आजको विश्वमा सामाजिक न्यायको स्वरूप र परिभाषा आधारभूतरूपमै परिवर्तन हुँदैछ । इतिहासका पानाहरूमा हामीले जातीय समानता, लैङ्गिक न्याय र आधारभूत मानव अधिकारका लागि गरिएका कडा सङ्घर्षका गाथाहरू पढ्यौँ । तर, आज एउटा नयाँ र अझ फराकिलो नैतिक चेतनाको लहर तीव्र गतिमा उठिरहेको छ जसले न्यायको सीमालाई मानव जातिमा मात्र सीमित नराखी सम्पूर्ण चेतनशील प्राणीहरूसम्म विस्तार गर्ने माग गरिरहेको छ ।

परम्परागतरूपमा अहिंसालाई मानव-मानवबीचको सम्बन्ध र द्वन्द्वको अभावका रूपमा खुम्च्याइएको थियो तर आजको युगमा यसको परिभाषा निकै फराकिलो र गम्भीर भइसकेको छ । वर्तमान सन्दर्भमा अहिंसा भन्नाले मानिसलाई हानि नगर्नुमात्र होइन बरु अरू प्राणीहरूमाथि हुने क्रूरता, प्रकृतिमाथिको निर्मम दोहन र भावी पुस्ताको बाँच्ने अधिकारमाथि भइरहेको अन्यायलाई समेत बुझ्नुपर्छ । यस अर्थमा अहिंसा अब व्यापक नैतिक जिम्मेवारी बनेको छ जहाँ हाम्रो प्रत्येक सानो निर्णयले यो पृथ्वी, यहाँका असंख्य जीव र हाम्रा भविष्यका सन्तानको भाग्य निर्धारण गर्छ ।

भिगनिजम (शाकाहारवाद) अब खानपानको शैलीमात्र रहेन । यो आजको आधुनिक संसारमा सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको एउटा सामाजिक न्यायको आन्दोलन बनेको छ । यो एउटा यस्तो क्रान्तिकारी दार्शनिक परिवर्तन हो जसले जीवनको अन्तर्निहित मूल्य र यो विशाल ब्रह्माण्डमा मानव जातिको स्थानका बारेमा हाम्रा वर्षौं पुराना संकुचित मान्यताहरूलाई कडा चुनौती दिन्छ ।

मूलतः भिगनिजम भनेको जीवन जिउने पद्धति हो जसले सम्भव र व्यावहारिक भएसम्म जनावरहरूमाथि हुने हरेक प्रकारका शोषण र क्रूरतालाई पूर्णरूपमा बहिष्कार गर्ने संकल्प गर्छ । यस शब्दको प्रतिपादन सन् १९४४ मा बेलायतका डोनाल्ड वाट्सनले गरेका थिए जुन वास्तवमा प्राचीन अहिंसाको सिद्धान्तकै एक परिष्कृत र आधुनिक स्वरूप हो । महात्मा गान्धीजस्ता महापुरुषहरूले समेत वकालत गरेको यस दर्शनको सार भनेकै आफ्नो अस्तित्वका लागि अर्को प्राणीको प्राण वा श्रमको शोषण नगर्ने एक उच्च नैतिक प्रतिबद्धता हो ।

हामी प्रायः बिर्सन्छौं मानिसहरू पनि प्राणी जगतकै एउटा हिस्सा हौँ । हामी मानव अधिकारमा विश्वास गर्छौं भने हामीले यो पनि स्वीकार गर्नुपर्छ कि मानव अधिकार वास्तवमा पशु अधिकारकै एक विशिष्ट रूप हो । भिगनिजमको नैतिक आधार एउटै सत्यमा अडिएको छ जसले पीडा, आनन्द, डर र दुःख महसुस गर्न सक्छन् उनीहरूलाई पीडामुक्त भएर बाँच्ने अधिकार छ । यसलाई बेवास्ता गर्नु भनेको प्रजातिवादको सिकार हुनु हो । जसरी रङ्गभेद वा लिङ्गभेदले एउटा समूहलाई अर्कोभन्दा श्रेष्ठ मान्छ त्यसरी नै प्रजातिवादले मानिसलाई अन्य प्राणीभन्दा माथि राखेर उनीहरूको शोषणलाई जायज ठहर्‍याउँछ ।

