अस्ताउन लागेकाे गणतन्त्र, सिक्किमीकरणकाे त्रास र अबकाे बाटाे

14 Aug No Comments admin Nepali

दीपक राज जोशी

नेपाली जनताले उत्साहसाथ परिवर्तनका खातिर दिलोज्यान दिए । तर अब उनीहरू नै आफैले ल्याएको परिवर्तनले आफ्ना सपना पूरा नहुनेमा विश्वस्त हुँदै छन् गएका । बढ्दो गतिहीनता, भ्रष्टाचार, वर्गीय असमानता, धर्म र संस्कृतिको पतन केही त्यस्ता उदाहरण हुन्, जो हाम्रो समाजमा धेरै नै देखिन्छन् । यी सबैको मुख्य कारण गन्तव्यहीन राजनैतिक सङ्घर्ष नै हो । यिनै हुन्, नेपाली जनजीवनका खतरानक वास्तविकता ।

जनताहरू यस्तो निष्कर्षमा पुगेका छन् कि राजतन्त्र लोकतन्त्रभन्दा राम्रो थियो । कमसेकम एउटा राजाले राज्य गरेको थियो । आज जस्तो सयौँ राजाको लावालस्कर त थिएन ।

सरकारले चलाएका कलकारखाना बन्द छन् । आर्थिक वृद्धि ढिलो छ । असमानता बढ्दो छ । निर्यातभन्दा आयात दिन–प्रतिदिन बढ्दै छ । मन्दिर भत्किएका छन् भने नयाँ चर्च दिनानुदिन थपिँदै छन् । धर्म निरपेक्षताको नारा लिएर भ्रम फैलाउने काम भइरहेको छ, जसले सांस्कृतिक पाटोलाई ओझेलमा पारेको छ । हरेक राजनैतिक निर्णयले समाजलाई विभाजन गर्दै छ । जनताहरू यस्तो निष्कर्षमा पुगेका छन् कि राजतन्त्र लोकतन्त्रभन्दा राम्रो थियो । कमसेकम एउटा राजाले राज्य गरेको थियो । आज जस्तो सयौँ राजाको लावालस्कर त थिएन ।

हामीलाई थाहा छ, नेताहरू गलत छन् । तैपनि हामी उनीहरूको कुरा सुनिरहेका छौँ । जे भइरहेको छ त्यसको समाधान छ तर समाधान समस्याको माग हो भन्दै समाधान प्रस्ताव गर्दैमा समस्याको समाधान हुँदैन । खस्कँदै गएको लोकतन्त्रलाई बचाउनका खातिर हामी हाम्रो समाजलाई नष्ट गर्न पनि त सक्दैनौँ । लोकतान्त्रिक राजनीतिमा नैतिकताको खडेरी परेको छ । त्यही खडेरीमा अन्न बेच्नेहरू लोकतान्त्रिक जीवन बाँचिरहेका छन् र फाइदा उठाइरहेछन् खडेरीको, ताकि व्यापार फस्टाउँदै जाओस् ।

जब क्षमताहीनहरूले राजनीति गर्छन् तब त्यस समाजमा थुप्रै समस्याहरू देखा पर्छन् । अदालतले न्याय दिँदैन, पुलिसले संरक्षण गर्दैन । राजनीतिसँग जोडिएका सामाजिक र सांस्कृतिक विभेदहरु दिन–प्रतिदिन गहिरिँदै छन् । समृद्धि र सुशासन नारामा मात्र सीमित भएका छन् । भ्रष्टाचारले गर्दा देशको चरम दुरावस्था छ । राजनीतिकर्मीहरू समाजका विचारकर्ता, प्रारम्भकर्ता, परेको बेला आलोचक, समाजका सेवक र समाधान प्रदायक हुनुपर्ने हो तर यहाँ राजनीतिकर्मीहरू केवल निजी स्वार्थका कैदीबाहेक अरू केही हुन सकेका छैनन् ।

