एकातिर तपाईंको दराजमा नलगाइकन १० थरी ज्याकेट र स्वेटर झुन्डिरहँदा अर्कातिर जाडोमा चिसो लागेर केही मानिसको ज्यान नगएको होइन। भित्ताभन्दा ठूलो टिभी, कहिले पनि प्रयोग नहुने ठूला घरका कोठाहरू ।

छोराछोरीको बिहे हुने बेलासम्म पनि स्टोर गरेर राखिएको बाबुआमाको बिहेका गिफ्टहरू । जिउ घटाएर लगाउँछु भनेर राखिएको फिट नहुने लुगा । ३७४ दिन थोत्रो प्लेट र पकाएकै भाँडाबाट पस्कँदै खाँदै गर्दा दराजबाट तपाईंलाई हेरिरहेका ती वाइनका ग्लास र प्लेटहरू जो प्रयोग हुनका लागि सधैँ आतुर छन् । २० लाखको हिराको हार लगाएर बिहे गरेकाहरूको पनि डिभोर्स भएको छ । १ लाख हारको सट्टा ५ लाखको हारले ५ गुणा बढी खुशी दिँदैन । खुशीको मूल्य हुँदैन।



mk, mन त हामी जन्मिँदा हामीसँग कुनै भौतिक स्वामित्व थियो न त हामी मरेर जाँदै गर्दा भौतिक स्वामित्व लिएर जान्छौँ । तर जीवनभर हामी भौतिक स्वामित्वका लागि आफ्नै सन्तानसँग पनि लड्न पछि पर्दैनौँ । हाम्रो मूल्य र मान्यतालाई हामीसँग भएको सामानले देखाउन सक्दैन। भौतिक परिवेशले हामीलाई केही समयका लागि मात्र खुशी दिन्छ । यदि तपाईं आफूलाई चाहिनेभन्दा बढी वस्तु सञ्चय गर्नुहुन्छ भने त्यसले केबल तपाईंको समय, ऊर्जा र स्वतन्त्रतालाई नोक्सान पुर्‍याएको हुन्छ ।  हामी भविष्यको खुशी र सन्तुष्टिका लागि वर्तमान गुमाउँछौ ।

मानिस विभिन्न कारणले गर्दा अतिसूक्ष्मवादी बन्छन् । धन सम्पत्ति , सुख सुविधा, इज्जत हुँदा पनि कति मानिसहरू खुशी हुँदैनन् । त्यसले उनीहरूलाई भौतिक चिजबाट वितृष्णा जागेर आउँछ । हामी त्यस्तो समाजमा बस्छौं जहाँ उपभोक्तावादले हामीलाई खुशी बनाउँछ, हामी तब मात्र खुशी हुन्छौँ जब हामीसँग अरूभन्दा बढी हुन्छ । आखिर अतिसूक्ष्मवाद के हो त ? अतिसूक्ष्मवादलाई सजिलै परिभाषित गर्न सकिँदैन तर थौरै अति आवश्यक साधन स्रोतहरूसँग बाँच्न सक्षम हुनु नै अतिसूक्ष्मवाद हो ।


संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार प्रत्येक वर्ष विश्वमा सबैलाई खुवाउन पर्याप्त खाद्य उत्पादन हुन्छ । तर उत्पादित सबै खाद्यान्नको एक तिहाइ  १.३ अर्ब टन खाद्यान्न खेर फाल्छौँ जसको मूल्य झन्डै ४० बिलियन डलरको हुन्छ । एकातिर खाद्यान्न खेर जाँदै गर्दा नौ जनामध्ये एक जनासँग खानका लागि पर्याप्त खाद्यान्न हुँदैन । ७९३ मिलियन मानिस पोषणले ग्रस्त छन् । ३.१ मिलियन बच्चाहरू प्रत्येक वर्ष न्यूनपोषणबाट मर्दछन् | यस्तो तथ्याङ्क देख्दादेख्दै पनि हामी आफ्नो जीवनशैलीलाई परिवर्तन गर्न सकिरहेका छैनौं ।

