पी विचारको दाहसंस्कार १२ बुँदे सहमतिले गरेको थियो । १२ बुँदे सहमतिपछि नेपाली कांग्रेसले राष्ट्रियतालाई दाउमा राख्यो । गणतन्त्रका नाममा संसदीय प्रजातन्त्र मात्र नभएर राजतन्त्र नै फालिदियो ।

बीपीले कम्युनिस्टहरू कहिल्यै राष्ट्रवादी र प्रजातन्त्रवादी हुँदैनन् भन्दाभन्दै पनि कांग्रेसले सत्ताका लागि  हरू सँग सहकार्य शुरू गर्‍यो । जसको परिणाम हाम्रा सामु सर्वविदितै छ । गिरिजाप्रसाद कोइराला अस्वस्थ हुँदाहुँदै दिल्ली गएर गरिएको १२ बुँदे सम्झौताको कारणले गर्दा देश आज यो अवस्थामा छ ।



आफ्नो देशको बारेमा गरिने निर्णय अरूको देशमा गर्नुहुँदैन भन्ने कुरा बीपीले २००७ सालको घटनालाई लिएर पनि भन्नुभएको थियो । उहाँले २००७ सालमा राजा त्रिभुवनलाई दरबारबाट दिल्ली पठाउनुभन्दा नेपालकै कुनै ठाउँमा पठाएको भए देशलाई राम्रो हुन्थ्यो भन्नुभएको थियो ।

उहाँको आशय यो थियो कि आफ्नो राज्यलाई लिएर गरिने महत्त्वपूर्ण मुद्दाका निर्णयहरू आफ्नै राज्यमा भए भने राष्ट्रियता मजबुत हुन्छ । साथै राज्यको हस्तक्षेप कम हुन्छ ।



देश प्रेम आफ्नो देशको स्वाधीनता र सार्वभौमसत्ताप्रति गरिने आस्था र व्यवहार हो । जुन बाह्य शक्तिको हाविले गर्दा कमजोर  ठहरिन्छ, यसबाट न त देशको भलो हुन्छ न जनताको को नै ।

हुन त पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका आदर्श पुरुष मानिने स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई राजनेता तथा शिखर पुरुष जस्ता विशेषणले पुकारिन्छ । तर नेपालको आजको यो बिग्रँदो अवस्थाको श्रेय उहाँलाई पनि जान्छ । कुनै पनि पार्टीमा व्यक्ति  महत्त्वपूर्ण हुँदैन तर जब पार्टीमा व्यक्ति हावि हुन्छ तब पार्टी कमजोर हुन्छ । पार्टी कमजोर हुनु भनेको देश कमजोर हुनु हो ।

बीपी कोइराला हुनुभएको भए शायद आज मुलुक यत्तिको विषम परिस्थितिबाट गुज्रिँदैन थियो होला । यदि उहाँ हुनुभएको भए राष्ट्रिय कलकारखाना बेच्ने, जनताको आवाजलाई बोकेर राजनीतिमा छिरेकाहरू आफैंले लगाएको चप्पल बिर्सेर अर्बौं आम्दानीको स्रोत राजनीतिलाई बनाउने, लाउडा काण्ड घटाउने, विदेशी बैंकमा पैसा थुपार्ने, नातावाद र कृपावाद भए मात्रै पद दिने, जनताका छोराछोरी भोकै मरुन् या अशिक्षित रहुन् के मतलब भन्ने हेय भाव राखेर आफ्ना छोराछोरीलाई सरकारी पैसाले विदेशका ठूला मानिएका विश्वविद्यालयमा पढाउनेहरूका लागि पार्टीभित्र स्थान दिनुहुँदैन थियो होला ।

बीपी कोइरालाको निधनसँगै नेताहरूले संगठनभन्दा बाहिर सोच्ने प्रवृत्ति शुरू गरे । पार्टीभन्दा गुटको भलाइका लागि नेताहरूले समय खर्च गरे, जसले गर्दा पार्टी कमजोर र गुट मजबुत हुन पुग्यो ।

