वैदिक दर्शन अनुसार मानव जीवनको अस्तित्व र गुणस्तरलाई योगी, भोगी र रोगी गरी तीन वर्गमा विभाजन गर्न सकिन्छ । योगी त्यो व्यक्ति हो; जसले संसार त्यागेर गुफामा बस्ने मात्र नभई आफ्नो र सम्पूर्ण संसारको भलाइका लागि निःस्वार्थ रूपमा निरन्तर कर्म गरिरहन्छ । योगीको खुसी कुनै बाह्य वस्तु वा लतमा निर्भर हुँदैन, बरु उसको आनन्द आफ्नैभित्रको आत्मानन्दबाट प्रस्फुटित हुन्छ । आफ्ना इन्द्रियलाई पूर्ण नियन्त्रणमा राख्न सक्ने भएकाले योगी सधैँ मानसिक रूपमा शान्त, सन्तुलित र सुखी रहन्छ । यसको विपरीत भोगी त्यो व्यक्ति हो; जसको सम्पूर्ण समय र ऊर्जा केवल शारीरिक सुख र क्षणिक इन्द्रिय तृप्तिमा खर्च हुन्छ । भोगीको खुसी बाह्य व्यसनमा अडिएकाले ऊ सधैँ अतृप्त रहन्छ । जति धेरै उपभोग ग¥यो उति नै उसको तृष्णा बढ्दै जान्छ । जीवनको वास्तविक लक्ष्य र उद्देश्य नबुझ्दा भोगी सधैँ तनावपूर्ण जीवन बाँच्छ र सुखको मृगतृष्णामा अल्झिँदा अन्ततः आफ्नो अस्तित्व नै सङ्कटमा पार्छ ।

यही भोग र असंयमको अन्तिम परिणाम भनेको रोगी अवस्था हो । जब मानिसले आफ्नो शरीर र मनको मर्यादा उल्लङ्घन गर्छ र ‘अति सर्वत्र वर्जयेत्’ भन्ने प्राकृतिक नियमलाई भुल्छ, तब ऊ बिस्तारै रोगको दलदलमा फस्न पुग्छ । इन्द्रियमाथिको नियन्त्रण गुमाएर शरीर र मनको दुव्र्यवहार गर्ने व्यक्तिले अन्ततः असहनीय शारीरिक र मानसिक पीडा भोग्नुपर्ने हुन्छ । वैदिक उक्तिले स्पष्ट पारेको छ कि आवश्यकताभन्दा बढी उपभोग गर्ने, जस्तै– दिनमा चार पटक भोजन गर्ने व्यक्ति महाद्रोही हो किनकि यस्तो बानीले आफ्नै शरीर र प्रकृति दुवैलाई नोक्सान पु¥याउँछ । भोग र रोगको चक्रबाट मुक्त भई वास्तविक सुख प्राप्त गर्न योगीको जस्तो सन्तुलित र अनुशासित जीवनशैली अपनाउनु नै मानव कल्याणको सर्वोत्तम मार्ग हो ।

वैदिक दर्शन अनुसार द्रोही शब्दको अर्थ केवल राज्यविरुद्ध हतियार उठाउनु वा हिंसा फैलाउनुमा मात्र सीमित छैन; यसको सम्बन्ध व्यक्तिको चरित्र, कर्म र उत्तरदायित्वसँग गहिरो गरी जोडिएको छ । पहिलो श्रेणीमा स्वद्रोही पर्छन्; जसले आफ्नै शरीर र स्वास्थ्यको मर्यादा उल्लङ्घन गर्छन् । आफ्नो शरीरलाई मन्दिर मान्नुपर्नेमा जब मानिस अत्यधिक भोग, विलासिता र लतमा लिप्त भएर स्वास्थ्य बिगार्छ तब ऊ आफ्नै अस्तित्वविरुद्धको द्रोही ठहरिन्छ । यो एकप्रकारको आत्मघातक व्यवहार हो; जहाँ मानिसले क्षणिक सुखका लागि दीर्घकालीन स्वास्थ्य र मानसिक शान्तिको बलि चढाउँछ ।