अतिसूक्ष्मवाद को चर्चा हाम्रो धर्म शास्त्रमा पनि गरिन्छ तर पनि व्यवहारमा आएको देखिँदैन । साधारण जीवन व्यतित गरेका कृष्णप्रसाद भट्टराईको भने अतिसूक्ष्मवाद जीवनशैली थियो । उनी प्रधानमन्त्री हुँदा एउटा सुराई, टिनको बाकस (कन्तुर) र छाता लिएर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका थिए । र, पदमुक्त हुँदा तिनै सामान लिएर फर्केका थिए । नभएको पैसाले नचाहिएको सामान किनेर नचिनेको मान्छेलाई इम्प्रेस पार्ने संस्कार बोकेका हामी नेपालीको माझमा कृष्णप्रसाद भट्टराई जस्ता व्यक्ति बिरलै फेला पर्छन् ।

हाम्रो धर्मशास्त्रमा अतिसूक्ष्मवादलाई अपरिग्रह भनिन्छ । अपरिग्रह भनेको आफूलाई नचाहिने अनावश्यक वस्तुको सङ्ग्रह नगर्नु हो । हरेक वस्तु वा सम्पत्तिको मालिक आफूलाई ठान्नु परिग्रह हो । यसको विपरीत ती यावत् वस्तुहरूको स्वामित्वबाट अलग्गिनु अपरिग्रह हो । सङ्क्षेपमा सङ्क्षिप्त जीवनयापनभन्दा बढी अनावश्यक भौतिक वस्तुको सङ्ग्रह नगर्नु नै अपरिग्रह हो । यस्तै जापानी संस्कृतिमा पनि अतिसूक्ष्मवादलाई दानसरि (Danshari)  भनिन्छ ।  दानको अर्थ  अनावश्यक वस्तुहरूको सञ्चय गर्नु ‘स’ को अर्थ  घरमा भएका अनावश्यक सामानहरू फ्याँक्नुहोस् र ‘रि’ को अर्थ सामग्री किन्ने प्रलोभनबाट टाढा रहनुहोस् ।

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार प्रत्येक वर्ष विश्वमा सबैलाई खुवाउन पर्याप्त खाद्य उत्पादन हुन्छ । तर उत्पादित सबै खाद्यान्नको एक तिहाइ  १.३ अर्ब टन खाद्यान्न खेर फाल्छौँ जसको मूल्य झन्डै ४० बिलियन डलरको हुन्छ । एकातिर खाद्यान्न खेर जाँदै गर्दा नौ जनामध्ये एक जनासँग खानका लागि पर्याप्त खाद्यान्न हुँदैन ।

हाम्रो जीवनशैली भागदौडमा बित्दै गर्दा हामीसँग अनुभव सञ्चय गर्ने समय नै हुँदैन । तपाईंलाई आवश्यक नभएको सबै चिज हटाउनुहोस् । वस्तुहरू सञ्चय गर्नुभन्दा अनुभव सञ्चय गर्नु राम्रो कुरा हो । हाम्रो संस्कृतिले हामीलाई जति बढी भयो त्यति राम्रो भन्ने मात्र ज्ञान दिन्छ । आजकल अधिकांश मानिसहरू भौतिकवादी  भएका छन् । हामी भौतिक वस्तुप्रति यति धेरै फोकस गर्छौं, आफ्नो फाइदाका लागि हामी हाम्रो स्वतन्त्रता, नाता र स्वास्थ्यलाई पनि दाउमा लगाउन पछि पर्दैनौँ ।

