यो देशमा राजनीति केवल अवैध व्यापार गर्ने अड्डा भएको छ । तर पनि हामी यसका विरुद्ध बोल्ने हिम्मत गरिरहेका छैनौँ, जसको कारण हो दण्डहीनता ।
अनुभव/अनुभूति
  • दीपकराज जोशी

यो देशमा संविधानप्रदत्त वाक स्वतन्त्रताको समेत हनन गरिन्छ । संविधानको धारा र उपधारा केवल हुने-खानेका लागि हो । त्यस्तै, मुलुकी र देवानी संहितामा भएका सजायका व्यवस्था भने दीनहीनका लागि मात्रै हुन् । जुन कुरा वर्षौंदेखि छर्लङ्ग नै छ ।

यहाँ चाकडी र वाहवाही गर्नेहरूले मात्रै वाक स्वतन्त्रताको उपयोग गर्न पाउँछन्, नभए बोल्न दिइँदैन । या त दबाइन्छ बोल्ने गला ! बोल्नेको मुख कसरी बन्द गरिन्छ यो देशमा भन्ने कुराको गतिलो उदाहरण म आफैं पनि हुँ ।

मैले नेपाल दूरसञ्चारको प्रबन्ध निर्देशकमा दरखास्त दिँदा नेपाली काङ्ग्रेसको सरकार थियो । त्यो बेला मलाई १४ करोड रुपैयाँ दिए त्यो पद तपाईंलाई दिन्छु भन्ने बिचौलिया पनि आएका थिए । जसले त्यो पैसा कहाँ, कति र कसलाई जान्छ भनेर पनि बेलीविस्तार लगाएका थिए । मैले सोचेँ- यो कुराको पर्दाफास गर्नुपर्छ । स्पाइ क्यामरा लिएर बिचौलियासँग कुरा गर्छु र, त्यो कुराकानी कुनै टेलिभिजनलाई दिन्छु ।

सो कुरा मैले मेरा एकजना मित्रसँग बाँडे । तर मेरो मित्रले ‘बेकारमा किन ज्यान जोखिममा पार्ने ? यो देशमा जे पनि हुन्छ, त्यसो नगर्नुस्’ भन्ने सल्लाह दिनुभयो । उहाँले सल्लाह दिएपश्चात पनि मैले आफूलाई कन्भेन्स गर्न सकिरहेको थिइनँ । केही समयसम्म यसबारे सोचेपछि मैले आफूलाई कन्भेन्स गरेँ अनि म सो कार्य गर्नबाट पछि हटेँ ।

यो देशमा राजनीति केवल अवैध व्यापार गर्ने अड्डा भएको छ । तर पनि हामी यसका विरुद्ध बोल्ने हिम्मत गरिरहेका छैनौँ, जसको कारण हो दण्डहीनता । राज्यका तीन अंग न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका निष्पक्ष भएर आफ्नो कार्य सम्पादन गर्न सक्ने नहुन्जेल न्यायपालिकामाथि राजनैतिक हस्तक्षेप भइरहन्छ । शक्ति पृथकिकरणको सिद्धान्त पनि अहस्तक्षेप अर्थात् आ–आफ्नो कार्य सम्पादन निष्पक्ष ढंगबाट सम्पादन गरियोस् भन्ने हेतुले परिकल्पना गरिएको हो । जहाँ न्यायापालिकामाथि राजनैतिक हस्तक्षेप हुन्छ त्यहाँ दण्डहीनता नयाँ विषय होइन ।

म अहिले पनि सम्झन्छु बुबा मन्त्री हुँदा हामी पुल्चोक मन्त्रीक्वाटरमा बस्दाका ति दिनहरू । मलाई त्यो बेलाका थुप्रै घटना–परिघटनाले अहिले तर्साउने गर्छ । मन्त्रीक्वाटरको बाहिरपटिको पसल बाट सस्तो रक्सी किनेर खान सुरु गरेकाहरू आज कसरी रक्सीका ब्राण्ड फेर्न सक्ने भए ? चप्पल लगाएर राजनीति सुरु गरेकाको गोडामा कुन ब्राण्डको जुत्ता छ आज ? र, जसका नाममा राजनीति गरियो ति किन चप्पल लगाउन सक्ने हैसियतमा पनि छैनन् ? कहिले बोल्ने यसका विरुद्ध ?

