कहिलेकाहीँ नेपथ्यबाट आवाज सुन्छु
निर्दयतापूर्वक मेरा भावनालाई कुल्चिएको

एउटा सुरुङ जहाँबाट म बाहिर निक्लन सक्दिनँ
एउटा यस्तो खाली ठाउँ जसलाई म भर्न सक्दिनँ

मेरो त्यो रात जसको बिहानी छैन
मेरो खुशी जो प्रतीत हुन्छ तर प्रकट हुँदैन
सपना जो बिस्तारै बिलाउँछ
पीडा जो चिच्याएर बाहिर आउँछ

लुकेका मेरा जीवनको अँध्यारो पक्ष
एका एक पुतलीको जस्तै पखेटाहरू हाल्दै छन्
छाला चिर्दै बगिरहेका क्रिस्टल जस्ता आँसु
जसलाई रोक्ने मसँग इच्छाहरू बाँकी रहेनन्

भ्रममा देखिएको चन्द्रमा
बिनादियोको रात
मौनताको नसामा म रमाउन थालेँछु

कहाली लाग्ने सम्झनालाई भुल्न खोज्दै
भोका मेरा इच्छाहरूलाई थाँती राखी
जीवनलाई बिस्तारै बिस्तारै उपभोग गर्दै छु

 

कपिद जोशी