श्रीमद्भगवद्गीताको अध्याय १४, श्लोक ४ मा वासुदेव कृष्ण भन्छन् — “सर्वयोनिषु कौन्तेय मूर्तयः सम्भवन्ति ताः” अर्थात्, संसारका सबै योनिहरूमा जन्म लिने सबै प्राणीहरूको बीउ दिने पिता म नै हुँ । जब स्वयं परमात्माले हरेक जीवमा आफ्नो अंश देख्छन् भने हामीले मन, वचन र कर्मको सिद्धान्तलाई मानव जातिमा मात्र सीमित गरेर धर्मको घोर अपव्याख्या गरिरहेका रहेछौँ भन्ने स्पष्ट भएन ? हामीले धर्मको बाहिरी आवरण र कर्मकाण्डलाई त शिरोधार्य गर्‍यौँ तर गीताले सिकाएको ‘सर्वभूतहिते रताः’ (सबै प्राणीको हितमा लाग्नु) भन्ने मूल मर्मलाई आफ्नो स्वाद र सुविधाका लागि तोडमोड गर्‍यौँ । कसैको हानि नगर्नु भन्नुको अर्थ मानिसलाई दुःख नदिनुमात्र होइन बरु ती चेतनशील प्राणीहरूको पनि रक्षा गर्नु हो जो हामीले बुझ्ने गरी बोल्न त सक्दैनन् तर जसको पीडा र छटपटीको प्रतिध्वनिले हाम्रो आध्यात्मिक अधोगति गराइरहेको हुन्छ । साँचो धार्मिक हुनुको अर्थ मन्दिरमा मूर्तिलाई ढोग्नुमात्र होइन बरु हरेक जीवित प्राणीको आँखामा ईश्वरीय प्रकाश देख्नु र उनीहरूका लागि करुणाको स्रोत बन्नु हो । हाम्रो भक्तिले एउटा निर्दोष प्राणीको प्राण बचाउन सक्दैन भने बुझे हुन्छ हामीले गीता पढेका त छौँ तर आत्मसात् गरेका छैनौ ।

पूर्वीय दर्शन र सनातन शास्त्रहरूले अहिंसालाई एक नैतिक आचरण मात्र नभई ‘परम धर्म’ को रूपमा व्याख्या गरेका छन् । श्रीमद्भगवद्गीतामा श्रीकृष्णले अद्वैत भावको चर्चा गर्दै भनेका छन् — “विद्याविनयसम्पन्ने ब्राह्मणे गवि हस्तिनि। शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः॥” (अध्याय ५, श्लोक १८)। यसको अर्थ हो— साँचो ज्ञानी र पण्डितले एउटा विद्वान् ब्राह्मण, गाई, हात्ती, कुकुर र चाण्डाल सबैमा एउटै परमात्माको अंश देख्छन् । सृष्टिका हरेक जीवमा ईश्वरकै बास छ भने आफ्नो स्वादका लागि कुनै पनि प्राणीको हत्या गर्नु साक्षात् ईश्वरको अंशलाई चोट पुर्‍याउनु र ईश्वरीय नियमको घोर अपमान गर्नु हो ।

अहिंसाको यो महिमा महाभारतको अनुशासन पर्वमा अझ स्पष्टरूपमा पाइन्छ । जहाँ भनिएको छ— ‘अहिंसा परमो धर्मः’ । शास्त्रको यो उद्घोषले अहिंसालाई नै सबैभन्दा ठूलो कर्तव्य र धर्मको रूपमा स्थापित गरेको छ ।

महाभारतले ती मानिसहरूलाई कठोर चेतावनी दिएको छ जसले अरूको मासु खाएर आफ्नो मासु बढाउने लालसा राख्छन् । शास्त्रअनुसार मासुका लागि जनावर काट्ने, काट्न अनुमति दिने, मासु किन्ने, पकाउने र खाने— यी सबै समानरूपमा दोषी र अधर्मी मानिन्छन् । किनभने उनीहरू सबै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा एउटा हिंसाको चक्रमा संलग्न हुन्छन् ।

त्यसैगरी, हाम्रा प्राचीन वेदहरू ऋग्वेद र यजुर्वेदले पनि जनावरहरूको रक्षाका लागि बारम्बार आह्वान गरेका छन् । यजुर्वेद (१३.४७) मा लेखिएको छ— “दृते दृंह मा मित्रस्य मा चक्षुषा सर्वाणि भूतानि समीक्षन्ताम्” अर्थात्, म सबै जीवित प्राणीहरूलाई मित्रको आँखाले हेर्न सकूँ र उनीहरूले पनि मलाई मित्रवत् देखून् । वेदले गाई, घोडा, भेडामात्र होइन कुनै पनि दुई खुट्टे वा चार खुट्टे प्राणीको हत्या नगर्न कडा निर्देशन दिँदै सहअस्तित्वको सन्देश प्रवाह गरेको छ ।