मिनिमलिज्मलाई दर्शनका रूपमा  हेरिन्छ ।  जसलाई तपाईंले आत्मासाथ गर्नुभयो भने तपाईं बढी सरल र कम तनावपूर्ण जीवन बिताउन  सक्नुहुन्छ । आफूलाई आवश्यक नभएका वस्तुहरूबाट छुटकारा पाउन सक्नुभयो भने तपाईं आध्यात्मिक विकासका लागि धेरै समय खर्च गर्न सक्नुहुन्छ । अनावश्यक चिजहरू ती चिज हुन् जुन तपाईंलाई खासै आवश्यक पर्दैन र जसले तपाईँको जीवनमा कुनै मूल्य राख्दैन । जब तपाईँ बेकारका अनावश्यक सामानहरूको पछाडि दौडनुहुन्छ तब तपाईंसँग वास्तवमै मूल्यवान चिजहरूको कमी हुनेछ ।

मिनिमलिस्टहरू अधिक दिगो जीवन बिताउँछन् किनभने थोरै स्रोतहरूको उत्पादनमा प्रयोग हुन्छन् र कम फोहोर डिस्पोजलको समयमा उत्पादन हुन्छ ।

तपाईंको सरल जीवनशैलीको  स्वरूप अरूको जस्तै भन्ने छैन, मुख्य कुरा के हो भने तपाईँले अनावश्यक वस्तुलाई हटाएर आवश्यक वस्तुलाई ठाउँ दिनुभएको छ कि छैन भन्ने हो । हाम्रा घरहरू गोदामजस्तै देखिन्छन् । हामीसँग यति धेरै समान जसलाई हामीले प्रयोग गर्दैनौँ । मिनिमलिस्टहरू मानिस होसियारी र जानीबुझी केबल उनीहरूलाई चाहिने कुराको साथ मात्र बाँच्न प्रयास गर्दछन् । मिनिमलिस्ट को मन्त्र: “आवश्यक पहिचान गर्नुहोस् र बाँकी सबै कुरा हटाउनुहोस्” । तपाईंसँग कस्तो र कति वटा वस्तु चिजहरू छन् भन्ने कुरा महत्त्वपूर्ण होइन । महत्त्वपूर्ण कुरा ती वस्तुले तपाईँको जीवनमा कति मूल्य राख्छ भन्ने हो ।

कम स्वामित्वले हाम्रो जीवनमा ठूलो फाइदा ल्याउँछ: कम तनाव, कम ऋण, बढी समय, बढी स्वतन्त्रता । आफूसँग जे छ त्यसमा सन्तुष्ट हुनुहोस् । जे छ त्यसमा खुशी हुन् सिक्नुहोस् । न्यूनतावाद कट्टरपन्थी जीवनशैली होइन, तर यो यस्तो जीवनशैली जसले अनावश्यक चिजहरूबाट छुटकारा दिन्छ र तपाईंलाई अर्थपूर्ण स्वतन्त्रता र जागरूकतापूर्ण सुखी जीवन जिउन अनुमति दिन्छ । जब तपाईं अनावश्यक वस्तुहरूलाई तपाईँको जीवनशैलीबाट हटाउनुहुन्छ, तब  तपाईं जीवनको महत्त्वपूर्ण भागहरूमा स्वास्थ्य, सम्बन्ध, भावनामा अझ बढी ध्यान केन्द्रित गर्न सक्षम हुनुहुन्छ; उपभोग एक विषाणु हो जुन विश्वभरि जङ्गली आगोका रूपमा फैलिएको छ ।

बढ्दो अनावश्यक बजारीकरण, तडकभडक प्रचारप्रसारका कारणले हामीले आफैंलाई नियन्त्रण गर्न गाह्रो बनाउँछ । त्यसैले हामी अनावश्यक चिजहरूमा बढी पैसा खर्च गर्छौँ । स्थिरता र वातावरणीय सचेतना नै न्यूनतम जीवनको आधार हो, जुन केवल आवश्यक वस्तुहरूमा मात्र केन्द्रित हुन्छ । त्यसले मिनिमलिस्टहरूले Zero-waste मा विश्वास गर्छन् जसमा त्यस्तो समान किन्नु  जसले कम Waste गरेर वातावरण प्रदूषण हुनबाट जोगिन्छ ।