दोस्रो र अझ भयावह श्रेणी देशद्रोहीको हो; जसलाई वैदिक दृष्टिले नैतिकताको पतनसँग जोडेर हेर्छ । जब सार्वजनिक पद र प्रतिष्ठामा बसेको व्यक्तिले आफ्नो शक्तिलाई जनहितमा लगाउनुको साटो व्यक्तिगत भोगविलासको माध्यम बनाउँछ तब ऊ वास्तविक अर्थमा देशद्रोही बन्छ । सरकारी कोषको दुरुपयोग गर्नु, विकासका योजनामा भ्रष्टाचार गर्नु र जनताले सुम्पिएको पवित्र आशा र भरोसालाई कुल्चिनु नै राष्ट्रप्रतिको अपमान हो । वैदिक सिद्धान्तले स्पष्ट पार्छ कि भ्रष्टाचार, अनैतिकता र कर्तव्यबाट च्यूत हुनु नै वास्तविक देशद्रोह हो; जसले समाजको जगलाई भित्रभित्रै खोक्रो बनाउँछ । आजको आधुनिक राजनीति र शासनव्यवस्थामा कौटिल्यका यी पाँच सूत्र केवल सान्दर्भिक मात्र होइनन्; बरु यी अपरिहार्य छन् । आजको विश्वले सामना गरिरहेका भ्रष्टाचार, आर्थिक अस्थिरता र नेतृत्वको सङ्कट समाधान गर्न यी सूत्रहरूले एउटा स्पष्ट मार्गचित्र प्रदान गर्छन् ।

सुखको आधार नैतिकता

आजको राजनीतिमा ‘सुख’ लाई केवल जिडिपी वा भौतिक समृद्धिको रूपमा हेरिन्छ । कौटिल्य भन्छन् कि वास्तविक सुख नैतिकताबिना सम्भव छैन । कुनै देश धनी छ तर त्यहाँ न्याय र नैतिकता छैन भने त्यो धनले समाजमा अपराध र अशान्ति मात्र निम्त्याउँछ । नीतिमा आधारित सुख नै दिगो हुन्छ ।

नैतिकताका लागि बलियो अर्थतन्त्र

यो सूत्रले आजको आर्थिक कूटनीतिलाई प्रतिनिधित्व गर्छ । भोको पेटले नैतिकता जोगाउन गाह्रो हुन्छ । कुनै पनि राष्ट्रले आफ्ना नागरिकलाई नैतिक र अनुशासित बनाउन पहिले उनीहरूको आधारभूत आवश्यकता (गाँस, बास, कपास) पूरा गर्नु पर्छ । गरिबी र अभावले मानिसलाई गलत बाटोमा लाग्न बाध्य पार्छ । धर्म (कर्तव्य) पालना गराउन राज्यको अर्थतन्त्र बलियो हुनु पर्छ ।

अर्थतन्त्रको आधार सुशासन

लगानी र आर्थिक विकासका लागि सुशासन पूर्वसर्त हो । जहाँ राजनीतिक अस्थिरता छ र कानुनी राज्य छैन, त्यहाँ वैदेशिक लगानी आउँदैन र व्यापार फस्टाउँदैन । बलियो राज्य संयन्त्र र व्यवस्थित राज्यले मात्र देशलाई आर्थिक रूपमा समृद्ध बनाउन सक्छ ।

नेतृत्वको आत्मनियन्त्रण

यो आजको राजनीतिको सबैभन्दा ठुलो चुनौती हो । इन्द्रियजय भनेको शासकको लोभ, मोह र स्वार्थमाथिको विजय हो । आजका धेरै जसो राजनीतिक समस्याको जड भ्रष्टाचार हो । भ्रष्टाचार भनेको इन्द्रिय (लोभ) लाई नियन्त्रण गर्न नसक्नु नै हो । नेता ‘इन्द्रिय–विजयी’ छैन भने उसले राज्यको सम्पत्तिलाई आफ्नो व्यक्तिगत भोगको साधन बनाउँछ । सफल राज्यका लागि शासक चरित्रवान् हुनु पर्छ ।

अनुशासन र नम्रता

अहङ्कारले शासकलाई अन्धो बनाउँछ । नेतृत्वमा अनुशासन र विनय हुन जरुरी छ । लोकतन्त्रमा जनताको सेवक बन्न नेतामा नम्रता हुनु पर्छ । अनुशासन र नम्रता भएको नेताले मात्र कानुन पालना गर्छ र अरूको सल्लाह सुन्छ । अहङ्कार र अनुशासनहीनताले अन्ततः निरङ्कुशता निम्त्याउँछ । धेरैले सुखलाई केवल भौतिक सम्पत्तिका रूपमा बुझ्छन् । वैदिक अर्थमा सुख भनेको शारीरिक स्वास्थ्यमा आधारित मानसिक शान्ति हो । सुख भनेको सन्तोष र आनन्दको अनुभूति हो । प्रत्येक व्यक्तिको सुखको परिभाषा फरक हुन सक्छ ।  कसैका लागि धन, कसैका लागि ज्ञान तर आफ्नो सुख प्राप्त गर्ने नाममा अरूलाई चोट पु¥याउनु वा गलत बाटो अपनाउनु अपराध हो । एउटा असल राज्य र नेतृत्वको मुख्य काम नै प्रत्येक नागरिकलाई न्यायपूर्ण र वैध तरिकाले सुख प्राप्त गर्ने अवसर प्रदान गर्नु हो । जब समाजमा अपराध बढ्छ तब सामाजिक संरचना बिग्रिन्छ र कसैले पनि वास्तविक सुख पाउँदैन ।

