विगत स्थानीय र संसद्को चुनावमा नेपाली राजनीतिले केही नयाँ अनुहार स्वतन्त्र र पार्टीको रूपमा देख्न सफल भयो। भारी मतान्तरको जितसँगै ती नयाँ अनुहारले स्वतन्त्र र पार्टीको रूपमा पुराना राजनीतिक शक्तिलाई सङ्कटमा पार्दै र पुराना पार्टीको सङ्गठनबारेगहिरोसँग सोच्न बाध्य बनाएको छ। मूलधारका परम्परावादी दलहरूले पाएको प्रहार यति भयङ्कर थियो कि यदि उनीहरूले आगामी दिनमा आफूले गर्ने गरेको राजनीतिलाई पुनर्विचार गर्दै गहिरो रूपमा परिवर्तन गरेनन् भने उनीहरूको अन्त्य निश्चित हुनेछ भनेर केही राजनीतिक विश्लेषक विश्लेषण गर्छन्।

अहिले आएको नेतृत्वमा धेरैजसो कुनै पनि पार्टीमा नलागेका र सक्रिय नभएका र केही विभिन्न राजनीतिक तथा सामाजिक संस्थामा अनुभव हासिल गरेका सदस्यहरू सक्रिय रहेका राजनीतिज्ञहरूको उपस्थिति छ। यीबाहेक पनि अरू थुप्रै सम्भावना बोकेका व्यक्तिहरू राजनीतिमा होमिँदै छन्।

नेपालको राजनीतिक मानचित्रमा स्वतन्त्रहरूको उदयसँगै राजनीतिक क्षेत्रमा फरक किसिमको रचनात्मक बहस सुरु भएको छ । लामो समयपछि जनताले थोरै भए पनि राहत महसुस गर्दै एक किसिमको वैकल्पिक आनन्द अनुभूति गरे पनि नयाँ दल पनि छोटो समयमै विवादित हुन पुगेका छन् ।

३४ वर्षसम्म एकछत्र राजनीति गरेका यी मूलधारका दलले दिएका आश्वासन, ठगी र नातावाद कृपावादबाट नागरिक दुःखी र थकित भएका छन् भने अर्कोतिर केही नेपाली नागरिक आफ्नै जीवनकालमा परिवर्तन सम्भव छ भन्ने आशामा बाँचेका छन् र ती परिवर्तन प्राप्त गर्न सकिन्छ भनेर देखाउन चाहन्छन्।

जनताको जीवनमा प्रभाव पार्न नसकेका राजनीतिक विचारधाराबाट थाकेकाहरूको माझ बालेन, गोपी हमाल, हर्क साम्पाङ र रास्वपा परिवर्तनको वाहक बनेर आए पनि छोटो समयमै एकपछि अर्को काण्डले बिस्तारै नागरिकको आशालाई विलीन हुँदै गएको महसुस हुँदै छ।

कतिपय राजनीतिक पण्डितहरूले नयाँ पार्टीलाई पपुलिस्ट हुन्, यिनीहरू केही समयपछि आफैँ विस्थापित हुन्छन् भन्ने गरेका छन्। तर नेपालको राजनीतिक इतिहास हेर्ने हो भने आजसम्म सबै पार्टी आफ्ना पपुलिस्ट एजेन्डाले नै सरकारमा जान सफल भएको देखिन्छ ।

पुराना पार्टीले आफ्नो विचारधारालाई समय सान्दर्भिक बनाउन नसक्नु , बदलिँदो परिस्थिरमा समाजका मुद्दा र प्राथमिकता परिवर्तन गर्न नसक्नु, नयाँ यथार्थसँग समायोजन नगरी उही पुराना विचारधारालाई जबरजस्ती लाद्न खोज्नुले नै उनीहरूको सान्दर्भिकता हराउन मद्दत गरेको छ।

