दीपक राज जोशी नेपाली समाज यतिबेला एउटा अनौठो संक्रमणकालबाट गुज्रिरहेको छ। यो संक्रमण आर्थिक सम्पन्नताको मात्र होइन, सांस्कृतिक र चारित्रिक विचलनको पनि हो। विशेषगरी सहरिया र विदेशिएका नेपालीहरूको एउटा तप्का, जसलाई हामी नव-सम्भ्रान्त भन्न सक्छौँ, उनीहरूको जीवनशैली कुनै नक्कली सिनेमाको सेटभन्दा कम छैन। उनीहरूको गोजीमा महँगा ग्याजेट छन्, तर गिदीमा आफ्नै धरातलप्रतिको सम्मान शून्य छ। यस वर्गका मानिसहरूका लागि सार्वजनिक यातायात एउटा एलर्जी जस्तै हो। माइक्रो बसमा ठोकिने कुइनो वा साझा बसको भीड उनीहरूका लागि सभ्यताको अन्त्य हो। उनीहरू फेसबुक र एक्स (ट्विटर) मा युरोपका चिल्ला सडक र ट्रेन, ट्रामका तस्बिर राख्दै नेपालको दुर्गतिमा गोहीको आँसु झार्छन्। तर, भित्री मनसाय भने अर्कै हुन्छ। बाँकी सबै सर्वसाधारणले सार्वजनिक यातायात प्रयोग गरिदिए हुन्थ्यो, ताकि उनीहरूको विलासी टेस्ला , ल्यान्ड क्रुजर वा बीएमडब्ल्यूले खाली सडकमा निर्बाध गति लिन पाओस्। उनीहरू सिस्टम सुधार्न चाहँदैनन्, मात्र आफ्नो स्टाटस जोगाउन चाहन्छन्। आजकल समाजसेवाको परिभाषा फेरिएको छ। कसैलाई सहयोग गर्नुको अर्थ उसको घाउमा मलम लगाउनु होइन, बरु त्यो घाउलाई हाई रेजोलुसनमा कैद गरेर संसारलाई देखाउनु भएको छ। ३ हजार डलरको क्यामेरा बोकेर सडकका मलिना बालबालिकाको फोटो खिच्दा उनीहरूलाई लाग्छ कि उनीहरूले ठूलै क्रान्ति गरे। अझ उदेकलाग्दो दृश्य त तब देखिन्छ, जब लाखौँको घडी बाँधिएको हातले २० रुपैयाँको चाउचाउको प्याकेट हस्तान्तरण गर्दा खिचेको फोटो सेयर गरिन्छ। यो दान होइन, यो त गरिबीको व्यापार हो। आफ्नो विलासिताको प्रदर्शन गर्न गरिबलाई रंगमंच काे सामग्रीका रूपमा प्रयोग गर्ने यो प्रवृत्ति नव-सम्भ्रान्तहरूको सबैभन्दा निकृष्ट पहिचान बनेको छ। आईफोनको पछिल्लो मोडेल र एन्ड्रोइडको महँगो फ्ल्यागसिप सेट दुवै बोक्ने यो वर्ग प्रविधिको प्रयोगकर्ता होइनन, केवल उपभोक्ता हुन। क्लाउड स्टोरेज, डेटा सुरक्षा वा सफ्टवेयरको आधारभूत ज्ञान नभए पनि उनीहरूलाई नयाँ हुनुको घमण्ड छ। उनीहरूका लागि सफ्टवेयर र अन्डरवेयरमा खासै भिन्नता छैन। दुवै ब्रान्डेड हुनुपर्छ, काम गरोस् वा नगरोस्। एउटा फोन हराउँदा सारा सामाजिक सञ्जालमा नम्बर पठाउनुहोला भन्दै रुवाबासी गर्ने यो भीड डिजिटल युगको सबैभन्दा ठूलो व्यङ्ग्य हो। यस वर्गको अर्को विचित्र बानी हो जनावर प्रेमी हुनुको ढोँग। घरमा पालेको कुकुरलाई मासु खुवाउँदै गर्दा उनीहरूको