नेपाली कांग्रेस आफूलाई अझै पनि नेपालको लोकतन्त्रको एकमात्र ठेकेदार ठान्छ । लोकतन्त्रको प्रमाण माग्दा उसले २००७ साल, २०१५ साल र २०४६ सालको फोटोकपी देखाउँछ। वर्तमानको प्रश्न गर्दा इतिहासको एल्बम पल्टाइन्छ । सायद कांग्रेसको बुझाइमा लोकतन्त्र भनेको अतीतमा एकपटक लडिएको युद्ध हो, वर्तमानमा निरन्तर अभ्यास गर्नुपर्ने संस्कार होइन ।

आजको नेपाली कांग्रेसमा लोकतन्त्र केवल भाषणमा मात्र सुरक्षित छ । पार्टीभित्र लोकतान्त्रिक अभ्यास खोज्नुपर्‍यो भने सूक्ष्मदर्शक यन्त्र चाहिन्छ । निर्णय प्रक्रिया त्यति पारदर्शी छ कि कार्यकर्ताले निर्णय भइसकेपछि मात्र थाहा पाउँछन् । महाधिवेशन नै हुदैन्, भयाे भने पनि नेतृत्व खासै परिवर्तन हुँदैन । चुनाव हुन्छ, तर विकल्प हुँदैन । यसलाई कांग्रेस अनुशासन भन्छ; बाहिरबाट हेर्दा यो केन्द्रीकृत आज्ञापालन मात्र देखिन्छ ।

कांग्रेस नेतृत्वलाई कार्यकर्ता मनपर्छ तर सोच्ने कार्यकर्ता होइन । प्रश्न गर्ने कार्यकर्ता खतरनाक हुन्छ, बहस गर्ने कार्यकर्ता विद्रोही ठहरिन्छ, नयाँ विचार ल्याउने कार्यकर्ता समायोजन नमिल्ने सूचीमा पर्छ । आदर्श कार्यकर्ता त्यो हो, जो ताली बजाउँछ, झण्डा बोक्छ, चुनावमा खटिन्छ र निर्णय किन भयो भनेर कहिल्यै प्रश्न सोध्दैन । पार्टीको दृष्टिमा कार्यकर्ता नागरिक होइन, संसाधन हो, आवश्यक परे प्रयोग गर्ने, नत्र बेवास्ता गर्ने ।

दलभित्र लोकतन्त्रको दुहाई दिइए पनि व्यवहारमा केही प्रवृत्तिहरू स्पष्ट रूपमा अलोकतान्त्रिक देखिन्छन् । नीति र सिद्धान्तभन्दा व्यक्ति केन्द्रित गुटबन्दी र सिन्डिकेट हाबी हुनु, निर्वाचनका बेला उम्मेदवार छनोटमा तल्लो तहको भावना बेवास्ता गर्दै नेतृत्वको खल्तीबाट नाम निस्कने अपारदर्शी परिपाटी बस्नु, र नेविसंघ तथा तरुण दलजस्ता भ्रातृ संस्थाहरूमा वर्षौंसम्म आन्तरिक निर्वाचन नहुनु वा टिके प्रथा चलिरहनु यी सबैले दलभित्रको लोकतान्त्रिक संस्कार कमजोर हुँदै गएको संकेत गर्छन् ।

अझ रोचक त के छ भने, यही पार्टीले देशभर लोकतन्त्र खतरामा छ भनेर चिन्ता व्यक्त गर्छ । तर पार्टीभित्र लोकतन्त्रको अवस्था चाहिँ आईसीयूमा छ । नेतृत्व पुस्तान्तरणको कुरा उठ्यो भने तुरुन्तै अनुभवको भारी झोला खोलिन्छ । युवाको कुरा आयो भने समय पर्ख भन्ने मन्त्र जपिन्छ, समय त्यो, जुन कहिल्यै आउँदैन । अहिले विशेष अधिवेशनमार्फत नयाँ नेतृत्व त आएको छ, तर नयाँ र पुराना समूहबीचको द्वन्द्वका कारण कार्यकर्ताहरू अन्योल र समस्यामा परेका छन् ।

देशको सवालमा कांग्रेस अत्यन्तै व्यस्त देखिन्छ तर केवल सत्ता गणितमा । बेरोजगारी, उत्पादन, शिक्षा, स्वास्थ्य, संघीयताको असफल कार्यान्वयनजस्ता विषयमा पार्टीको धारणा यति लचिलो छ कि सरकार अनुसार रंग बदल्छ । सरकारमा हुँदा मौन, विपक्षमा हुँदा आक्रोश यही नै आजको राजनीतिक सिद्धान्त बनेको छ । दीर्घकालीन सोच भन्दा पनि तत्कालीन कुर्सी कसरी जोगाउने भन्ने प्रश्न प्राथमिकतामा छ ।

कांग्रेसले लोकतन्त्रको कुरा गर्दा प्रायः संस्थागत पार्टी को दाबी गर्छ । तर वास्तविकता के छ भने पार्टी व्यक्ति-केन्द्रित छ । संस्था कमजोर, व्यक्तित्व बलियो । नीति होइन, नेताको मुड निर्णायक । यही कारण कांग्रेसभित्र विचारभन्दा गुट बलियो छ, सिद्धान्तभन्दा सम्झौता महत्वपूर्ण छ, र नैतिकताभन्दा अंकगणित हाबी छ ।