 यो देशमा सच्चा कांग्रेसको परिचय तब फेरियो जब गुटको फाइदाका लागि रेणु दाहललाई बोकेर हँसिया हथौडामा भोट हाल्न नेपाली कांग्रेसका कार्यकर्तालाई बाध्य बनाइयो । हिजो प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आस्था राख्नेहरूले परिवारका सदस्य गुमाउनुपर्ने अवस्था सिर्जना गर्ने बाबुराम भट्टराईहरूलाई भोट हालेर कांग्रेसका शहीदलाई अपमान गरियो । शायद आज तिनै शहीदको पाप लागेको छ नेपाली कांग्रेसलाई ।

आज नेपाली कांग्रेसमा पार्टीभन्दा माथि उठेर देशको भलाई सोच्ने कोही पनि छैनन् । भएकाहरूलाई पार्टीले सखाप पारिसकेको छ, किनकि तिनीहरूले प्रजातान्त्रिक मूल्य र मान्यतामाथि धावा बोल्ने हैसियत राखेनन् । पार्टीभित्र विचारको लडाईं लड्ने हैसियत राख्ने बिरलै भेटिन्छन् । आज पार्टीमा गुट, उमेर, जात र धर्मका आधारमा एकले अर्कालाई सिध्याउने खेल खेल्नेहरूको भीड छ ।

प्रजातन्त्रमाथि आस्था राख्नेहरूको दुर्भाग्य मान्नुपर्छ कि बीपी कोइरालाले कुनै दिन बाबुराम र प्रचण्डहरू कांग्रेसका सहयात्री बन्नेछन् भन्ने सपना देखेका थिएनन् होला ।

अहिलेको परिस्थितिलाई मध्यनजर गर्ने हो भने बीपी विचारको अनुसरण कांग्रेसले नभएर अन्य पार्टीले गरको जस्तो देखिन्छ । बीपीको समाजवादको सिद्धान्त आज आएर व्यक्तिवादमा परिवर्तन गर्न कांग्रेस लागिपरेको छ । यसरी मुखले बीपीको भजन गाउने र कार्यान्वयनको पक्षविपरीत धारमा बहनुले कांग्रेसलाई उँधो गति दिने निश्चितप्राय: छ ।बीपीले देखेको सपनामा निष्ठा र आदर्शका लागि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई नेपाली कांग्रेसबाट टाढा रहन बाध्य बनाइयो र उहाँहरूको ठाउँमा डन, व्यापारी, चोर/फटाहाहरू हावि भए ।

नेपाली कांग्रेसका केही नेता जसले संगठन विस्तार गर्न कुनै कसर राखेनन्, ती सबै नेताहरूलाई छानीछानी कांग्रेसबाट लखेटियो, जसको नतिजा आज नेपाली कांग्रेस पार्टीमा निष्ठाको विचलन छ । नैतिक मूल्य र मान्यता छैन । त्यसैले बीपीले दिएको निष्ठा र आदर्शको राजनीति नेपाली कांग्रेसमा आजकल गरिँदैन ।

बीपीले देखेको सपनामा निष्ठा र आदर्शका लागि कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई नेपाली कांग्रेसबाट टाढा रहन बाध्य बनाइयो र उहाँहरूको ठाउँमा डन, व्यापारी, चोर/फटाहाहरू हावि भए ।

बौद्धिक क्षमता नभएका, समाजले तिरस्कार गरेका, खराब पात्रलाई पार्टीमा स्वागत गर्ने सपना बीपीको थिएन । ती खराब व्यक्तिहरू पछिल्लो समयमा नेपाली कांग्रेसको राजनैतिक संस्कारले जन्माएका पात्रहरू हुन्, तर पनि तुलनात्मक रूपमा जति दोष संगठनको छ, त्यति तिनीहरूको छैन । हुन त केही नेताहरू कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ भन्दै हिँडेका छन्, तर वास्तवमा लोकतन्त्र कमजोर बनाउने एजेन्ट तिनीहरू नै हुन् ।

बीपी कोइरालाको सपना विकसित नेपाल थियो, बलियो कांग्रेस होइन । विकसित नेपालको सपना जसले पूरा गरे पनि हुन्छ, नेपाली कांग्रेसले नै पूरा गर्नुपर्छ भन्ने छैन ।