हाम्रो प्रजातान्त्रिक इतिहासमा नौलो पाना कहिल्यै थपिएन । विभिन्न कालखण्डमा कसैले चुनाव जिते कसैले हारे, नियम कानुन बनाए, त्यसलाई परिवर्तन गरे, नयाँ आशा लाग्दा नेता आए र गए, चारचोटि संविधान बन्यो तर समाज जहाँको त्यहीँ रह्यो । आखिर समाज भनेको व्यक्ति व्यक्तिबिचको सम्बन्ध नै त हो । जब यी सम्बन्धमा नैतिकताको अभाव, क्रूरता, महत्त्वाकाङ्क्षा हुन्छ तब यिनै कुराहरूलाई समाजले प्रतिबिम्बित गर्ने गर्दछ । यो प्रतिबिम्ब हाम्रो समाजमा सामाजिक सङ्गठनलाई राजनीतिक रङ्ग दिएर गरिएको दुरुपयोगको परिणाम हो ।

मौलिक प्रश्नहरूको जवाफ हरेक राजनीतिककर्मीका लागि वास्तविकतासँग सम्बन्धित हुनुपर्छ । हामीकहाँ वास्तविकतालाई आफ्नो राजनैतिक विचारका आधारमा विभिन्न तरिकामा व्यक्त गरिन्छ । त्यसले आम नागरिकहरू लामो समयदेखि राजनीति र राजनीतिकर्मीसँग असन्तुष्ट हुँदै आएका छन् ।

सिक्किमीकरणको त्रास

सीके राउतसँग जुन सहमति गरियो, त्यसले सिक्किमको घटना याद दिलाउँछ । इतिहास जस्ताको त्यस्तै दोहोरिँदैन तर इतिहासले एउटै भाकामा गीत गाउन सक्छ । आँखैअगाडि देश विखण्डन हुँदै गर्दा पनि हामी मुकदर्शक भएर बसिरहेका छौँ, यो यसरी बस्ने बेला होइन । देशलाई बाहिरी तत्त्वबाट भन्दा बढी देशभित्रै रहेका निहित स्वार्थ भएकाहरूबाट बचाउने बेला आएको छ ।

देश रहे प्रजातन्त्र, गणतन्त्र रहन्छ । देश नै रहेन भने यिनको के काम ? धेरैचोटि लेखिएका संविधानले निम्त्याएको खिचातानी, जनयुद्ध र अरू युद्धमा नेपाली मारिएका मारिएकै छन् । त्यसको अर्थ परिवर्तन अपरिहार्य छ भन्ने नै हो । अब एकचोटि सबै नेपाली नेता आफ्नो पार्टी जिताउन नभएर देश बचाउनका लागि एकजुट हुने हो कि !

जनतालाई पिउने पानी नभएका बेला ट्याङ्करको पानी खरिद गरेर गाडी धुने शासक रहेसम्म नेपालको भविष्य उज्वल हुनेछैन । शासक नै शोषक भएपछि शासकका विरुद्ध लड्नुभन्दा अरू विकल्प देखिँदैनन् । नेपालको राजनीतिक इतिहास हेर्ने हो भने शान्ति प्रक्रिया एउटा महँगो कार्य हो । त्यसैले नेपालका राजनीतिज्ञहरू हरेक कालखण्डमा हिंसाका साथमा रमाउँदै सत्तामा पुग्ने बाटो खोजिरहेका हुन्छन् ।

यता नेपाली जनताहरू शान्ति र सुशासनका लागि मतदान गर्दै आए पनि रगतको खोलो बग्ने क्रम रोकिएको छैन । हाम्रा भ्रष्ट र असक्षम राजनीतिक वर्गलाई अनुशासनको दायरामा ल्याएर समाजलाई विखण्डनबाट बचाई परिवर्तनको दिशातिर उन्मुख गर्दै विकासका बाटोमा लैजाने बेला भएको छ।