विश्वका विभिन्न धर्महरूले आफ्नो मूल मर्ममा दया र अहिंसालाई नै सर्वोच्च स्थान दिएका छन् । हिन्दू दर्शनले सबैमा आत्मा एउटै छ भन्दै अहिंसालाई परम धर्म मानेको छ भने बौद्ध धर्मले सबै प्राणीप्रति करुणा र मैत्री भाव राख्न र कसैलाई दुःख नदिन सिकाउँछ । जैन धर्मले त झन् सानोभन्दा सानो जीवको हत्यालाई पनि वर्जित गर्दै अहिंसालाई नै अन्तिम सत्य मानेको छ । त्यसैगरी, इसाई धर्मले जनावरहरूलाई ईश्वरको सुन्दर सृष्टिको रूपमा स्वीकार गर्दै मानिसलाई उनीहरूको दयालु अभिभावक बन्न प्रेरित गर्छ भने इस्लाम धर्मले जनावरप्रति दया देखाउनेले नै ईश्वरको वास्तविक कृपा प्राप्त गर्छ भन्ने मान्यता राख्छ । यी सबै धार्मिक सन्देशहरूको निष्कर्ष एउटै छ — मानिसले आफ्नो स्वाद, स्वार्थ वा अहङ्कारका लागि गर्ने क्रूरतालाई कुनै पनि धर्मको वास्तविक दर्शनले समर्थन गर्दैन । वास्तवमा, जति नै भौगोलिक र सांस्कृतिक विविधता भए तापनि करुणा नै यो विश्वको साझा र सर्वव्यापी धर्म हो ।

धार्मिक र नैतिक पक्षपछि वातावरणीय पाटो आउँछ जसले हामीलाई यो पृथ्वीको अस्तित्व र हाम्रो खानपानबीचको प्रत्यक्ष सम्बन्धबारे सोच्न बाध्य पार्छ । विश्वव्यापी खाद्य प्रणालीबाट हुने कुल हरितगृह ग्यास उत्सर्जनको करिब ५७ प्रतिशत हिस्सा जनावरजन्य खाद्य उत्पादनले ओगटेको छ भने वनस्पतिमा आधारित खाद्यबाट केवल २९ प्रतिशतमात्र उत्सर्जन हुन्छ । अक्सफोर्ड विश्वविद्यालयको अध्ययनअनुसार, भिगन जीवनशैली अपनाउँदा एक व्यक्तिको खाद्यसम्बन्धी कार्बन फुटप्रिन्ट ७३ प्रतिशतसम्मले घट्न सक्छ ।

संसाधनको हिसाबले हेर्दा, विश्वको कुल कृषि जमिनको ७७ प्रतिशत हिस्सा पशुपालन र उनीहरूको दाना उत्पादनका लागि प्रयोग भइरहेको छ तर यसले विश्वलाई केवल १८ प्रतिशत क्यालोरी र ३७ प्रतिशत प्रोटिनमात्र उपलब्ध गराउँछ ।

व्यक्तिगत तहमा, भिगन आहारले दैनिक कार्बन उत्सर्जनलाई करिब ४६ प्रतिशतले न्यूनीकरण गर्छ र जमिनको प्रयोगमा ३३ प्रतिशतसम्म बचत गर्छ । जलस्रोतको सन्दर्भमा १ किलो मासु उत्पादन गर्न झन्डै १५ हजार ४१५ लिटर पानी खर्च हुन्छ जुन सोही तौलको अन्न उत्पादनका लागि लाग्ने पानीभन्दा कैयौँ गुणा बढी हो । यी तथ्याङ्कहरूले स्पष्ट पार्छन् आहारमा परिवर्तन ल्याउँदामात्र पनि व्यक्तिगत र वातावरणीय क्षतिलाई आधाभन्दा बढीले घटाउन सकिन्छ ।

भिगनिजम एउटा नैतिक छनोटमात्र नभई क्षतविक्षत पृथ्वीलाई पुनर्जीवन दिने सबैभन्दा अचुक रणनीति पनि हो । औद्योगिक पशुपालन आज वन विनाश, जल संकट र जलवायु परिवर्तनको प्रमुख अपराधी बनेर उभिएको छ । जति अन्न र पानी एउटा प्राणीको मासु बढाउन स्वाहा पारिन्छ त्यही स्रोत विश्वको भोकमरीलाई जरैदेखि उखेल्न पर्याप्त छ । स्पष्ट छ — रगतको मूल्यमा आधारित यो वर्तमान खाद्य प्रणाली न दिगो छ न त न्यायपूर्ण नै।