८० वर्षभन्दा अगाडि खोलिएका पार्टीलाई अहिले पनि तिनै पुराना नेताले विरासत धानेर राखेका छन्। नयाँ, सक्षम नेतृत्वलाई अगाडि नबढाउँदा नयाँ पुस्तासँगको सम्बन्ध गुमाइरहेको अवस्था छ। विगत ३४ वर्षमा पुराना पार्टीले आफ्नो सिद्धान्तलाई तिलाञ्जली दिएर केवल सत्ता या पदको दुरुपयोग गरिरहेका छन्। आफ्नै पार्टीको राजनैतिक विचारधारामा अडिग हुन नसक्ने पार्टीप्रति जनतामा असन्तुष्टि र विश्वासको सङ्कट उत्पन्न भएको छ ।

पुराना पार्टी विभिन्न गुटमा विभाजित छन्। गुटबन्दीले आन्तरिक कलहले पार्टीलाई विभाजन गरेको छ। पुराना पार्टीसँग कार्यकर्ता भए पनि सङ्गठनात्मक संरचना विस्तारै कमजोर हुँदै गएको देखिन्छ। विभिन्न कारणले थाकेका नागरिक ताजा मुद्दा र नयाँ दृष्टिकोण लिएर आउने व्यक्ति वा पार्टीलाई मौका दिन चाहन्छन्। नयाँ पार्टीलाई विशेष गरी युवा र परिवर्तन चाहने मतदाताको समर्थन छ।

अहिले रहेका पुराना पार्टीले नयाँ पुस्ताको समस्या र चाहनालाई सम्बोधन गर्ने ठोस नीति वा कार्यक्रम ल्याउन नसकेको अवस्था छ। अर्कोतिर पुराना पार्टीले बारम्बार शासन गर्दा भ्रष्टाचार, कुशासन र असन्तुष्टि देखिरहेका नयाँ पुस्ताले नयाँ विकल्प खोजिरहेको छ। त्यस्तो विकल्प जसले सुधार र परिवर्तनको आश्वासन दिन सक्छ। त्यसका लागि नयाँ नेतृत्वसँग नयाँ मुद्दा, विचार र नीति तथा कार्यक्रम अगाडि सारेको हेर्न चाहन्छन्। विशेष गरी युवा वर्ग लक्षित ताजा दृष्टिकोणले पुराना समस्यालाई नयाँ तरिकाले सम्बोधन गर्ने सम्भावना देखाउँछ।

हुन त केही नयाँ पार्टीका नेतामा पारदर्शिता नदेखिए पनि नागरिक अझै नयाँ पार्टीको नेतृत्वमा नयाँ, ऊर्जावान् र पारदर्शी नेता आउन र उनीहरूले सुधारको प्रतिज्ञा गरून् भन्ने इच्छा राखेका छन्। नयाँ पार्टीले जहिले पनि पुराना पार्टी जसलाई हामी स्थापनावादी पनि भनिन्छ उनीहरू लामो समयदेखि शक्तिमा रहेको तर नागरिकका समस्यालाई समाधान गर्न नसकेका कारण स्थापनावादी प्रवृत्तिविरुद्धविद्रोह गर्न चाहन्छन्।

नेपालको राजनीतिक मानचित्रमा स्वतन्त्रहरूको उदयसँगै राजनीतिक क्षेत्रमा फरक किसिमको रचनात्मक बहस सुरु भएको छ । लामो समयपछि जनताले थोरै भए पनि राहत महसुस गर्दै एक किसिमको वैकल्पिक आनन्द अनुभूति गरे पनि नयाँ दल पनि छोटो समयमै विवादित हुन पुगेका छन् ।