यदि नेपाली कांग्रेसले देश बनाउनु छ भने आफू पहिला सुध्रिनु जरुरी छ । आफूलाई सही बाटोमा लैजान नसक्नेले परिवारलाई सही बाटोमा लैजान सक्दैन । परिवारलाई  लैजान नसक्नेले समाजलाई सही बाटोमा लैजान सक्दैन । जसले समाजलाई सही बाटोमा लैजान सक्दैन त्यसले देशलाई सही दिशानिर्देश गर्न सक्दैन ।

महात्मा गान्धीले भनेजस्तै ‘सिद्धान्त विनाको राजनीति पाप हो ।’ सिद्धान्त तब मर्छ जब विचारधारा मर्छ । विचारधाराले राजनीतिमा अत्यावश्यक भूमिका खेल्छ । राजनीतिमा विचारधाराले राजनीति गर्नेहरूको मूल्य र प्राथमिकतालाई श्रेणीकरण गर्न मात्र सहयोग पुर्‍याउँदैन, यसले राजनीतिक वैधानिकताको उद्देश्य पनि पूरा गर्दछ । विचारधाराविना सिद्धान्त, सिद्धान्तविना प्रतिष्ठा र प्रतिष्ठाविना राजनीति हुँदैन ।

नेतृत्वले विचार परिवर्तन गर्ने होइन, विचारले नेतृत्व परिवर्तन गर्ने हो । जब विचारमा विचलन आउँछ तब जोसुकै व्यक्ति नेतृत्वमा आएपनि संगठनले सही दिशा लिन सक्दैन । नेपाली कांग्रेसको आजको समस्या नेतृत्व नभएर विचार हो । आज आएर नेपाली कांग्रेस इन्स्योरेन्स कम्पनी जस्तो भयो, जहाँ केबल एजेन्टहरू मात्र छन् ।

कम्पनीको मालिक अन्यत्र कतै छ । पार्टीभित्रको चरम गुटबन्दी, सत्ताको मोह, विचारको विचलन, संगठन गर्ने क्षमता अभिवृद्धिमा गरिएको वेवास्ता जस्ता विषयमा ध्यान दिइएन भने नेपाली कांग्रेसको अस्तित्व विस्तारै सकिनेछ ।

बीपी कोइरालाको विचार अनुशरण गर्दै नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूले आफ्नो सोच बदल्नुका साथै अब पनि देश र जनकल्याणका लागि काम गर्न सकेनन् भने कुनै दिन यिनै राजनीतिज्ञहरू इतिहासको रद्दी टोकरीमा मिल्किइनेछन् । त्यति मात्र नभएर सम्पूर्ण नेपाली कांग्रेस पार्टीको नै अन्त्य हुनेछ ।

भविष्य बनाउन वर्तमानलाई सुधार्नुपर्छ । बीपीको सपना साकार पार्ने अझ पनि समय छ । बेला रहँदै दीर्घकालीन सोच राखेर अघि बढौँ, नत्र नेपाली कांग्रेस कालो इतिहास बन्नेछ ।

आफ्नो पार्टीलाई इतिहास बन्नबाट रोक्न पार्टीको मूल्य र मान्यतालाई आत्मसात गर्दै अहिलेको कांग्रेसको भूगोल ठीक पार्नुपर्छ, अन्यथा आज बीपी कोइरालाको फोटोमा माल्यार्पण गरेजस्तै निकट भविष्यमा नेपाली कांग्रेसलाई नै माल्यार्पण गर्नुपर्ने दिन आउनेछ । आशा गरौं त्यो दिन नआओस् ।

बीपी विचारको देखावटी खोल ओढेर हामी कहीँ पुगेनौं र पुग्न सक्दैनौं पनि, त्यसैले आजैबाट राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राखेर समाजवादको निर्माणमा जुटौँ । आगामी दिनमा बीपी कोइरालाको सम्झना उहाँले देखाएको पथलाई पछ्याउँदै गरियोस्, बोक्रे सम्मान देखाएर होइन ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…