तपाईंको घरमा भएका अनावश्यक वस्तुहरू हटाउनुहोस् । तपाईंलाई वास्तवमै आवश्यक पर्ने वस्तु मात्र किन्नु र सञ्चय गर्नुहोस् । बजारमा सस्तोमा उपलब्ध छ, सबैले किनेका छन् भन्दैमा  किन्नुपर्छ भन्ने छैन । केही मानिसहरू शब्द अतिसूक्ष्मवादलाई नकारात्मक अर्थमा पनि हेर्छन् । अतिसूक्ष्मवादको अर्थ त्याग गर्नु मात्र होइन ।

अतिसूक्ष्मवाद जीवनशैली भनेको तपाईंसँग जे छ त्यो नै पर्याप्त छ । जे छ त्यसमा आनन्द लिनुहोस् । तपाईंसँग जे छैन त्यसमा चिन्ता नगर्नू । यसरी सोच्नुभयो भने तपाईँले आफ्नो जीवनलाई कम तनावपूर्ण बनाई पहिलेको जीवनभन्दा धेरै सुन्दर, सरल बनाउन सक्नुहुन्छ ।  तपाईं के किन्न सक्नुहुन्छ कि हुन्न ? भन्दा पनि के साँच्चिकै तपाईंलाई यसको आवश्यक छ त ? नहुन सक्छ । तपाईंले किन्न सक्ने सबै समान खरिद गर्नुपर्छ भन्ने छैन ।

हाम्रो जीवन तनावले भरिएको छ, दुर्भाग्यवश: । शरीरमा मानसिक र शारीरिक दुर्व्यवहारको परिणामस्वरूप मांसपेशी पीडा, माइग्रेन र रोगहरूले हामीलाई दयनीय जीवन बाँच्न बाध्य  बनाइरहको छ । जब हामी असीमित आवश्यकताहरूको भार बोकेर  जीवन बिताएका हुन्छौं तब हामीभित्र तनाव उत्पन्न हुन्छ । अरूलाई इम्प्रेस पार्ने संस्कार बोकेका हामी नेपालीका लागि अपरिग्रह एउटा महत्त्वपूर्ण सूत्र हो ।

यदि तपाईँले आवश्यकता नभएका समानहरू किन्ने बानी बसाल्नुभयो भने एक दिन तपाईँले आफूसँग भएका आवश्यक चिजहरू बेच्नुपर्ने बेला आउँछ। उपभोक्तावाद मिडिया र सामाजिक सञ्जालद्वारा प्रेरित एउटा डरलाग्दो कुलत हो । देखाउनका लागि गरिने किनबेचको संस्कृतिले समाजलाई कमजोर बनाउँछ । आवश्यकताभन्दा बढी खरिद गर्ने बानी व्यक्तिगत समस्या नभएर सामाजिक समस्या हो । हामीसँग थुप्रै समस्या छन् । समस्या समाधान गरेर मात्र हुँदैन। तपाईंको सोच्ने तरिका परिवर्तन गर्दा तपाईँको बाँच्ने तरिका परिवर्तन हुनेछ।

अतिसूक्ष्मवाद जीवन बाँचौँ । जीवन क्षणिक छ तैपनि हामीमा भएको असीमित इच्छाले चाहिने नचाहिने वस्तु सञ्चय गर्ने प्रवृत्ति को अन्त्य भएको छैन। जब मोहको अन्त्य हुन्छ तब सङ्ग्रह गर्ने प्रवृत्ति आफैं हराएर जान्छ । इच्छाअनुसार होइन आवश्यकताअनुसार जीवन बिताउनुहोस् । जीवन सुन्दर हुनेछ । नभएको पैसाले नचाहिएको सामान किनेर नचिनेको मान्छेलाई इम्प्रेस पार्ने संस्कार आजैदेखि अन्त्य गरौं र अतिसूक्ष्मवाद जीवनशैलीलाई अनुसरण गरौं ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…