वैदिक प्रजातन्त्रको एउटै मूल मर्म भनेको नेतृत्व त्यस्तो हुनु पर्छ; जसले आफ्ना इन्द्रियहरूलाई जितेको होस् । आजको राजनीतिमा भोगीहरूको वर्चस्व देखिन्छ; जसले सत्तालाई भोगको साधन ठान्छन् । कौटिल्य भन्छन्– राज्य त्यतिबेला मात्र सुरक्षित र समृद्ध हुन्छ जब यसको व्यवस्थापन इन्द्रिय–विजयी व्यक्तिहरूद्वारा गरिन्छ । जसले आफ्नो लोभ, क्रोध, मोह र अहङ्कारलाई नियन्त्रण गर्न सक्छ; उसले मात्र जनताको निःस्वार्थ सेवा गर्न सक्छ ।

वैदिक दर्शन अनुसार विकास केवल बाह्य संरचना र भौतिक पूर्वाधारको परिवर्तन मात्र होइन; यो त मानव चेतनाको गहिरो शुद्धीकरण पनि हो । हिन्दु धर्मशास्त्रका अनुसार सत्ययुग मानव जातिको पहिलो स्वर्णयुग थियो; जहाँ धर्मका चार वटै पाउ– दया, सत्य, पवित्रता र तप पूर्ण रूपमा विद्यमान थिए । त्यस समयका मानिस योगी भावमा बाँच्थे र उनीहरूको चेतना सधैँ उच्च र शुद्ध रहन्थ्यो । समयको चक्रसँगै मानवीय मूल्यमान्यतामा क्षय हुँदै गयो । त्रेतायुगमा पुग्दा मानव चेतनाबाट सत्यको अंश कमजोर भयो भने द्वापरयुगमा दयाको भावनामा ह्रास आयो । द्वापरको अन्त्यसम्म आइपुग्दा पवित्रता र तप जस्ता आध्यात्मिक स्तम्भसमेत हराउँदै गए; जसले गर्दा मानिस बिस्तारै भोगी प्रवृत्तिमा फस्न पुग्यो ।

आजको कलियुगमा धर्म केवल एउटा सानो अंशमा खुम्चिएको छ;, जहाँ मानिस सुखको खोजीमा बाह्य संरचनाको विकासमा त तल्लीन छ तर आन्तरिक रूपमा रोगी र अशान्त बन्दै गएको छ । हाम्रो चेतनामा दया, सत्य र पवित्रताको पुनर्जागरण नभएसम्म बाह्य चमकधमकले मात्र वास्तविक सुख दिन सक्दैन । कौटिल्यको इन्द्रिय–जय र विनयको सिद्धान्तले पनि यसैमा जोड दिन्छ कि वास्तविक सुशासन र प्रगति त्यतिबेला मात्र सम्भव छ; जब शासक र नागरिक दुवैको चेतना शुद्ध हुन्छ । भौतिक प्रगतिको पछाडि दौडिरहेको वर्तमान विश्वले युगौँदेखि गुमाउँदै आएका धर्मका ती पवित्र पाउलाई पुनः आत्मसात् गर्न सकेन भने विकासका नाममा हामी अशान्तिको बाटोमा लाग्ने छौँ ।

मानव जीवन भोगी भएर रोगी बन्नका लागि होइन बरु योगी बनेर सुख प्राप्त गर्न हो । व्यक्तिगत जीवनमा अनुशासन (इन्द्रिय–विजय) र सार्वजनिक जीवनमा नैतिकता (धर्म) नै हाम्रो प्रगतिको आधार हुनु पर्छ । जब हामीले यी वैदिक सूत्रलाई आफ्नो जीवन र राजनीतिमा उतार्न सक्छौँ तब मात्र एउटा समृद्ध राष्ट्र र शान्त समाजको निर्माण सम्भव छ । बाह्य विकासले सुविधा दिन्छ तर आन्तरिक विकास (चेतनाको शुद्धीकरण) ले सुख र सन्तुष्टि दिन्छ । जबसम्म मानिसको भित्री सोच बदलिँदैन, बाहिर जतिसुकै परिवर्तन भए पनि समाज रोगी नै रहन्छ । वास्तविक विकासका लागि सिमेन्ट र फलामका संरचनासँगै मानवीय मूल्य र मान्यताको शुद्धीकरण अनिवार्य छ ।