अबको राजनीति भनेको नागरिकमुखी, विकासमुखी हुनुपर्छ। जसले शिक्षा, स्वास्थ्य, रोजगारी, वा सामाजिक न्यायलाई केन्द्रित गरेर जनतामा विशेष अपिल गर्न सक्छन् त्यही पार्टीलाई जनताले मन पराउनेछन्। जब नेतृत्वमा विश्वास हराउँछ तब जनता समाजलाई योगदान दिने मुक्तिदाता खोज्न थाल्छन्। विश्वास त्यस्तो चिज हो जुन परिणाम र प्रक्रियामार्फत निर्माण हुन्छ। नेपाली नागरिकले अहिले पनि विभिन्न परिवर्तन बाबजुद पनि एउटा मुक्तिदाता खोजिरहेका छन्। झन्डै चार दशकदेखि नेपाली जनता वामपन्थी र दक्षिणपन्थी दर्शनको चपेटामा परिरहेका छन्। मूलधारका पार्टी सिद्धान्त रटेर र रटाएर जनतालाई भ्रममा पार्दै शासन चलाउँदै आएका छन्। सरकारमा जानकै लागि विभिन्न अनैतिक गठबन्धन गरेको र जनताका समस्या संविधानमा स‌ंम्बाेधन नगरेको पाइन्छ।

बिगारिएको राजनीतिक व्यवस्थालाई सपार्न लड्नको लागि नागरिकले नयाँ नेतृत्व खोजिरहेका छन्। नेपाली जनतालाई परेको समस्या र त्यसको सत्यताको पक्षमा बोलेर मौनता तोड्दै आवाजविहीनलाई आवाज बनिरहेको छ। समाज समृद्ध भयो भने समृद्ध समाजबाट फाइदा लिने यही देशका नागरिक नै हुन् र समाज समृद्ध बनाउन लड्नुपर्छ, आवाज उठाउनु पर्छ। यदि नागरिकले आवाज उठाएनन् भने केही मुट्ठीभर व्यक्तिले जनतामाथि सदैव राज गरिरहन्छन्। त्यसैले आ–आफ्नो क्षेत्रबाट समाज रूपान्तरण गर्न आवाज उठाउनुपर्छ र लड्नुपर्छ। यो नै अबको राजनीतिको मूल मन्त्र हुनुपर्छ र यो मन्त्रले जनतालाई उक्साही रहेको छ।

आजसम्म हाम्रो लोकतन्त्र पाँच वर्षमा एक पटक निर्वाचन गराउनमा मात्र सीमित छ। लोकतन्त्रको आधार सङ्ख्यात्मकभन्दा गुणात्मक क्षेत्रमा हुनुपर्छ। हाम्रो लोकतन्त्रले शासन प्रणालीको रूपमा जनताबाट विश्वास गुमाउँदै गएको छ, राजनीति बिगार्नु र राजनीतिज्ञलाई दोष लगाउनु पनि कहीँ न कहीँ यो प्रणालीको दोष छ भन्नेमा जनता विश्वस्त छन्।

नयाँ आउने पार्टीलाई राजनीतिक भविष्य भने सोचेजस्तो सहज छैन । उनीहरूका लागि अगामी दिन कष्टकर हुनेछन्। उनीहरूलाई जनस्तरमा आधारित सङ्गठन र कार्यकर्तामा आधारित सङ्गठनबीचको मीठो अर्थपूर्ण अस्तित्व खोज्न नयाँ पार्टीलाई त्यति सहज छैन। नयाँ पार्टीलाई बलियो पार्टी बनाउनु नै आगामी दिनमा सामना गर्ने सबैभन्दा ठूलो चुनौती हुनेछ। कुने पनि पार्टीको सफलता र असफलता उसले पाउने भोटले निर्धारण गर्छ भने, चुनावमा पाउने भोट उनीहरूको सङ्गठनमा निर्भर गर्छ।