चुनाव हार्दा कांग्रेसले गहिरो आत्ममन्थन गर्दैन । हारको जिम्मा कहिले गठबन्धनलाई, कहिले मतदातालाई, कहिले सामाजिक सञ्जाललाई दिइन्छ । जित हुँदा भने नेतृत्वको दूरदर्शिता र अनुभवको प्रशंसा हुन्छ । कार्यकर्ता सधैं दोषी, नेतृत्व सधैं निर्दोष यो पनि कांग्रेसकै अनौठो लोकतान्त्रिक मोडल हो । युवापुस्ता किन कांग्रेसप्रति आकर्षित छैन ? उत्तर सरल छ- उनीहरूले पार्टीमा भविष्य देख्दैनन्, केवल अतीतको प्रवचन सुन्छन् । उनीहरूलाई नीति निर्माणमा स्थान चाहिन्छ, तर कांग्रेसले मञ्च सजाउन बोलाउँछ । उनीहरूलाई प्रश्न गर्न अधिकार चाहिन्छ, तर कांग्रेसले मौनता माग्छ ।

इतिहासको जयजयकार गर्दै वर्तमानको असफलता लुकाउन सकिँदैन । लोकतन्त्र न त वंशानुगत सम्पत्ति हो, न त स्थायी लाइसेन्स । यसलाई हरेक दिन अभ्यास गर्नुपर्छ पार्टीभित्र पनि, सरकारमा पनि । यदि नेपाली कांग्रेसले आफ्नै घरभित्र लोकतन्त्र फर्काउन सकेन भने, उसले देशलाई लोकतन्त्र सिकाउने नैतिक अधिकार पनि गुमाउनेछ । नेपाली कांग्रेस आज विकल्पको मोडमा छ । या त उसले लोकतन्त्रलाई भाषणबाट व्यवहारमा ल्याओस्, या त इतिहासको संग्रहालयमा सुरक्षित बसोबास गरोस् । लोकतन्त्रको नाममा अलोकतन्त्र अभ्यास गर्ने पार्टी अन्ततः लोकतन्त्रकै लागि सबैभन्दा ठूलो जोखिम बन्छ । कांग्रेसले यो कटु सत्य स्वीकार गर्ने हिम्मत कहिले जुटाउने ?

अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएकोसँगै संस्थागत विवाद औपचारिक रूपमा टुंगिएको जस्तो देखिए पनि, पार्टीभित्रको मनोवैज्ञानिक र गुटगत विभाजन भने अझै बाँकी रहन्छ । यस्तो अवस्थामा हार्ने पक्षले परिणामलाई कति सहज रूपमा स्वीकार्छ, र जित्ने पक्षले कति समावेशी व्यवहार देखाउँछ । यिनै दुई कुराले पार्टीको भविष्य निर्धारण गर्छ ।

अब सन्दर्भ गगन थापातिर जान्छ । उहाँको चुनौती केवल नेतृत्व सम्हाल्ने होइन, वैधता लाई गहिरो बनाउने हो । नाम मात्रको बागडोर सम्हालेर अगाडि बढ्दा संगठनात्मक जडता बढ्न सक्छ । तर यदि उहाँले पुराना र नयाँ दुवै धारलाई समेट्ने, हार्ने पक्षलाई सम्मानजनक स्पेस दिने निर्णय प्रक्रियामा पारदर्शिता ल्याउने जस्ता कदम चाल्नुभयो भने, पार्टीभित्र विश्वास पुनर्निर्माण हुन सक्छ ।

कांग्रेस जस्तो पुरानो पार्टीमा पद भन्दा स्वीकार्यता ठूलो हुन्छ । त्यसैले अहिलेको वास्तविक प्रश्न- नेतृत्व कानुनी रूपमा कसको हो भन्दा पनि भावनात्मक रूपमा कसले पार्टी चलाउन सक्छ भन्ने हो ?

यदि समन्वय गर्न सकेन भने, आन्तरिक द्वन्द्वले संगठनलाई कमजोर पार्छ । तर सहकार्य सफल भयो भने, यही संकट नयाँ पुनर्जागरण बन्न पनि सक्छ।

नेपाली कांग्रेसलाई ‘लोकतन्त्रको ठेकेदार’को छविबाट मुक्त गरी वास्तविक अभ्यासकर्तामा बदल्ने ऐतिहासिक जिम्मेवारी अब नयाँ पुस्ताको काँधमा आएको छ । यसका लागि नयाँ पुस्ताले केवल उमेरको आधारमा नभइ स्पष्ट विचार र आधुनिक कार्यशैलीका माध्यमबाट पार्टीभित्र बलियो हस्तक्षेप गर्नु आवश्यक देखिन्छ । बीपी कोइरालाको समाजवादलाई २१औँ शताब्दीको प्रविधि, जलवायु परिवर्तन र डिजिटल अर्थतन्त्रको सन्दर्भमा व्याख्या गर्दै नयाँ भाष्य निर्माण गर्नु आजको मुख्य आवश्यकता हो । साथै, टिकट वितरणको केन्द्रीकृत अधिकारलाई चुनौती दिँदै सम्बन्धित निर्वाचन क्षेत्रका सदस्यहरूले नै उम्मेदवार छनोट गर्न पाउने प्राइमरी इलेक्सन जस्ता पद्धतिका लागि दबाब सृजना गर्नु अपरिहार्य छ । अन्ततः, इतिहासको ब्याज र विरासतमा मात्रै नअल्मलिइ योग्यता र कार्यक्षमताका आधारमा नेतृत्व चयन गर्ने परिपाटी स्थापित गर्न सके मात्र कांग्रेसले आधुनिक लोकतान्त्रिक दलको रूपमा आफूलाई पुनर्जीवित गर्न सक्छ ।