विफलताको बाटोमा लोकतन्त्र

वर्तमान लोकतन्त्र बिस्तारै विफल हुँदै छ । हामी नेपाली जनता राम्रो विचारका लागि भोट नदिएर पार्टीको विचारधारालाई भोट दिँदै आएका छौँ । विचारधारा दिने पार्टीले यहाँ देशलाई अगाडि बढाउन राम्रो विचार दिन असमर्थ भएको छ । समाजलाई भलो हुने खालको विचारका अभावमा नेपालको प्रजातन्त्ररलोकतन्त्र केवल मतदान प्रकियामा मात्र खुम्चिएको छ ।

मतदान प्रक्रिया भनेको सङ्ख्यात्मक बहुमत मात्र हो । नेकपालाई जनताले दुई तिहाइ मत दिएर पूर्ण जनादेश दिएका छन् । जनताले पाएको संवैधानिक हकलाई बेवास्ता गर्न, जनतालाई दबाउन अनि विपक्षीलाई दुस्मनका रूपमा हेर्नका लागि जनताले दुई तिहाई मत दिएका होइनन् । पूर्ण बहुमत भनेको अधिनायकवादतिरको सिकार खेल्ने साँचो होइन ।

लोकतान्त्रिक सरकारको आधारभूत सिद्धान्त भनेको कानुनको शासन, व्यक्तिगत स्वतन्त्रता र नागरिकको सम्मान हो । दमनका विरुद्ध बोल्ने लोकतान्त्रिक अधिकार मात्र नभएर नागरिक कर्तव्य र दायित्व पनि हो । नेपाल अहिले यस्तो परिस्थितिमा पुगेको छ जहाँ लोकतान्त्रिक मूल्य र मानव अधिकारलाई व्यावहारिक रूपमा बेवास्ता गरिएको छ । लोकतान्त्रिक मान्यताबाट टाढा गएका कारणले बिस्तारै निर्वाचित नेताहरूलाई जनताले अस्वीकार गर्न थालेका छन् । कतै देशको भविष्य र लोकतान्त्रिक अधिकारका लागि जनताले पुनस् लड्नुपर्ने स्थिति नआउला भन्न सकिन्न।

संसारमा नेपालले जति लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका देशहरू कमै होलान् । तीस वर्षमा पच्चिसओटा सरकारहरू, पटकपटक लोकतन्त्रका लागि लडाइँ, जनयुद्ध सबै नेपालले बेहोरिसक्यो । अझै पनि नेपालमा लोकतन्त्र संस्थागत हुन सकेको छैन ।

हामी सबैलाई थाहा छ कि राजनैतिक पार्टीप्रति नागरिकको अविश्वास दिन–प्रतिदिन बढ्दै छ । लोकको कल्याण नगर्ने तन्त्रलाई कसरी लोकतन्त्र भन्ने ? यद्यपि लोकतान्त्रिक प्रणाली एउटा खराब प्रणाली हो, तैपनि यस प्रणालीलाई अहिलेको कालखण्डमा सर्वोत्तम प्रणाली भनिन्छ। सबैलाई मौलिक अधिकारमा समानता छ । संसारमा नेपालले जति लोकतन्त्रका निम्ति सङ्घर्ष गरेका देशहरू कमै होलान् । तीस वर्षमा पच्चिसओटा सरकारहरू, पटकपटक लोकतन्त्रका लागि लडाइँ, जनयुद्ध सबै नेपालले बेहोरिसक्यो । अझै पनि नेपालमा लोकतन्त्र संस्थागत हुन सकेको छैन ।

नेपालको लोकतन्त्र पटकपटक खतरामा पर्नुका दुईओटा कारण छन् स् पहिलो, नेपाली जनता लोकतन्त्रप्रति भोका छैनन् । दोस्रो, लोकतन्त्रको स्थायित्वका लागि समय लाग्छ र नेपाली जनतासँग धैर्य छैन।
सामान्यतया हाम्रो जस्तो गरिब देशमा धरैभन्दा धरै असमानता हुन्छ । गरिबहरूका तुलनामा आर्थिक पुँजी ९धन०, सांस्कृतिक पुँजी ९शिक्षा० र सामाजिक पुँजी सङ्कलन धनीहरूको पञ्जामा हुन्छ ।