नयाँ पार्टीले आफूलाई वैकल्पिक उदारवादी लोकतान्त्रिक पार्टी बनाउन अघि बढिरहेको छ। गाउँ–गाउँमा सङ्गठन गर्न उनीहरूलाई अनगिन्ती समय खर्च गर्नुपर्ने छ। नेपाली राजनीतिमा मतदाताको अपेक्षा पूरा गर्नु सजिलो काम होइन। वर्षौँदेखि जनताले समर्थन गर्दै आएका मूलधारका पार्टीहरूको सङ्गठन चिर्दै स्थानीय तहमा चुनावमा धरै भोट ल्याउन सक्ने वातावरण सृजना गर्न सक्ने नयाँ इमानदार नेता उत्पादन गर्न त्यति सहज भने छैन।

पार्टी स्थापना गर्दै नेता बन्ने होडबाजी हाम्रो समाजमा धेरै भेटिन्छ। नयाँ पार्टीले नेता त बनाउला तर उनीहरूले चुनावमा कति भोट ल्याउन सफल हुन्छन् त्यसले उनीहरूको नेतृत्व दर्शाउनेछ।

समय व्यवस्थापन, ज्ञान व्यवस्थापन र प्रतिभा व्यवस्थापन अहिलेका मूलधार पार्टीहरूमा छैन । यी तीन बुँदा वैज्ञानिक सङ्गठन व्यवस्थापनका लागि ठूलो सम्पत्ति हुनेछ। सबैभन्दा ठूलो व्यक्तिको नैतिकता हो। असल व्यक्तिले असल समाज सिर्जना गर्छ, असल समाज सिर्जना भयो भने असल समृद्ध देश बन्छ। अबको दिनमा नयाँ आउने पार्टीले वैदिक लोकतन्त्रलाई महत्त्वपूर्ण घटकको रूपमा जोड्नुपर्छ।

आफ्नो समाजको विकास र समृद्धिको सपना देख्ने र जनताको वास्तविक प्रतिनिधित्व गर्ने लोकतन्त्रमा आफ्नो आशा राख्ने जनतामा भ्रम फैलाउने राजनीतिक खेलबाट जनता थकित भएका छन् । समाज रूपान्तरणका लागि नेपाललाई थुप्रै नयाँ राजनीतिक अनुहार र पार्टी चाहिन्छ जसले पुराना परम्परावादी सोच राख्ने असफल भएका राजनीतिक पार्टीलाई विस्थापित गर्न सकोस्।

नेपालको राजनीति र नयाँ पार्टीप्रतिको आशा

राजनीतिक दलबीचको स्वस्थ प्रतिस्पर्धाले लोकतन्त्रलाई मजबुत बनाउँछ। जब लोकतन्त्र सुदृढ हुन्छ, त्यही आधारबाट जनताको समृद्धि र शान्तिको बाटो प्रशस्त हुन्छ। तर, वर्षौँदेखि जरा गाडेर बसेको विकृत राजनीतिक संरचना के साँच्चै नयाँ पार्टीले सुधार गर्न सक्लान् त?

नेपालको अहिलेको राजनीति ‘गणेश मोडल’मा सीमित छ जहाँ नेताको वरिपरि घुमेपछि मात्र पद पाइन्छ। ‘कुमार मोडल’ अर्थात् मूल्य, सिद्धान्त र परिश्रममा आधारित राजनीति सजिलो छैन यसका लागि संकल्प, संघर्ष र स्पष्ट दिशाको आवश्यकता पर्छ। तर जब नेतृत्वको पहुँच नेताको चाकरीमा सीमित हुन्छ, तब देशको लागि घुम्नेभन्दा नेताको वरिपरि घुम्नु सजिलो लाग्छ।

अब आउने नयाँ पार्टी पुरानो ढाँचाको विकल्प दिन सक्छन् कि सक्दैनन् भन्ने कुरा समयले नै प्रमाणित गर्नेछ। तर। देशका धेरै नागरिकमा नयाँ राजनीतिक शक्तिले केही सकारात्मक फेरबदल ल्याउने विश्वास भने जागिसकेको छ। उनीहरू आशावादी छन् कि अब राजनीति केवल पदको लागि होइन, परिवर्तनका लागि हुनेछ।