यति छिट्टै कोही कसरी प्रगतिमार्गमा छलाङ मार्न सक्छ ? राजनीति कुनै ब्यवसाय होइन । यो त नितान्त जनताको सेवाप्रति समर्पित हुने बचनबद्धता बोकेका व्यक्तिहरू संगठित संगठन हो । तर संगठनभित्रका बचनबद्धता बोकेर हिँडेका ब्यक्ति नै मन्त्री पदमा पुग्दासम्म जनता बिर्सेर, राज्यको हित बिर्सेर कसरी व्यक्तिगत स्वार्थ पूरा गर्न लागिपर्न सक्छन् ? आज तिनै मन्त्रीहरूको भीड देख्दा मेरो मानसपटलमा नमज्जाले बल्झिन्छ पुरानो दृश्य । जुन भीड आज अर्ब÷खर्बपतिमा रुपान्तरित भएको छ । जुन भिडबाट आज आदर्शको गुन्जायस सुनिन्छ । जुन भिड आज निमुखाको पक्षमा वकालत गर्छ । तर केवल दृश्यमा मात्र, मात्र देखावटी रूपमा । यो मुकुण्डो र मुकुण्डोधारीहरूको मुकुण्डो कहिले उतार्ने ? तिनकाप्रति खबरदारी कसले गर्ने ? कहिलेसम्म चलिरहन्छ राजनीति नामको अवैध व्यापार ? २०४६ सालबाट शुरु भएको यिनीहरूको सुरा, सुन्दरी र सम्पतिको यात्रा कति जाने हो अझै ? सम्पतिको नशा एउटा ठुलो नसा हो । जब तपाईंलाई यसको लत लाग्छ तब तपांईंलाई यो अधिकभन्दा अधिक चाहिन्छ । चाहे जुनसुकै बाटोबाट किन नआओस् । हो त्यही नशाले बहुलठ्ठी बनेकाहरूको कब्जामा छ राज्य र तिनकै शासनप्रणालीको मारमा छन् जनता ।

अझै कति सहने ? कहिलेसम्म सहने ? आफैँलाई सिनो बनाएर स्विकार गरिएको गिद्धको शासन ?!

जब राजनीतिमा नैतिकता सकिन्छ तब न्यायप्रणाली, सुशासन, अमनचैन, जस्ता थुप्रै कुराको किनबेच हुन्छ । गत स्थानीय चुनावमा मेरो गृहजिल्लामा नेपाली काङ्ग्रेसले ममाथि सांघातिक हमला गरको कुरा पनि यहाँहरू सबैमा विदितै छ । सो घटनाको किटानी जाहेरी दरखास्त दिँदासम्म पनि सो मुद्दा अहिलेसम्म दर्ता भएको छैन । अब अनुमान गर्नुस् भित्रभित्रै हुने कति आपराधिक घटनाहरू राजनैतिक आडमा लुकाइन्छ होला ? तपाईंलाई लाग्छ यो सरकारले तपाईंको सुरक्षा गर्छ ? न्याय दिन्छ ? यदि तपाईंलाई गर्छ र दिन्छ जस्तो लाग्छ भने तपाईं भ्रममा हुनुहुन्छ । अब यस्तो भ्रमबाट बाहिर आउनुहोस् !

फेरि चुनाव आउँदैछ । अर्को एउटा नयाँ नाटक मञ्चन गरेर पुन: हामीलाई शासन गर्नेछन् तिनै गिद्धहरूले । गठबन्धनको नाममा जुन नाटक मञ्चन भइरहेको छ यसले हामीलाई सिक्किम बनाउने मार्ग प्रशस्त मात्रै गर्दैछ । आउनुहोस् आजैबाट बोलौँ, बेला हुँदै बोलौँ । भोलि पछुताउनु भन्दा आज नै बोलौँ । हेरौँ कहिलेसम्म थुनिन्छ हाम्रो आवाज । यति आवाज निकालौँ कि थुन्ने हातहरू बोल्ने मुख भन्दा कम परुन् ।

गाउँ-गाउँ बाट उठौँ
बस्ती-बस्ती बाट उठौँ !