लोकतन्त्र विनासका कारण

जनताहरू विचारलाई मतदान नगरेर विचारधाराहरू दिनेलाई मतदान गर्छन् । लोकतन्त्रको मार्ग अगाडि बढाउन नसकिने सबैभन्दा महत्त्वपूर्ण पक्ष गरिबी हो ।

अब गणतन्त्र हैन देश बचाउने बेला भएको छ । लुट्तन्त्र, बलात्कार भ्रष्टाचार हुँदाहुँदै अब देशद्रोही पनि निक्ले । हुनेखाने परिवारका छोरी बुहारी र आसेपासेलाई मात्र गणतन्त्र आएछ । गरिब जस्ताको त्यस्तै छन् । राजनीति यस्तो खेल हो जहाँ राजनीति गर्नेहरूको न त कुनै स्थायी शत्रुहरू छन् न त कुनै स्थायी मित्रहरू नै । यहाँ हरेक कालखण्डमा उनीहरूको निहित स्वार्थ छ र त्यो स्वार्थ गरिब जनतालाई भर्याकङ बनाएर मात्र पूर्ति हुन्छ र भइरहेको छ । स्वार्थपूर्ति गर्ने क्रममा सही वा गलतका बारेमा कहिल्यै विचार गरिँदैन ।

वास्तविक शत्रुको पहिचान गरेर त्यसका विरुद्ध एकजुट भएर लड्नुको सट्टा एक आपसमा लड्दै मिल्दै अधिकांश समय र ऊर्जा खर्च गरेर सत्तामा बसिरहुनुबाहेक राजनीतिककर्मीको अरू काम देखिएन ।

विकासको शत्रु को ?

आर्थिक विकास र त्यसको निरन्तरता नै हाम्रो समाजको महत्त्वपूर्ण मुद्दा हुनुपर्ने हो तर कतै व्यावहारिक नभएको राजनैतिक विचारधारा नै विकासको शत्रु भएको छ । ३० वर्षसम्म आधारभूत आवश्यकता पनि पूर्ति गर्न नसक्ने देश अरूबाट होइन आफन्तबाटै गुलामी भइरहेको छ । आफ्नै हाम्रा दुस्मन भए । विभिन्न परिवर्तनमा देशलाई नै लुटेर बनेका नव धनाढ्य वर्ग प्रशस्तै भेटिन्छन् तर सिटामोल खान नपाएर जीवन गुमाउनुपर्नेहरूको जमात अझै पनि ठुलो छ ।

राजनीतिक रूपमा हामीले के पायौँ के गुमायौँ भन्दा पनि आर्थिक समृद्धिबिनाको राजनीतिक परिवर्तनले कुनै अर्थ नराख्ने रहेछ । आर्थिक विकास र त्यसको निरन्तरता नै हाम्रो समाजको महत्त्वपूर्ण सबाल हो ।

हाम्रो लोकतन्त्र थकित, भेदभावपूर्ण, तितो, अप्ठ्यारो र कहिलेकाहीँ विनाशकारी पनि छ । लोकतन्त्र एउटा प्रणाली हो, यो कसैले बनायो । या भनौँ हामीले आफ्नै समाजका आफन्तलाई मारेर ल्यायौँ । यसलाई हामीले बनायौँ र हामी बदल्न पनि सक्छौँ । यदि बदल्न सक्छौँ भने किन यसलाई अरू कुनै राम्रो प्रणालीमा प्रतिस्थापन गर्न कोसिस नगर्ने ? त्यसो गर्न सकेनौँ भने गणतन्त्र अस्ताउनेछ । स्वतन्त्रता अस्ताउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *