26 Jan No Comments admin literature

असफल प्रेम

कपिद जोशी

जीवन एउटा  नाटक  नै रहेछ जसमा खुसी, दुःख, हाँसो , रुवाई , रमाइलो , नरमाइलो  थुप्रै  दृश्यहरू हुँदा रहेछन। समय र परिस्थिति ले दृश्य हरू परविर्तन हुने रहेछन।हरेक पात्रले आफ्नो आफ्नो  भूमिका निभाउदै जिन्दगी सकिने रहेछ।  कसको के भूमिका हुन्छ भन्ने  पहिले नै लेखिएको हुँदो रहेछ। आफ्नो भाग खेल्नु बाहेक कुनै विकल्प हुँदो रहेनछ।
पाप गरे या पुण्य गरे त्यो त मलाई थाहा भएन , मैले केबल निस्वार्थ प्रेम गरे। यदि तिमीलाई प्रेम गर्नु गल्ती हो भने यो एउटा गल्ती म हरेक जन्म मा  गर्न चाहन्छु। जीवनमा म यो मेरो पहिलो प्रेम हो जसमा कत्ति पनि  घृणा छैन। भन्छन् प्रेम अलौकिक अनुभूति हो, एक्कासि आउँछ, जीवनलाई रमाइलो पार्छ, हर्ष र खुशीका साथ जीवनशैली लाई परिवर्तन गरेर जान्छ । ठीक यस्तै गर्यो  मलाई पनि। तिम्रो प्रेम मेरो लागि जाडोको सूर्य जस्तै भयो। न त म सूर्यको नजिकनै जान सके न सूर्य मेरो  लागि  मात्र नजिक आउन सक्यो। मेरो भाग्यमा लेखको ताप  जति थियो यतिमात्र मैले पाएँ।
मलाई बुझ्न गार्हो थियो तिमीले दिएको आशिष हो वा श्राप भनेर । कहिले काँही झुट हरुको बीचमा केही कुरा मिठा लाग्थे तर हरेक पटक हामी एक चोटी हाँस्दा म दुई पटक रोएको हुन्थे। बिना लागू पदार्थ को सेवनलेनै म बीस्तारै एक्लिएको महसुस गर्दै थिए। त्यसले जति धरै मैले तिमी लाई विश्वास गर्दै गए त्यति नै थोरै मेरो जीवनको आनन्द कम हुँदै गयो। 
सस्तो पेन्सिलले कोरिएका अक्षरहरू पुरानो भएर धमिलिँए जस्तै  हाम्रो सम्बन्ध धमिलिदै गयो।  के सहि भन्दा पनी को सही भन्ने होड बाजीमा  जीवन का सुन्दर फूल हरू फुल्ने  नपाएर झर्दै गए। 
चाहाना लाई बाहानाले धरै समय थेक्न सकेन। दिनले रात कुर्न थाल्यो अनी रात ले दिन। समय बितेको पत्तै भएन। समाज संग डराएर भाग्ने कोशिस लामो समय सम्म रहेन। परिवार को इज्जत र प्रतिष्ठा जोगाउने प्रयत्न तब ट्टियो जब मैले आफै लाई बिस्तारै हराएको महसुस गर्न थाले। जीवन कस्तो अच्चम को हुँदो रहेछ । आफ्नै संग संघर्ष गर्नु पर्ने। समाज लाई बनाउने चाहानामा यो समाज ले नै मलाई बिस्तारै पर धकेली दियो। यति टाढा पुगेकी फर्केर आउने न त म संग आँट नै थियो न त चाहाना नैं।  यहाँ  सपनाका लागि सम्झौता गर्ने भन्दा सपनासँग सम्झौता गर्ने  हरुको  भिडमा धरै हिड्ने कोशिस  गर्नु  बेकार रहेछ । आखीर जीवन  एउटा वृत्त जस्तै  रहेछ जती हिडे पनी गन्तब्यमा नपुगिने ।
जीवन यस्ता  केही क्षणहरू ले मलाई असहाय र एक्लो बनायो। त्यति बेला म सँग समात्नको लागि ठाउँ थिएन, दुःख पोख्ने कुनै व्यक्ति थिएन। म  जसलाई आफू भन्दा बढी माया गर्थे त्यो नै म सँग रहेन।   हरेक रात सम्झनाले सताउँदा मेरो मुटु नदुखेको पल थिएन। बिस्तारै मुटु दुख्ने बानी परेपछि सुन्दर जीवन फेरि  फिर्ता आउँछ भन्ने आशा विलीन हुँदै गयो। एैना सामु नउभिएको धरै दिन भई सकेको थियो।एक दिन मैले आफैँ लाई  फेरि घोरिएर हेर्ने विचार गरे।  जब म एैना सामु थिए तब मलाई आभास भयो कि यो संसारमा एैना भन्दा इमानदार अरू कोही रहेनछ। मलाई एैना जस्तै साथी चाहिएको छ किनकि म रुँदा मेरो एैना म सँगै रुन्छ । म हाँस्दा म सँगै हाँस्छ।।।