हो, तँ स्वतन्त्र पार्टी होइन त ?’ भन्ने अन्तिम अस्त्र ।
यो वर्ग कुनै नेताको विचारमा होइन, व्यक्तिमा अडेको हुन्छ । नेतृत्व असफल भयो भने पनि उनीहरू भन्छन्– ‘नेतामा गल्ती छैन, जनताले बुझेनन् ।’ काङ्ग्रेसका लागि यस्तो झोले प्रवृत्ति राजनीतिक भन्दा भावनात्मक लगाव हो, जुन कहिलेकाहीँ विवेकको घातक शत्रु बन्न सक्छ ।
हुन त काङ्ग्रेस नेपाली राजनीतिमा संस्थागतताको प्रतीक हो भन्ने मान्यता लामो समयसम्म रह्यो । तर अहिले संस्था व्यक्ति, सिद्धान्त अवसर र पार्टी स्वार्थमा खुम्चिएको छ । अनि झोलेहरू अझै पनि पुरानो काङ्ग्रेसको सपना बोकेर नारा लगाइरहेका छन्, जसमा प्वालमात्र बाँकी छ, सिद्धान्त छैन ।
अब प्रश्न उठ्छ- यी झोलेहरूलाई रिस किन उठ्छ ? किनभने, साँचो कुरा गर्दा उनीहरूको झोला च्यातिएको सम्झन्छन्, त्यो झोलामा आफ्नो अस्थित्व टाँसिएको छ । त्यसैले हरेक आलोचक तिनीहरूका लागि खतरा बन्छन् ।
झोले प्रवृत्ति कुनै पनि दलको लागि दीर्घकालीन रोग हो । यसले संगठनलाई भित्रैबाट खोक्रो बनाउँछ । काङ्ग्रेसले आफ्ना गौरवशाली इतिहाससँग मेल खाने वर्तमान चाहन्छ भने ‘व्यक्तिपूजा’बाट ‘विचारपूजा’मा रूपान्तरण गर्न आवश्यक छ । नत्र आजको काङ्ग्रेस लोकतन्त्रको प्रहरी होइन, सत्ता मोहको साधक बन्दै जान्छ ।
काङ्ग्रेसको झोले प्रवृत्ति विचारहीन सत्ता-राजनीति र गुटगत स्वार्थको उपज हो । जबसम्म काङ्ग्रेसले आफ्नो ऐतिहासिक भूमिकाको मूल्य बुझेर आत्मसुधार गर्दैन, तबसम्म झोलेहरूले विचारलाई च्यापेर सत्ता प्रयोगशालामा परिणत गरिरहन्छन् । झोले प्रवृत्तिको अन्त्य नै काङ्ग्रेसको पुनर्जागरणको सुरुवात हुनेछ ।
राजनीति अब ‘झोला’बाट मुक्त हुनु आवश्यक छ । पार्टीप्रतिको निष्ठा विवेकसहितको होस्, विचारको बहस होस्, चाकडीको होइन । झोला होइन सोच बोकौँ, जुन सोच साँचो अर्थमा लोकतन्त्रको रक्षक बनोस् ।
लेख लेख्दै गर्दा म यो पनि जान्दछु अब केही ‘झोले संस्कृतिमा डुबेका’ पात्रहरू निश्चित रूपमा उफ्रिने छन् । उनीहरूले भन्नेछन्- ‘तिमी काङ्ग्रेसमै छैनौँ भने काङ्ग्रेसको चिन्ता किन गर्छौ ?’ तर यस्तो प्रश्न आफैंमा नै समस्याग्रस्त छ र ‘झोलेगिरी’बाट ग्रसित छ । कुनै पार्टीमा नहुनु देशको सरोकार नराख्ने हैसियत होइन । खासगरी जब त्यो पार्टी इतिहासदेखि नै देशको शासन र निर्णय प्रक्रियामा निर्णायक भूमिका खेल्दै आएको हो ।
म काङ्ग्रेसको मात्र होइन, कुनै पनि पार्टीको झोले प्रवृत्तिको विरोध गर्छु । किनकि, पार्टीको झोला प्वाल परेपछि त्यो प्वालबाट केवल पार्टी मात्र होइन, सम्पूर्ण देश चुहिन थाल्छ । अनि त्यो चुहावट केवल आर्थिक हो भन्ने होइन त्यो नीति, नैतिकता, मूल्य र लोकतान्त्रिक संस्कार सबैलाई चुहाउने हो ।
झोले संस्कृतिले देशमा विचार, विवेक र आलोचनात्मक चेतनालाई मार्दछ । त्यसले प्रश्न गर्ने संस्कारको हत्या गर्दछ । जसले नेता र पार्टीलाई सधैं सच्चिन बाटो देखाउँथ्यो, त्यो आयाम झोले प्रवृत्तिले सिध्याइदिन्छ । अनि यस्तै प्रवृत्तिले निष्पक्ष, विवेकशील र देशप्रेमी नागरिकको आवाज दबिन्छ, जुन लोकतन्त्रका लागि घातक हो ।
म पार्टीभन्दा माथि राष्ट्रको पक्षमा उभिन्छु । मेरो निष्ठा कुनै नाममा होइन न त व्यक्तिमा, न त गुटमा, म सधैं राष्ट्रहित र जनताको हितमा उभिन्छु ।
म त्यस्तो राजनीति चाहन्छु जहाँ संस्थाहरू बलिया छन्, निर्णयहरू प्रक्रियाबाट हुन्छन् र विचारले नेतृत्व गर्छ, अन्धभक्तिले होइन । आलोचना त्यहाँ दुश्मनी होइन, सुधारको स्रोत मानिन्छ । जहाँ आलोचकलाई दवाइँदैन, बरु सुनिन्छ र त्यसबाट केही सिकिन्छ । अनि यतिबेला हाम्रो सबैभन्दा ठूलो दुर्भाग्य के हो भने राजनीति विचारले होइन, चाकरी र चापलुसीले चल्ने माध्यम बन्दै गएको छ । नेताको आलोचना गर्नेलाई तुरुन्तै ‘शत्रु’को कोटीमा राखिन्छ, अनि आँखा चिम्लेर प्रशंसा गर्ने ‘झोले’हरूलाई प्रमोट गरिन्छ ।
तर मलाई थाहा छ- राष्ट्र अन्धभक्तिका भरमा अघि बढ्दैन । राष्ट्र अघि बढ्न विचार चाहिन्छ, बहस चाहिन्छ र विवेक चाहिन्छ । त्यसैले, म न कुनै झोला बोकेको छु न कुनै झोला बोक्न नै चाहन्छु । म सत्य बोल्न चाहन्छु, जति तीतो भए पनि । किनकि, सत्यले पोल्न सक्छ तर अन्ततः त्यही सत्यले बचाउँछ ।
Leave A Comment