डाइनिङ टेबलमा खसी, कुखुरा वा माछाको परिकार नभई गाँस जाँदैन। जनावर प्रेमको परिभाषा केवल पेट एनिमल मा आएर टुङ्गिन्छ। दिनभरि अरूको खुट्टा तानेर, षड्यन्त्र गरेर र तामसिक भोजनले भुँडी भरेर साँझपख योग र आध्यात्मिक प्रवचन दिनेहरूलाई देख्दा लाग्छ, अध्यात्म उनीहरूका लागि शान्तिको मार्ग होइन, बरु पाप पखाल्ने वासिङ मेसिन हो। महँगो ह्विस्कीको चुस्कीसँगै गीताका श्लोक वा ओशोका वाणी वाचन गर्नु उनीहरूको बौद्धिक विलासको एउटा हिस्सा मात्र हो। फेरि उनीहरुमा बेलाबेला चरम देशभक्तिको भावना आउँछ। गर्वले दौरा सुरुवाल र भादगाउँले टोपी,निधारमा टीका, रुद्राक्षको माला ढल्काएर आफूलाई फरक ढंगले प्रस्तुत गर्छन् । अझ अच्चम त तब हुन्छ जब उनीहरु नै समाज रुपान्तरण गर्नुपर्छ भनेर सबै राजनीतिक पार्टीको नजिक पुग्न सफल भई फाइदा लिइरहेका हुन्छ्न् ।जर्जियो अर्मानीको कोट, रोलेक्स वा बल्गेरीको घडी अनि इटालियन भ्यालेन्टिनो वा ए तेस्तोनीको जुत्ता, बर्बेरीको चस्मा, लुइस भिटनको ब्याग, सुमुखको अत्तर, बलमेन र ब्रुनेलो कुच्नेलीका कपडामा अभ्यस्त भएका उनीहरूलाई दौरा सुरावल र ढाका टोपी कुनै समय सबैभन्दा मन नपर्ने पोसाक हुन्थ्यो । तर जब देखावा गर्ने बेला आउँछ, उनीहरुमा एक्कासि उर्लेर आउँछ देशभक्ति । मानौँ यो वर्षायामको खहरे हो जुन प्रयोजन सकिएपछि तुरुन्तै सुक्छ।
उनीहरूका लागि देश एउटा यस्तो बजार हो जहाँबाट उनीहरूले राजनीतिक शक्ति र आर्थिक लाभ सोहोर्नु छ। हरेक पार्टीका नेतासँगको सेल्फी उनीहरूको सुरक्षा कवच हो। उनीहरू परिवर्तन चाहँदैनन्, किनकि अव्यवस्थामै उनीहरूको स्वार्थ फस्टाउँछ। हाम्रो शिक्षा प्रणालीले मान्छेलाई डाक्टर, इन्जिनियर वा पाइलट त बनायो, तर मान्छे बनाउन बिर्सियो। त्रिकोण, चारकोण, पाँचकोण भएभरका सबै कोण पढे पनि जिन्दगीमा आफ्नो समाज र देशलाई काम लाग्ने दृष्टिकोण यिनको पढाइमा नअटेको कुराको प्रमाण स्वयं यिनीहरुको व्यवहारले देखाउँछ ह।ठूला विश्वविद्यालयको डिग्री त छ, तर समाजप्रतिको उत्तरदायित्वको द पनि छैन। महँगो विद्यालयमा पढ्नु र शिक्षित हुनु एउटै कुरा होइन भन्ने प्रमाण यो वर्गको अहंकार हो। गाउँमा सिटामोल नपाएर छटपटिएका नागरिकको पीडाभन्दा उनीहरूलाई आफ्नो आईफोनको ब्याट्रीको लाइफको चिन्ता बढी छ। अन्त्यमा, यो पढ्दै गर्दा थोरै भए पनि मनमा चस्स बिझ्यो, रिस उठ्यो वा चित्त दुख्यो भने सम्झनू, तपाईं पनि केही हदसम्म नवसम्भ्रान्त बन्ने बाटोमा हुनुहुन्छ ।
Leave A Comment