जनावरहरू कुनै निर्जीव वस्तु वा हाम्रो स्वार्थ पूर्तिका साधन होइनन् । तिनीहरू त चेतनाले भरिएका संवेदनशील प्राणी हुन्। तिनीहरूमा पनि आफ्ना सन्तानप्रतिको अगाध स्नेह, एक्लोपनको गहिरो छटपटी र हामी मानवमा जस्तै जिजीविषा (बाँच्ने तीव्र इच्छा) हुन्छ । एउटा कुकुरलाई परिवार मानेर अँगाल्नु र गाई वा सुँगुरलाई खाना मानेर रेट्नु हाम्रो दोहोरो चरित्र र सामाजिक भ्रममात्र हो । विज्ञानले स्पष्ट भनिसकेको छ— पीडा र आनन्द महसुस गर्ने क्षमतामा रगतको रङ्ग र प्रजातिले कुनै भेदभाव गर्दैन ।

भिगन जीवनशैलीको अङ्गीकार गर्नु भनेको जनावरलाई छाला, ऊन वा मासुको कच्चा पदार्थ ठान्ने संकुचित सोचबाट मुक्त हुनु हो । यो त उनीहरूलाई यो धर्तीको समान हकदार र साझा बासिन्दाका रूपमा स्वीकार गर्ने महानता हो । अहङ्काररहित र निष्कपट प्रेमका प्रतीक यी प्राणीहरू पनि आफ्नो अस्तित्वको शान्ति चाहन्छन् । उनीहरूको मौनलाई कमजोरी होइन  हाम्रो मानवताको कसी सम्झिनु आवश्यक छ ।

भिगनिजम थालमा कस्तो खाना आउँछ भन्ने छनोटमात्र नभएर यो त चेतनाको उचाइ र आत्माको शुद्धीकरण हो । यो मन, शरीर र ब्रह्माण्डको न्यायबीच तादात्म्य मिलाउने एउटा पवित्र मार्ग हो । जब तपाईं आफ्नो भोजनबाट हिंसालाई पूर्णतः बहिष्कार गर्नुहुन्छ तब तपाईंले वास्तवमा एउटा यस्तो सभ्य संसारको पक्षमा मतदान गरिरहनुभएको हुन्छ, जहाँ शक्तिशाली हुनुको अर्थ कमजोरमाथि शासन गर्नु होइन बरु उनीहरूको रक्षा र सम्मान गर्नु हो ।

परिवर्तनका लागि पूर्णता होइन, प्रयासको खाँचो छ । तपाईँ आजै शतप्रतिशत भिगन बन्न सक्नुहुन्न भने पनि नहिचकिचाउनुहोस् । आंशिक सुरु नै महान् यात्राको पहिलो पाइला हो । सम्झनुहोस्, तपाईँले त्यागेको हरेक मांसाहारी छाक एउटा खानाको विकल्पमात्र होइन त्यो त एउटा निर्दोष जीवनको रक्षा र थकित पृथ्वीका लागि एउटा ठूलो राहत हो । तपाईँको सानो त्यागले नै न्यायपूर्ण संसारको जग बसाल्नेछ ।

हाम्रो प्लेटमा सजिएको प्रत्येक गाँसले हाम्रो भोकमात्र मेटाउँदैन । त्यसले त यो पृथ्वीको आयु र भविष्यको फैसला पनि गरिरहेको हुन्छ । पर्यावरण संरक्षणका लागि मञ्चबाट दिइने ठूला भाषण र कागजी सन्धिहरूभन्दा हाम्रो भान्साबाट सुरु हुने मौन क्रान्ति कैयौँ गुणा बढी शक्तिशाली र प्रभावकारी हुन्छ ।

सृष्टिको हरेक ढुकढुकीमा एउटै प्राणतत्व र एउटै आत्माको वास हुन्छ। जब हामी आफूभन्दा निर्बल र असहाय प्राणीको आँखामा करुणा देख्न थाल्छौँ तबमात्र हाम्रो मानवताको वास्तविक जन्म हुन्छ । आउनुहोस्, स्वार्थ र हिंसाको घेरा तोडेर एउटा यस्तो नयाँ संसारको शिलान्यास गरौँ जहाँ कसैको जीवन अर्कोको आहार नबनोस् । सम्झनुहोस्, तपाईंको थालमा पस्किएको अर्को छाक खाना भोजनमात्र नभएर तपाईंको विवेकको परीक्षा र न्यायप्रतिको पहिलो पाइला हो । ‘जस्तो अन्न, त्यस्तै मन’ भनेझैँ आफ्नो आहारमा आजैदेखि परिवर्तन ल्याउनुहोस् । किनभने तपाईँको थालको शुद्धताले नै तपाईँको विचारको स्पष्टता र व्यवहारको कोमलता निर्धारण गर्नेछ ।